अधिवेशनमा प्यानल बन्यो भने उम्मेदवारी नै खारेज हुन्छ: सचिव विष्ट (भिडिओ) – Nepal Press

अधिवेशनमा प्यानल बन्यो भने उम्मेदवारी नै खारेज हुन्छ: सचिव विष्ट (भिडिओ)

पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले प्रदेश अधिवेशनमा प्यानल बन्यो भने उम्मेदवारी नै खारेज गर्ने बताएका छन् ।

गण्डकीको प्रथम प्रदेश अधिवेशन प्रचारप्रसार उपसमितिले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा सचिव विष्टले अधिवेशनमा कसैले प्यानल बनाए उम्मेदवारी खारेज गर्ने बताएका हुन् ।

‘प्यानल बन्ने स्थिति भयो भने तपाईंले समाचार सुन्नुहोला उम्मेदवारी खारेज भयो । मैले यतिमात्रै सांकेतिक रुपमा भन्छु । योभन्दा धेरै भन्दिनँ’, उनले भने ।

प्यानलका आधारमा उम्मेदवारी दिए खारेज हुन्छ भन्ने आचारसंहिता बनाएर अगाडि बढ्ने सचिव विष्टले सुनाए ।

‘प्यानलका आधारमा उम्मेदवारी दिँदा खारेज हुन्छ भन्ने आचारसंहिता बन्यो भने त्यो अवस्थामा खारेज हुन सक्दैन र ?’, उनले भने, ‘उम्मेदवारले पालना गर्नुपर्ने मापदण्डहरु, उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिता ती सबै उल्लंघन भएको अवस्थामा उम्मेदवारी खारेज हुँदैन र हुन्छ नि !’

प्यानलका आधारमा दिएको उम्मेदवारी खारेज हुने आचारसंहिता नबनाउँदा पार्टीभित्र माथिदेखि तलसम्म चिरा पर्ने अवस्था निर्माण भएको एमाले सचिव विष्टको ठहर छ ।

‘अब प्यानलगत अभ्यास गर्नुहुँदैन । त्यो निष्कर्षमा पार्टी पुगेको छ । त्यो निष्कर्षलाई कार्यान्वयन गर्न प्यानलगत अभ्यास हुन नदिने गरी आचारसंहिता बनाउँछौं । त्यो सबैका लागि लागू हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर