गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान थाल्ने – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान थाल्ने

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कुवेतको जजिरा एयरवेजले पुनः उडान थाल्ने तयारी गरेको छ ।

१५ महिनाअघि सेवा सुरू गरेको जजिराले पटक– पटक उडान स्थगित गर्दै आएकोमा अक्टोबर ३० देखि पुनः उडान थाल्ने तयारी गरेको हो ।

यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने जजिरा नै भए पनि पटक पटक विभिन्न समस्याले स्थगित गर्दै आएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विन्टर सिजनमा फेरी उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतको लागि पठाएको बताएका छन् ।

समर सेडुलमा उडान स्थगन गरेको जजिराले विन्टर सिजनमा पुनः निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको जानकारी पाएको उनको भनाइ छ ।

उडानको समर सेडुल अक्टोबरमा सकिन्छ । अक्टोबर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ ।

विन्टरको सेड्युलको लागि जजिराले स्वीकृति मागेको हो । १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसँगै जजिराले उडान सुरु गरेपनि विभिन्न कारण देखाउँदै विचमा २ पटक उडान स्थगित गरेको छ ।

पछिल्लो पटक व्यावसायिक कारण देखाउँदै जेठबाट उडान रोकेको छ । यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधवार र शुक्रवार कुवेत भैरहवा उडान गर्दै आएको थियो । अब पनि सोही तालिकामा उडान गर्ने छ ।

४ महिनायता रोकिएको जजिराको उडान अब नियमित हुन्छ वा हुँदैन भन्ने विषयमा पर्यटन व्यवसायी भने ढुक्क छैनन् । भारतसँगको हवाई रूट, हुस्सुको समयमा हुने प्राविधिक समस्या विमान कम्पनीले उठाउँदै आए पनि समाधान भएको छैन ।

अरबौँ लगानीको परियोजना उद्घाटन भएको डेढ वर्षसम्म पूर्ण रूपमा सञ्चालनमा जान नसक्दा थप घाटामा जानेछ भने यसलाई आधार बनाएर अरबौँ लगानी गरेको निजी क्षेत्रका व्यवसायी थप संकटमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर