साउन र भदौमा ५ अर्ब ४३ करोडको विद्युत भारत निर्यात – Nepal Press

साउन र भदौमा ५ अर्ब ४३ करोडको विद्युत भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको हो ।

दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत निर्यात भएको प्राधिकरणले जनाएको हो ।

साउन र भदौमा भारत निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्रीदर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा रहेको छ । दुई महिनाको समग्र औसत विद्युत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारणलाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए ।

‘देशभित्र उत्पादित विद्युत यही खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत नपुगेका ठाउँमा विद्युत पुर्‍याउन विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *