लुम्बिनी : लोसपा संसदीय दलका नेता संविधान कार्यान्वयनमा, उपनेता र प्रमुख सचेतक कालो दिन मनाउँदै – Nepal Press

लुम्बिनी : लोसपा संसदीय दलका नेता संविधान कार्यान्वयनमा, उपनेता र प्रमुख सचेतक कालो दिन मनाउँदै

रुपन्देही । सत्तारुढ लोकतान्त्रिक समाजवादीका तीन सांसदले बुधवार रुपन्देहीमा देखाएको भूमिकाले सर्वसाधारणलाई आश्चर्यमा पारेको छ ।

प्रदेश संसदीय दलको नेता तथा पार्टीको प्रदेश अध्यक्ष सन्तोष पाण्डेय रुपन्देहीको कार्यक्रममा अहिलेको संविधान साझा दस्ताबेज भएको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने भाषण गरिरहेका थिए भने सोही पार्टीका सचेतक र अर्का एक सांसदले असोज ३ लाई कालो दिन भन्दै सडकमा प्रदर्शन गरिरहेका थिए ।

पाण्डेय लुम्बिनी प्रदेश सरकारको गृहमन्त्री छन् । पाण्डेयले रुपन्देहीको सियारी गाउँपालिकामा आयोजित संविधान दिवस कार्यक्रममा संविधानलाई सबैको साझा दस्ताबेजको रूपमा स्वीकार गर्नका लागि आवश्यकता र समयको माग अनुसार संविधान संशोधन गर्दै कार्यान्वयनमा जोड दिएका थिए।

तर उनकै पार्टीले बुधवार नै भैरहवामा आयोजना गरेको विरोध कार्यक्रममा दलका उपनेता कन्हैया बनिया र प्रमुख सचेतक हेमा वेल्वासेले विरोध प्रदर्शन गर्दै कालो दिन मनाएका थिए । उपनेता बनियाले संविधान दिवसको दिन ब्लयाक डे मनाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको बताए ।

उनले भने, ‘संविधान जारी भएकै दिन हामी आन्दोलनमा थियौँ । संविधानमा भएका त्रुटिपूर्ण प्रावधानहरू सच्याएर संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ ।’

मधेशी, मुस्लिम, जनजाति, दलित, महिला लगायत उत्पीडित समुदायको अधिकार संविधानले समेट्न नसकेको उनको भनाइ छ ।

त्यस्तै लोसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक हेमा बेल्बासे केसीले संविधान बनाएर मात्र नहुने भएकाले त्यसको कार्यान्वयन आवश्यक रहेको बताइन् ।

उनले आफूहरू संविधान विरोध नभएको तर संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरू संशोधन नगरेसम्म प्रत्येक वर्ष विरोध गरिरहने बताइन् ।

उनले भनिन्, ‘संविधान संशोधन नभएसम्म विरोधका कार्यक्रम जारी राख्छौँ । सदन र सडक दुवैबाट विरोध गर्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर