शिक्षक आन्दोलनले सबै सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, कस्तो एक्सन लिँदैछन् बालेन ? – Nepal Press

शिक्षक आन्दोलनले सबै सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, कस्तो एक्सन लिँदैछन् बालेन ?

काठमाडौं । बिहीबार बिहान काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरु नियमित समयमै विद्यालय पुगे । तर, विद्यालयको गेटमा ताला लगाइएको थियो ।

कक्षा १० मा पढ्ने विद्यार्थीहरू बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए । सोहीअनुसार आज पनि विद्यार्थीहरू बिहानै पुगेका थिए । तर, उनीहरूले पढ्न भने पाएनन् ।

गेट पालेले स्कुल बन्द भएकाले आज पढाइ नहुने भन्दै विद्यार्थीलाई फर्काए । अर्को सूचना नआएसम्म विद्यालय बिदा भएको गेट पालेले बताएपछि विद्यार्थीहरु लुरुलुरु घर फर्किए ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको सहयोगी माविमा पनि बिहानैदेखि ताला लगाइएको थियो । विद्यालय नखुल्नेबारे पूर्वजानकारी नपाएका विद्यार्थीहरु गेट नखुलेपछि फर्किए । उनीहरु किन बिदा दियो स्कुलले भनेर अचम्ममा परेका थिए ।

बुधबार सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो । आज भने कुनै पनि सरकारी बिदा थिएन । तर, उपत्यकासहित देशभरका सबैजसो सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ ।

रत्नराज्यका प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएपछि विद्यालय बन्द भएका हुन् । संसदमा गत भदौ २७ गते विद्यालय शिक्षा विधेयक २०८० दर्ता भएपछि त्यसको विरोधमा शिक्षकहरु आन्दोलनमा छन् । सरोकारवालासँग छलफल नै नगरी शैक्षिक माफियाहरुलाई फाइदा पुग्ने गरी कानून बनाउन खोजिएको भन्दै उनीहरु आक्रोशित छन् ।

विधेयकमा संशोधन नगरेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गरेर आन्दोलन चर्काउने उनीहरुको भनाइ छ ।

शिक्षकको आन्दोलनलाई लिएर स्थानीय तहहरुको फरक फरक प्रतिक्रिया छ । कतिपय गाउँपालिकाले नै शिक्षकहरुलाई गाडीको व्यवस्था गरेर काठमाडौं केन्द्रित आन्दोलनमा पठाएका छन् भने केही पालिकाहरुले विद्यालय बन्द गरेर आन्दोलन गर्न गए कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलन गर्न गए कारबाही गर्ने चेतावनी दिएको थियो । महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै महानगरपालिकाभित्रको सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुले हिजो विद्यालय बन्द गरेर माइतीघर मण्डलामा हाजिर हुने निर्णय लिए ।

आन्दोलनको समर्थन गरेपछि महानगरपालिकाले अर्को काउन्टर दिँदै विद्यालय बन्द गराएको पाइए शिक्षकको तलब काट्ने चेतावनी दिएको छ ।

महानगरका मेयर बालेन शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने बताएका छन् ।

सोहीअनुसार महानगरभित्र रहेका ७९ वटा विद्यालयमा नगर प्रहरीको टोलीले अनुगमन थालेको छ । विद्यालय बन्द गराएका शिक्षकको हाजिरीकापी हेर्न नभइ विद्यालय बन्द वा खुला रहेको अवस्था हेर्न गएको नगर प्रहरीले बताएको छ ।

नगर प्रहरी निरीक्षक शिव दाहालले महानगरबाट विद्यालय खुला छ कि बन्द छ भनेर हेरेर विवरण पठाउन निर्देशन रहेको बताए । विद्यालय बन्दको अपडेट आफूहरुले पठाइसकेको उनले जानकारी दिए ।

दाहालले भने, ‘सबै विद्यालय बन्द रहेछन् । कतै गेटमा ताला लगाएको, कतै विद्यार्थी-शिक्षक नभएको पायौं । त्यहीअनुसार लिस्ट पठाएका छौं । अब के कारबाही हुन्छ भन्ने चाहिँ हामीलाई थाहा भएन ।’

महानगरपालिकाको शिक्षा विभागले हिजो साँझ एक विज्ञप्ति जारी गरेर विद्यालय शान्ति क्षेत्र र प्रचलित कानूनविपरीत विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा कारबाही गरिने चेतावनी दिएको थियो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय सरकारसँगको माग सम्बोधनका नाममा विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु निश्चय पनि शिक्षकको नैतिकता र आचारणले दिँदैन ।’

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार ३४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ विद्यार्थी छन् ।

महानगरपालिका भन्छः कारबाही नगरेर पुरस्कार दिने त ?

काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले कति विद्यालय बन्द भएका छन् भन्ने जानकारी आइनसकेको बताए ।

उनले भने, ‘सबै विवरण आइसकेको छैन । टोली आइपुगेपछि विस्तृतमा थाहा हुन्छ ।’

प्रमुख कोइरालाले पठनपाठन बन्द गर्ने विद्यालयलाई कानूनअनुसार कारबाही गरिने बताए । ‘पठनपाठन बन्द गर्ने स्कुललाई कारबाही नगरेर के पुरस्कार दिनु त ?’, उनले आक्रोशित हुँदै भने ।

शिक्षा नियमावली, शिक्षा ऐन, शिक्षक आचारसंहितासम्बन्धी कानूनमा टेकेर कारबाही गर्ने उनी बताउँछन् ।

शिक्षा प्रमुख कोइरालाले भने, ‘विद्यालय बन्द गर्ने कानून छैन । तर, कारबाही गर्न कानून नै कानून छ । अधिकार दुरुपयोग गरेकै आधारमा कारबाही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर