उच्चको न्यायाधीश नियुक्त हुने मुख्य रजिस्ट्रार घटुवा रोलक्रमको व्यवस्थामा बारको विरोध
काठमाडौं । उच्च अदालतमा नियुक्त हुने न्यायाधीशको रोलक्रमबारे ल्याइएको नयाँ व्यवस्थामा नेपाल बार एसोसिएसनले विरोध जनाएको छ । न्याय परिषद्ले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी न्याय परिषद् नियमावली २०७४ का केही व्यवस्थाहरू संशोधन भएको जनाएको थियो ।
त्यसअनुसार उच्च अदालतमा न्यायाधीश नियुक्त हुने सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको वरियता मुख्य न्यायाधिशभन्दा ठीक पछाडि हुने व्यवस्था गरिएको छ । तर, न्यायाधीश पदमा त्यसअघि नै मुख्य रजिस्ट्रारहरू नियुक्त भइसकेको अवस्थामा पछि न्यायाधीश नियुक्त हुन मुख्य रजिस्ट्रार वरियतामा मुख्य न्यायाधीशमात्र होइन उनीहरूभन्दा पनि पछि हुने व्यवस्था भएको छ ।
यस्तै नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिको हकमा निज विशिष्ट श्रेणीको पदमा नियुक्त भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीशको पदमा नियुक्त भएका व्यक्तिभन्दा अगाडि रहने व्यवस्था गरिएको छ ।
तर, न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएका व्यक्ति एकभन्दा बढी भएमा निजहरु राजपत्रांकित विशिष्ट श्रेणीको पदमा नियुक्त हुँदाको क्रमको आधारमा वरिष्ठता कायम हुने गरी नियमावली संशोधन गरिएको छ।
न्याय परिषद् नियमावलीको नियम ११ लाई संसोधन गरिएको हो । यसअघि नियम ११ मा सम्बन्धित पदमा नियुक्त भएको आधारमा, यदी त्यो अवस्थामा पनि वरियता नछुटिए न्यायधीशमा नियुक्त भएको क्रम संख्याका आधारमा वरिष्ठता कायम हुने उल्लेख थियो ।
न्याय परिषद्को यो कदम संविधानसम्मत नभएको भन्दै नेपाल बारले मंगलबार प्रेश विज्ञप्ति निकालेर विरोध जनाएको छ । यो संसोधनले न्यायधीश नियुक्तिसम्बन्धी रोलक्रमको संसोधित व्यवस्था संविधान, कानुन र न्यायका मान्य सिद्धान्तविपरीत भएको नेपाल बार एसोसिएसनको ठहर छ । सरकारी सेवाभन्दा बाहिरबाट न्यायाधीश नियक्त हुनेलाई रोलक्रममा पछाडि पार्ने अवस्था बनेको नेपाल बारले उल्लेख गरेको छ ।