कपी साटेर प्राध्यापककी छोरी पास गराएको भन्दै महेन्द्र मोरङका विद्यार्थी संगठन आन्दोलित (भिडिओ)
विराटनगर । विद्यार्थीको उत्तर पुस्तिका साटफेर गरेको भन्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठनले आन्दोलन थालेका छन् ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कायस्थको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विरोधका क्रममा पटक पटक प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ ।
२०७८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक राजन दत्तले आफ्नी छोरीलाई पास गराउन अर्की विद्यार्थी सन्ध्या कायस्थको अंग्रेजी विषयको थप कपी साटफेर गरेको घटना सार्वजनिक भएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । परीक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । फेल भएकी विद्यार्थी सन्ध्यालाई पुनः परिक्षा दिलाउन खोजिएपछि आन्दोलन गरिएको विद्यार्थी नेताहरूले बताएका छन । उनीहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र यो कदम नसचिएसम्म आन्दोलन गरिरहने बताए ।
उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भएको नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कार्यवाहक सभापति प्रशान्त यादवले दाबी गरे ।
आक्रोशित विद्यार्थीले बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा. १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका छन् ।
दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने अनेरास्ववियुका इकाई अध्यक्ष केशव भण्डारीले बताए ।