पञ्चशील बहुउद्देश्यीय सहकारीकाे २३ औं वार्षिक साधारण सभा : १८ प्रतिशत शेयर बाेनस दिने
ललितपुर । ललितपुरको कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष ०७९/०८० मा शेयर पूँजीतर्फ १७ करोड ३० लाख ३५ हजार ९ सय कायम हुन गएको छ ।
यस संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ८२ करोड ४ लाख २९ हजार ६ सय ७३ रुपैयाँ ९७ पैसा संकलन गरेको छ भने संस्थाको वार्षिक कूल कारोबार २ अर्ब ८५ करोड ४८ लाख ७ हजार ५ सय ८८ रुपैँया ३३ रहेको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २८ करोड ९६ लाख ७ हजार ९ सय ४० रुपैँया ३९ पैसा कायम रहेको छ ।
संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका अध्यक्ष बज्राचार्यले जानकारी दिए । संस्थाले गत आ.व.०७९/०८० मा आयकर र बाेनस अघिको नाफा ५ करोड ६१ लाख ३१ हजार ८ सय ४० रुपैँया ९७ पैसा आर्जन गरेको छ ।
यस संस्थाले आ.व. ०७९/०८० मा जम्मा २ करोड १६ लाख ८० हजार ५ सय ६२ रुपैँया आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको देखिन्छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सीपमुलक तालिम दिने,अन्तरक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधि मार्फत डिजिटल कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्करहित एटीएमको सुविधा दिईरहेको साथै स्मार्ट बैंकिङ, क्यू आर सुविधा लगायतका विभिन्न किसिमका सदस्य केन्द्रित सुविधाहरु उपलब्ध गराउदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी गराए ।
संस्थाले आ.व. ०७९/०८० सम्ममा सदस्यता कायम रहेका आफ्नो सदस्यलाई शेयर लाभांश कोषमा जम्मा रहेको रकमबाट १८ प्रतिशत शेयर लाभांश प्रदान गरेको छ ।
हाल वित्तिय क्षेत्रमा देखिएको आर्थिक संक्रमणकालिन अवस्थामा समेत संस्थाले आफ्ना सदस्यहरुलाई उत्कृष्ठ सेवा दिदै सदस्यहरुको जीवनस्तर उकास्नको लागि वित्तिय सेवा लगायत विविध सेवाहरु उपलब्ध गराउदै आएको जानकारी सहित संस्थाको कुल कारोवार र यसले गरेका आर्थिक गतिविधिको बारेमा कार्यकारी अधिकृतले आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराए ।
आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कुल कारोवार दुई अर्ब पचासी करोड रहेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी गराएका थिए । अहिलेको युगमा संस्थाको गति दिने एक मात्र माध्यम् प्रविधि हो र यसले संस्थालाई मेरुदण्डको रुपमा सहयोग पुर्याईरहेको संस्थाका कार्यकारी अधिकृत राजु खतिवडाले बताए ।