तलेजु र भैरवनाथको दर्शन गर्न आइतबार भक्तपुर जाँदै पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने भएका छन् । उनी भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी र टौमढीस्थित भैरवनाथको दर्शन गर्न भक्तपुर जान लागेका हुन् ।
भक्तपुर आउन लागेका पूर्वराजा शाहलाई स्वागत गर्न स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्यलगायत रहेको स्वागत समारोह समितिसमेत बनाइएको छ ।
समितिका सदस्य सचिव एवं राप्रपाका केन्द्रीय सदस्य रामेश्वर थापाले पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो ३ बजे भक्तपुर आइपुग्ने जानकारी दिए ।
उनका अनुसार भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिनेछ । त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुग्नेछन् । तलेजु भवानीको दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने सदस्य सचिव थापाले जानकारी दिए । भक्तपुर तलेजुबाट करिब ५ मिनेटकाे पैदल दूरीमा भैरवनाथ मन्दिर रहेकाे छ ।
उनले तलेजु भवानी र भैरवनाथको दर्शनमात्रै हुने त्यहाँ पूर्वराजाबाट कुनै पूजाआजा नहुने बताए ।
पूर्वराजा ज्ञानेन्द्र दर्शनको लागि पहिलो पटक भक्तपुर तलेजु र भैरवनाथ मन्दिर जान लागेका हुन् । यसअघि राजा हुँदै वीरेन्द्र भक्तपुर तलेजु पुगेका थिए । नेपालमा राजसंस्था हुँदासम्म वीरेन्द्र वडा दशैंको कोजाग्रत पूर्णिमाको दिन भक्तपुरको नवदुर्गा मन्दिरसमेत पुग्दै आएका थिए । २०४१/४२ सालमा वीरेन्द्र नवदुर्गा भवानीको दर्शन तथा पूजाआजापछि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु पुगेका थिए ।
ज्ञानेन्द्र राजा भए पनि राष्ट्र प्रमुख पुग्दै आएको नवदुर्गा मन्दिरमा पुगेनन् । यसअघि भैरवनाथ मन्दिर पनि नगएका ज्ञानेन्द्रले भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा ठड्याइने लिंगोमा फहराइने एक जोडी हलिंपत्त (विश्वध्वज) भने चढाएका थिए । उक्त हलिंपत्त चढाउन उनी स्वयं पुग्ने बताइए पनि अन्तिम समयमा आएर उनले आफू नआउने सूचना पठाएका थिए ।
भैरवनाथ मन्दिरका एक पुजारीका अनुसार पूर्वराजा ज्ञानेन्द्रले दर्शनमात्रै गरेको कार्यक्रम तय भएको बताए । उनले भने, ‘दर्शन गर्नेमात्रै हो पूजाआजा गर्ने कार्यक्रम केही छैन भन्ने जानकारी आएको छ ।’
तलेजु भवानी र भैरवानाथको दर्शन गरेका पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाटको लागि सल्लाघारीस्थित होटल ग्रीनल्याण्डमा व्यवस्था मिलाइएको स्वागत समारोहका सदस्य सचिव थापाले जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रको तलेजु भवानी र भैरवनाथ मन्दिरको दर्शनपछि स्थानीयसँग हुने भेटघाटको लागि सुरक्षा प्रवन्धको तयारी भइरहेको छ ।