आशिका तामाङको दर्दनाक विगत- बुवाको शव कोठामा थुनेर एम्बेसीको लाइनमा ! (भिडिओ)
काठमाडौं । ६ वर्षअघि दशैंको छेकोमा एक युवती रातारात सामाजिक सञ्जालमा भाइरल भइन् । उनले धरधरी रुँदै एउटा भिडिओ पोस्ट गरेकी थिइन्, जसलाई हेरेर मानिसहरु पेट मिच्दै हाँसे ।
खासमा उनको भिडिओ हास्यास्पद नै थियो । उनले भिडिओमा भनेकी थिइन्- दशैंमा खसीको मासु खानुस् । तर, जहान-परिवार भएका खसी-खसिनीको अकालमा हत्या नगर्नुस् । यसो भनिरहँदा उनका आँखाबाट बलिन्द्रधारा आँसु झरेका थिए । कसैले नाटक गरेको भने, कसैले प्याज दलेर आँसु झारेको लख काटे । जसले जे-जे भने पनि युवती एकैपटक लाखौं जनतामाझ परिचित भइसकेकी थिइन् ।
ती भाइरल लेडी थिइन् आशिका तामाङ । उक्त काण्डपछि उनको उपनाम रहन गयो- खसिनी दिदी । आज पनि धेरैले उनलाई ‘आशिका’ भन्दा ‘खसिनी’ भनेर चिन्छन् ।
त्यसो त यो भिडियो भाइरल हुनुअगाडि नै आशिका एउटा फिल्म निर्माण गरेर आफैं नायिकासमेत बनेकी थिइन् । ‘सुश्री’ नामको सो चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन । आशिकाको एक करोड डुब्यो । सँगसँगै डुब्यो उनले कलाकार बनेर नाम कमाउने सपना । युट्युबमा आएका सकारात्मक प्रतिक्रिया हेरेर चित्त बुझाउन बाध्य भइन् ।
दुई वर्ष लगाएर निर्माण गरेको फिल्मले नदिएको चर्चा आशिकालाई दुई मिनेटको एउटा भिडिओले दिलायो । सामाजिक सञ्जालमा लाखौं फलोअर्स बढे । मानिसहरुले उडाए पनि, हियाए पनि कम्तीमा उनी चिनिइन् । उनले लेखेका स्टाटसहरुमा मानिसहरुको ध्यान जान थाल्यो । खसिनी काण्डबाट पाठ सिकेर उनले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छन् । फरक छवि बनाएकी छन् ।
अहिले आशिका एउटा सक्रिय सामाजिक अभियन्ताको रुपमा चिनिन्छिन् । विदेशमा रहेका नेपालीहरु छुट्टी मनाउन नेपाल आउँदा आफन्त–साथीभाइसँग भेटघाट र घुमघाममै व्यस्त हुन्छन् । तर, आशिका तामाङको हकमा यो लागू हुँदैन । जर्मनीमा स्थायी बसोबास गरिरहेकी उनी नेपाल आउँदा धेरैजसो सडकमा भेटिन्छिन् । काठमाडौंका विभिन्न स्थानमा पुगेर सरसफाइमा जुट्नु उनको दिनचर्या बन्छ । यसबाहेक उनी अरु सामाजिक कार्यहरुमा पनि व्यस्त हुन्छिन् ।
त्यसो त ज्यान जर्मनीमै हुँदा पनि ध्यान भने उनको हरहमेशा नेपालमै हुन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय आशिका नेपालका समसामयिक विषयवस्तुमाथि टिप्पणी गर्ने गर्छिन् । कहिले ताली पाउँछिन् त कहिले गाली ! तर, प्रशंसा र आलोचनाको वास्ता नगरीकन आफूलाई लागेको कुरा निर्धक्क लेख्ने उनको बानी छ । त्यसैले त फेसबुकमा उनले १० लाख फलोअर्स पुर्याउन लागिसकिन् ।
केही दिनअघि मात्रै तामाङ समुदायभित्र मामा-चेला र फुपू-चेलाबीच वैवाहिक सम्बन्ध ठीक हो कि होइन भन्ने विवादले उग्र रुप लियो । उनले एउटा तामाङ चेली भएर पनि आफ्नो समुदायभित्र कायम रहेको गलत परम्परा हटाउनुपर्ने वकालत गरिन् । यसो गर्दा समुदायभित्रैबाट उनले आलोचनामात्र होइन, धाकधम्कीसमेत सहनु परेको छ । तर, उनलाई यसको परवाह छैन ।
‘जुन प्रथा हाम्रो जातमा छ, त्यो रोकिनु पर्छ भन्नेमा म अझै पनि आवाज उठाउँछु । कमसेकम आफ्नै फुपू-मामा वा रगतको नाता पर्नेसँग चाहिँ विवाह नगरेको राम्रो’, उनी भन्छिन् ।
सामाजिक सञ्जालमा लेख्नेमात्र होइन, नेपालमा विभिन्न कारणले दुःख र पीडामा परेकाहरुलाई जर्मनीबाटै सहयोगको हात फैलाउने गर्छिन् आशिका । परोपकारमा रमाउने उनले आफ्नै नाममा फाउन्डेसन स्थापना गरेर नेपालमा सरसफाइलगायत विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् ।
एक महिनाको छुट्टीमा हालै नेपाल आएकी आशिकाले जर्मनी फर्किनुपूर्व यस पंक्तिकारसँग लामो अनौपचारिक कुराकानी गरेकी थिइन् । उनले आफ्नो निजी जीवनका अन्तरकुन्तरहरु खोलिन् । उनी नेपालबाट जर्मनी पुगेर त्यही घरजम गरेर बस्नुका पछाडि आङ जिरिङ्ग पार्ने कथा छ । सुनौं उनकै मुखबाट ।
०००
ढाँटेर जिन्दगीमा आखिर के नै मिल्छ र ? पहिला आफ्ना व्यक्तिगत कुरा खोल्न मन लाग्दैन थियो । अहिले जति खोल्यो, त्यति हल्का महसुस हुन्छ ।
आज म जहाँ छु, त्यहाँसम्म आइपुग्न मैले जीवनमा धेरै संघर्ष गरेकी छु । धेरै हण्डर खाएकी छु । म दुई वर्षकै उमेरमा आफ्नी आमाबाट टाढिएँ । उहाँ बुवा र मलाई छोडेर अरुसँग जानुभएको हो भनेर मानिसहरुले सुनाउनुहुन्थ्यो । तर, आजका दिनसम्म पनि मलाई आमा जीवित हुनुहुन्छ या हुनुहुन्न भन्ने थाहा छैन । मैले जानेदेखि अहिलेसम्म उहाँलाई देखेकी नै छैन । न मसँग उहाँको कुनै तस्विर नै छ ।
एउटा तस्विर भएको भए पनि उहाँ यस्तो हुनुहुँदो रहेछ है भन्ने हुन्थ्यो । खोजी गर्न पनि सक्थें होला । तर, आमा नचिन्दा अनि एउटा तस्विरसमेत नदेख्दा कहिलेकाहीं मलाई म कसैको कोखबाट नभई आकाशबाट झरेको पो हो कि जस्तो लाग्थ्यो ।
म दुःख गर्दै पढेर नर्स भएँ । काठमाडौंको एउटा अस्पतालमा ‘इन्टर्नसीप’ सुरु गरें । त्यसबेला जबजब कसैले बच्चा जन्माएको देख्थें, मलाई एकदमै पीडा हुन्थ्यो । आमाको बेस्सरी तिर्सना लाग्थ्यो । जब म आफैं आमा भएँ, त्यसबेला झन् भक्कानिएर रुन मन लाग्यो । मैले जर्मनीमै मेरा दुई सन्तानलाई जन्म दिएकी हुँ । त्यो प्रसव पीडापछि मलाई मेरी आमा कहाँ होलिन्, कस्ती होलिन् भन्ने जान्न झनै मन लाग्यो । मैले यो कुरा मेरो श्रीमान थोमसलाई पनि सुनाए । उहाँले ठीकै छ, नेपाल गएर खोजौंला भन्नुभयो । तर, कहाँ खोज्ने ? कसरी खोज्ने ? के आधारमा खोज्ने ? र, कुन वडामा खोज्ने ?
म जन्मिएपछि मेरो बुवा र आमा जम्मा दुई वर्षमात्र सँगै बस्नुभयो । आमाको ठेगाना वा विवरण सायद बुवासँग थियो होला । तर, बुवाको पनि सन् २०१० मा मोटरसाइकल दुर्घटनामा निधन भयो । त्यसपछि त त्यो राज पनि राजमै सीमित भयो ।
म त मेरी आमालाई चिन्दिनँ । तर, आमाले त मलाई चिन्नुहुन्छ नि ! आजभन्दा २०, ३० वर्ष अगाडि मलेखु भन्ने ठाउँमा एउटा भोटेकाइँला भन्नेसँग विवाह गरेकी थिएँ, छोरी पाएकी थिएँ, छोरीको नाम काली राखेकी थिएँ, दुई-तीन चोटी चोरेर लाने प्रयास पनि गरेकी थिएँ भन्ने उहाँलाई त याद होला नि ! त्यत्रो २२-२३ वर्षको मान्छेलाई आफूले कहाँ विवाह गरें, कोसँग गरें, कति वटा बच्चा पाएँ भन्ने चेत हुँदैन र ? उहाँ कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, मलाई त थाहा छैन । तर, कसैले उहाँलाई चिन्नुहुन्छ वा यदि मेरी आमाले नै मेरो यो अन्तर्वार्ता पढिरहनुभएको छ भने तपाईं जहाँ हुनुहुन्छ, एकचोटी मसँग भेट्न आइदिनुहोला ।
मेरो व्यक्तिगत जीवनको एउटै तपस्या र उद्देश्य भनेको एकचोटी मर्नुअघि मेरी आमालाई भेट्नु हो । म सधैं भगवानसँग यही प्राथना गर्छु । कमसेकम एउटा फोटो देख्न पाए पनि हुन्थ्यो । उहाँलाई म ल्याएर राख्छु भन्ने मनमा छैन । उहाँको पनि आफ्नै घरबार होला, परिवार होला । त्यो उहाँको इच्छाको कुरा पनि हो । मात्र एकचोटी उहाँसँग भेटेर अंकमाल गर्ने चाहना छ ।
हुन त उहाँका पनि केही बाध्यता थिए होला । गाउँलेहरु तेरो बुवाले रक्सी खाएर कुटेपछि भागेको होला भन्थे । उनले पनि सायद धेरै सहिन् होला । गाउँलेहरुले भनेअनुसार मेरी आमाले दुई-तीन चोटीसम्म आएर मलाई चोरेर लान खोज्नुभएको थियो रे ! बुवाले म सात वर्षको हुँदासम्म सधैं तेरी आमा मरिसकी भन्नुहुन्थ्यो । मलाई पनि विश्वास लाग्थ्यो । तर, जब अलि बुझ्ने भएँ, अनि सबैले भनेको सुन्न थालें तबमात्र मलाई उहाँ बित्नुभएको होइन, छाडेर जानुभएको हो भन्ने महसुस भयो ।
०००
मेरी आमाले छोडेपछि बुवाले धेरै श्रीमती ल्याउनुभयो । तर, कोही पनि उहाँसँग टिकेनन् । एक वर्षभन्दा बढी कसैसँग बुवाको घरजम भएन । बुवाले विभिन्न आश्वासन दिएर बिहे गर्नुहुन्थ्यो रे ! तर, दुई-चार महिनापछि छोडेर हिँडिहाल्ने । मेरी आमासहित ९ जना श्रीमतीले बुवालाई छोडेछन् । १०औं आमासँग बल्ल उहाँको सम्बन्ध टिक्यो ।
म जम्मा ४ कक्षामा पढ्दा बुवाले कान्छीआमा (१०औंं) विवाह गरेर ल्याउनुभएको हो । कान्छीआमाले मलाई फिटिक्कै देख्न नसक्ने । त्यही भएर बुवाले मलाई अर्काको घरमा घरेलु कामदारको रुपमा राख्दिनुभयो ।
पढ्न केमात्र गरिएन र जिन्दगीमा ? ८ वर्षको उमेरदेखि बिहान ४ बजे उठेर अर्काको घरमा गोबर सोहोर्ने, भाँडा माझ्नेदेखि लिएर चितवनको ४० डिग्री घाममा घाँस काट्नेसम्म गरियो । तीन तले घर थियो । तर, मलाई भर्याङको एउटा कुनामा सुत्न दिइन्थ्यो । तैपनि पढ्न पाएकोमा नै म सन्तुष्ट थिएँ । अर्काको घरमा बसे पनि पढ्नु चाहिँ पर्छ है भन्ने दिमागमा थियो ।
बुवा जीवित भइञ्जेल कान्छीआमाले कहिल्यै राम्रो गर्नुभएन मलाई । त्यही भएर पनि कहिल्यै ‘आमा’ को आभास नै भएन । उहाँको व्यवहारले गर्दा ‘आमा’ भन्ने आँट नै कहिल्यै जुटाउन सकिनँ । आमा शब्द घाँटीसम्म आएर अड्किन्थ्यो । तर, मुखसम्म कहिल्यै आइपुग्दैन थियो । मैले खान्छु भनेर जाबो एउटा बारीमा फलेको घिरौला पनि ट्यांकामा लुकाएर राख्नुहुन्थ्यो मेरी कान्छीआमा । तर भाग्यको खेल, आज अन्तिममा मैले नै हेरिरहेकी छु उहाँलाई ।
सन् २०१० मा बुवा खसेपछि कान्छीआमाले अर्को विवाह गर्नुभयो । उहाँले आफूले पाएका ४ वटै नानीहरु (३ वटा भाइ र एक बहिनी) छाडेर जानुभयो । उहाँले छाडेपछि ती भाइबहिनीको जिम्मेवारी मेरो काँधमा आयो । मैले नै भाइबहिनीहरु हुर्काएँ । मैले सबैलाई होस्टेलमा राखिदिएकी थिएँ । तर, दुईजना भाइ भने होस्टेलको गेटबाट हाम्फालेर गाउँ फर्के । अहिले उनीहरु गाडी चालक भएर आफ्नो गुजारा गरिरहेका छन् ।
बहिनीलाई चाहिँ अहिले नर्सिङ पढाइरहेकी छु । मेरी कान्छीआमा जोसँग भाग्नुभएको थियो, उहाँ पनि केही समयपछि बित्नुभयो । दोस्रो श्रीमान पनि बितेपछि आमाले धेरै दुःख पाउनुभयो । सबैको दुःख एउटै हो र पर्दा आफ्नो साथमा कोही हुँदैन भन्ने मैले सानैदेखि भोगेकीले उहाँको दुःख मैले देख्न सकिनँ । छोडेर गएको हुँदा भाइहरुले जग्गाजमिन दिँदैनन् । अर्को श्रीमानसँग भागेपछि यता उहाँको कुनै हक लागेन ।
अहिले उहाँलाई मैले गाउँमा एउटा सानो चिया पसल खोलेर राखिदिएकी छु । त्यहीबाट उहाँ आफ्नो गुजारा गर्नुहुन्छ । बेलाबेलामा भाइहरु र आमालाई आपत पर्यो भने म जर्मनीबाटै उहाँहरुलाई सक्ने सहयोग गर्छु । अस्ति लकडाउनमा कति समस्या पर्यो । सबैलाई खान-लाउन नै गाह्रो पर्यो । त्यो बेला मैले नै उताबाट आमा र भाइबहिनीलाई भरथेग गरिदिएँ ।
०००
मेरो बुवाको सपना थियो, मलाई विदेश पठाउने । म उडेको जहाज तलबाट हेर्ने । म जहाज चढेर विदेश गएँ पनि । तर, त्यसबेला तलबाट हेर्न मेरो बुवा जीवित हुनुहुन्थेन ।
बुवा खस्दा म २० वर्षकी थिएँ । उहाँले ज्याला-मजदुरी गरेर हामी सबैलाई पाल्नुभयो । तर, अन्तमा उहाँ बितेर जानुभयो । उहाँको पनि आमाबुवा हुनुहुन्न थियो । बुवा ८ वर्षकै हुँदा हैजाका कारण उहाँको पनि बुवाआमाको मृत्यु भएको थियो । एउटा कछाडमात्र लगाएर सानै उमेरमा खाली हात घर छाडेर सहर छिर्नुभएको मेरो बुवाले जीवनमा धेरै संघर्ष गर्नुभएको छ । सबैलाई सहयोग गर्ने मैले मेरो बुवाको लागि भने केही गर्न सकिनँ । यो सम्झिँदा भने साह्रै नमज्जा लाग्छ ।
पढ्नमा म अब्बल नै थिएँ । तर, बुवासँग मलाई पढाउने पैसा थिएन । त्यसैले मैले एउटा संस्थाबाट छात्रवृत्तिमा नर्सिङ सकें । तर, दुर्भाग्य, नर्सिङ सकेर केही गर्ने हुटहुटी शान्त गर्न नपाउँदै मैले बुवालाई गुमाएँ । त्यो बेला म डिप्रेसनमै गएको थिएँ । एउटै भएको सहारा पनि खोसिँदाको पीडा म शब्दमा बयान गर्न सक्दिनँ । भाइबहिनीलाई कसरी हुर्काउने भन्ने बोझ अर्कोतर्फ छँदै थियो ।
जिन्दगीको संयोग पनि कस्तो-कस्तो हुने ? मैले नर्सिङ सकेर जर्मनी जान्छु भन्ने सोचले गोथेबाट जर्मनी भाषा सिकेकी थिएँ । मलाई एम्बेसीबाट त्यही दिन फोन आयो, जुन दिन मेरो बुवाको निधन भएको थियो ।
बुवा धादिङमा केराको व्यापार गर्नुहुन्थ्यो । फुर्केखोलाको पुलमा एक दिन उहाँलाई मोटरसाइकलले ठक्कर दिएछ । कोरिया जान भनेर आएको एकजना युवकले चलाएको बाइकमा उहाँ ठोक्निुभएको रहेछ । मलाई मामाले फोन गर्नुभयो । ‘बुवाको एक्सिडेन्ट भयो’ भन्नेबित्तिकै मेरो त होसहवास उडिहाल्यो ।
मामाले उहाँलाई एउटा माइक्रो रिजर्भ गरेर काठमाडौं ल्याउनुभयो । म सीधै बीएन्डबी अस्पतालमा गएँ । झट्ट हेर्दा बुवालाई सद्दे देखें । बाहिरी चोटपटक थिएन । मनलाई अलि सन्तोष मिल्यो । तर, उहाँको दिमागमा असर गरेको रहेछ । मलाई नै चिन्न सक्नुभएन । कताकता हेरेर टोलाउनुहुन्थ्यो । डाक्टरले मस्तिष्कमा रगत जमेको र अवस्था क्रिटिकल रहेको बताए । म छाँगाबाट खसे झैं भएँ । अस्पतालभित्रै भक्कानो फुट्यो । यस्तरी रोएँ कि अहिले सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ ।
बीएन्डबीका डाक्टरले त्यहाँ उपचार सम्भव नभएको भनेर न्यूरो अस्पताल जान सल्लाह दिए । हामीले तत्कालै न्यूरोमा लग्यौं । डाक्टर उपेन्द्र देवकोटाले तत्काल अपरेशन गर्नुपर्छ भन्नुभयो । आफूसँग पैसा थिएन । बुवालाई ठक्कर दिने भाइको पनि आर्थिक अवस्था त्यति राम्रो जस्तो लागेन । उनले कोरिया जान ‘आफ्नो घरघडेरी सबै बेचिसकेको’ सुनाए । त्यसपछि मैले साथीभाइ गुहारेर पैसा जुटाएँ । बुवाको टाउकोको अपरेशन भयो । डाक्टर देवकोटाले नै अपरेशन गर्नुभयो ।
डाक्टरहरुले बताएअनुसार बुवाको टाउकाको हड्डी निकालिएको थियो । उहाँको टाउको थेप्चो भएको थियो । अपरेशनपछि विस्तारै उहाँको अवस्थामा सुधार आउन थाल्यो । होसका कुराहरु गर्न थाल्नुभयो ।
करिब एक महिना अस्पताल बस्दा हामीलाई आर्थिक रुपमा गाह्रो भयो । त्यो भाइ पनि तन्नम भइसकेको थियो । समयमा पैसा तिर्न नसकेकाले मलाई धेरै दिनसम्म बुवासँग भेट्नसमेत दिइएन । अन्ततः घरमै लैजाने निधो गर्यौं । अपरेशन सफल भए पनि डाक्टरले बुवा धेरै बाँच्न नसक्ने बताउनुभयो । उहाँहरुको कुराले मेरो मुटु चुँडिए झैं भयो । म एउटा विकराल परिस्थितिमा फस्न पुगें ।
त्यसबेला म कलंकीमा ठूलाबुवाको घरमा कोठा भाडामा लिएर बस्थें । बुवाको एक्सिडेन्ट भएपछि मैले उहाँको छोरा र छोरी दुवैलाई बोलाएर आफूसँगै राखेकी थिएँ । कोठामा भाइबहिनी आएपछि मलाई ठूलो बुवाले मान्छे धेरै भए भनेर अर्को डेरा खोज्न भन्नुभयो । बल्लबल्ल एउटा ३ कोठाको फ्ल्याट खोजेर सरेकी थिएँ । त्यही बुवालाई लगेर राखें । उहाँलाई बचाउन सक्छु कि भन्ने झिनो आशा थियो मनमा ।
बुवालाई इन्फेक्सन हुन सक्छ भनेर छुट्टै कोठामा राखें । म र भाइबहिनी अर्को कोठामा सुत्थ्यौं । राति दुई-दुई घन्टामा म उहाँलाई चिहाउँथें ।
०००
भदौ १ गतेको त्यो रात कहिल्यै भुल्न सक्नेछैन । अरु दिन जस्तै बुवालाई सुताएर पनि सुतें । राति दुईतीन पटक चियाएर हेर्दा उहाँ सुतिरहनुभएको थियो । तर, बिहान ५ बजे कोठामा जाँदा उहाँको अवस्था नाजुक थियो । सबै लुगा फुकाल्नुभएको रहेछ । चिलाएर हो वा के हो टाउकोको घाउ चिथोर्नुभएछ । बेस्सरी छट्पटइरहनु भएको थियो ।
मैले भाइबहिनी बोलाएर उहाँलाई बल्लतल्ल तलको कपडा लगाइदिएँ । अनि आफ्नो काखमा राखें । उहाँ निरन्तर छट्पटाइरहनुभएको थियो । मैले हेर्दाहेर्दै उहाँले हिरिकहिरिक गर्न थाल्नुभयो । शरीर चिसिँदै गयो । खुला आँखाले निरन्तर मलाई हेरिरहनुभएको थियो । मैले उहाँको शरीरमा छामछाम छुमछुम गरें । जीवनका लक्षणहरु हराउँदै गएको आभास भयो । अन्ततः मेरो काखमा उहाँ अस्ताउनुभयो । आँखाहरु उघ्रिएकै थिए । तर, उहाँ मबाट धेरै टाढा पुगिसक्नुभएको थियो ।
बुवाले संसार छोड्दा बिहानको ६ बजेको थियो । कोठामा मसँग ७ वर्षको बहिनी र ५ वर्षको भाइमात्र थिए । मैले मेरो नजिकको साथीलाई फोन गरें । ऊ मेरै अनुरोधमा पैसाको जोहो गर्न गाउँ गएको थियो । मैले मृत्युको खबर सुनाएपछि उतैबाट शव वाहन लिएर आउँछु भन्यो । शव वाहनको प्रतीक्षा गरिरहँदा ८ बजे बिहान मलाई एम्बेसीबाट कल आयो ।
मैले भाइबहिनीलाई कलंकीकै एक सरकारी स्कुलमा हाल्दिएकी थिएँ । बुवा बितेको बज्रपातकै समयमा एम्बेसीको कलले मलाई किंकर्तव्यविभूढ बनायो । केही सोच्नै सकिनँ । के गरौं, कसो गरौं भयो । यति धेरै दुःख गरेपछि केही प्रतिफल मिल्न लागेको छ, बुवाको सपना साकार हुन आँटेको छ, त्यसलाई कसरी छोडौं ? अर्कोतर्फ कोठाभित्र वुवाको शव लडिरहेको थियो । एकातिर बुवाको सपना, अर्कोतिर उहाँको शव । मैले उहाँको सपनालाई पछ्याउने निधो गरें ।
साथीसँग फोनमै सल्लाह गरेपछि मैले भाइबहिनीलाई चुपचाप स्कुल पठाएँ । त्यसपछि बुवाको शवलाई कोठाभित्रै छाडी ढोकामा ताला लगाएर म जर्मन एम्बेसी गएँ । त्यहाँ लामो लाइन थियो । त्यो लाइनमा धैर्य गरेर बस्नसक्ने क्षमता ममा थिएन । त्यहाँ त मेरो शरीरमात्र पुगेको हो, मेरो मष्तिस्क भने बुवातिरै थियो ।
म त्यहाँ लाइनमा उभिन सकिनँ । मैले लाइनमा बस्नुभएको आफूभन्दा अघिको व्यक्तिहरुलाई रुँदै आफ्नो पीडा सुनाएँ । नेपालीमा मानवता चाहिँ भरपुर छ । मेरो अवस्था सुनेपछि मलाई सबैले अगाडि जान छाडिदिनु भयो ।
एम्बेसीभित्र छिरेपछि त्यहाँको कर्मचारीहरुले मलाई एउटा प्रश्न गर्नुभयो, जसको जवाफ मसित थिएन । उहाँहरुले सोध्नुभयो, प्लेन टिकट कसले तिर्दिन्छ ? आफ्नो बाउको लासलाई ताला लगाएर आएकी म एकछिन अक्क न बक्क भएँ । पहिला फर्म भर्दा बुवाको नाम लेखेकी थिएँ । अब कसले तिर्छ भन्नु ? बुवा बितिसक्नुभयो भनौं भने फेरि मरेको बाउले तेरो प्लेन टिकटको पैसा कसरी तिर्छ भन्लान् । त्यसैले भगवानसँग माफी मागेर, मुटुमाथि ढुंगा राखी बुवाले तिर्दिनुहुन्छ भनें । त्यति भनेपछि उहाँहरुले मलाई पासपोर्ट दिनुभयो । यसो हेरें, भिसा लागेको रहेछ ।
मलाई मेरो भिसा अलि ढिला लाग्ला भन्ने थियो । तर, परिस्थिति हेर्नुहोस् न, आवेदन दिएका ७-८ जना सबैलाई फ्यालेर मलाईमात्र भिसा दिनुभएछ । उत्सव मनाउँ कि दुःख जस्तो क्षण थियो त्यो ।
भिसा लिएर कोठा फर्किएँ । भाइबहिनी स्कुलबाट आएपछि एउटा शव वाहन बोलाएँ । अनि बुवाको लाश हालेर धादिङ पुर्याएर अन्त्येष्टि गरें । गुम्बामा अन्त्येष्टि होस् भन्ने बुवाको चाहना थियो । त्यसैले मैले उहाँको लासलाई आफ्नै ठाउँमा लगें । मैले हेर्न पनि सकिनँ । हेरिनँ पनि । बुवाको अन्त्येष्टि गरेको ५-६ दिनमा म जर्मनी उडें ।
म आकाशमा उडेको हेर्ने बुवाको ठूलो रहर थियो । सधैं ‘तेरो भिसा कहिले लाग्छ लाग्छ, तेरो भिसा लागिञ्जेल म ऊ त्यो डाडाँपारि जलिसकेको हुन्छु होला’ भन्नुहुन्थ्यो । (भावविह्वल हुँदै) जब म जर्मनी जाने प्लेनमा उडें, मलाई धेरै गाह्रो भयो । मरेर गए पनि कतैबाट बुवाले मलाई हेरिरहनुभएको छ कि भन्ने लाग्थ्यो । त्यत्रो वर्ष अर्काको घरमा कमारो जस्तो भएर बस्नुभयो । तर, अन्तिममा कुनै सुख महसुस गर्न नपाइ बिदा हुनुभयो ।
अहिले मसँग सबथोक छ । चाहेको कुरा पूरा गर्न सक्ने सामर्थ्य छ । तर, अफसोच, मसँग मेरो बुवा हुनुहुन्न । सम्झेर खल्लो लाग्छ । सानो उमेरमै कति दुःख दिएका होलान् भगवानले जस्तो लाग्छ अहिले पनि सम्झिँदा । विगत सम्झियो कि तड्पन हुन्छ ।
०००
मैले जर्मन नागरिकसँगै विवाह गरें । उहाँ उमेरले मभन्दा धेरै जेठो हुनुहुन्छ । मलाई मान्छेहरुले किन त्यस्तो बुढासँग विवाह गरेकी, यताउता भनेर सोध्छन् । मैले उहाँको उमेर र बैंश हेरेर विवाह गरेको होइन । उहाँको मन हेरेर विवाह गरेकी हुँ । म मनभरि पीडा बोकेर हिँडेकी मान्छे । उहाँलाई भेटेपछि मैले दुःख बिसाउने ठाउँ भेटें ।
उहाँ यति समझदार हुनुहुन्छ कि कहिलेकाहीं म आफैं छक्क पर्छु । सायद मेरो श्रीमान जस्तो व्यक्ति र उहाँको जस्तो सोच कसैको छैन होला जस्तो लाग्छ । उहाँले मेरो हरेक कुरा बुझिदिनुहुन्छ । माया सँगसँगै स्वतन्त्रता छ । एउटा छोरी मान्छेको लागि त्योभन्दा ठूलो कुरा के नै हो र ? म जे गर्छु भने पनि उहाँले खुशी-खुशी अनुमति दिनुहुन्छ । केही कुरामा रोकटोक छैन । उहाँलाई मैले सन् २०१२ मा नेपाल पनि ल्याएकी थिएँ । फेरि पनि ल्याउँछु ।
मलाई धेरैले विदेशी भन्नुहुन्छ । तर, म आज पनि नेपाली हुँ । मसँग अहिले पनि नेपाली नागरिकता नै छ । मलाई मेरो श्रीमानले कतिचोटी नागरिकता परिवर्तन गर भन्दा पनि मैले गरेकी छैन । (हाँस्दै) म जर्मनी बसे पनि कुस्ती चाहिँ यहीका व्यक्तिहरुसँग गरिरहेकी हुन्छु । मेरो पहिचान नमेटियोस् भनेर म वर्षैपिच्छे नेपाल आउँछु ।
ममात्र नभएर मेरा नानीहरुले नेपाल चिनून् भनेर उनीहरुलाई पनि लिएर आउँछु । त्यहाँ पनि मेरो गृहस्थी छ । त्यसैले चटक्क छाडेर आउन सक्दिनँ । म हरेक वर्ष नेपाल आउँछु र यहाँको विकासका लागि एक दिन पनि नबसी खटिइरहन्छु । मलाई मेरो देश सफा बनाउनु छ । जबसम्म सफा हुँदैन तबसम्म म लागि परिरहनेछु । सबैले यति धेरै माया दिनुभएको छ । त्यसको लागि म जिन्दगीभर आभारी रहनेछु ।
सायद हजुर जत्तिको नारी बिश्वमै कमै होलान तपाईका बिगतहरु पढदा पढ्दै धेरै भक्कानिए आँसु पुछ्दै सबै लाईन पढे। तपाईको संघर्षहरु गर्ने साहस लाई सलाम छ।
always positive every words is humble Ashika sis
मन छोयो।🙏🙏🙏🙏🙏
तपाईंको त्यो संघर्ष अनी दुःख ले गर्दा आज स्थान मा हुनुहुन्छ
साह्रै पीडादायी भएपनि सुदूरमा भएको उज्यालो रोशनी पनि सहारा हुँदो रहेछ । संघर्ष गर्नेहरुलाई प्रेरणा मिल्ने नै छ । प्रस्तुतिका लागि तपस्या राणालाई धन्यवाद !
एकदमै मार्मिक कथा छ हजुरको पनि आशिका जि म पनि थाहै नपाई भावुक हुँदै गएँ, के गर्नु यो पृृथ्विलोकमा आएपछि सबै प्राणीको आ – आफ्नै भुमिका पहिले नै तय भएको हुने रहेछ, अनि कथाले मागे पछि दुःख भनेको त सधैँभरि आत्मसाथ गर्दै परिपक्व बनाउने सबैभन्दा प्यारो साथी सम्झनु पर्ने रहेछ । त्यसैले जिवन देखि हारेर मर्छु चाँही कसैले नभन्नुहोस् जिवनलाई जिवन्त
बनाउन कोशिस गर्नुपर्दछ हामी सबै मिलेर मेरो आग्रह छ हजुरहरुलाई 🙏🙏🙏 हामी हरेक प्राणीको सदैव कल्याण होस् ॐ नमः शिवाय।