बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

शिक्षा विधेयकको समस्या वार्ताबाट तत्काल समाधान गर्न सुझाव

काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाडौँमा जारी राखेको आन्दोलन तथा प्रदर्शनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न माग राखेर भइरहेको आन्दोलनको आयोगले स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ती जारी गर्दै विद्यालय बन्द हुँदा बालबालिकाको अधिकारको सुनिश्चितामासमेत बाधा उत्पन्न भएको भन्दै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन आग्रह गरेको छ ।

मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना माग राख्न, आफ्ना माग पूरा गराउन विद्यालय बन्द बाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गरिएको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।

‘विद्यालयका शिक्षकशिक्षिकाले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ । तर आफ्ना माग सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको देखिन्छ । यसबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको आयोगको बुझाई रहेको छ ।’

साथै आयोगले कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् नेपाल शिक्षक महासंघलगायत शिक्षक समुदायले उठाएका न्यायोचित मागको सम्बोधन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर