पार्टीको नाम र लोगो प्रयोग गरेर खोलिएका नक्कली एकाउण्ट १५ दिनभित्र बन्द गर्न एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट बन्द गर्न निर्देशन दिएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरेका हुन् ।
नेकपा एमाले र यसको नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आमनागरिक र पार्टी पङ्क्तिभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको र यसले पार्टी पङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको जनाएको छ ।
नेता गौतमले त्यस्ता एकाउण्ट सञ्चालकहरू सम्पर्कमा नआए आवश्यक कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।