गुण्डा नाइकेले आममाफी पाउँदा पीडित परिवारमा त्रास- हामी असुरक्षित भयाैं ! – Nepal Press

गुण्डा नाइकेले आममाफी पाउँदा पीडित परिवारमा त्रास- हामी असुरक्षित भयाैं !

रुपन्देही । सरकारबाट गम्भीर अपराधमा परेका व्यक्तिलाई आममाफी दिएर रिहा गर्दा पीडित परिवारले थप अन्याय र त्रास महसुस गरेका छन् ।

२०७२ असार २८ मा बाँकेको नेपालगन्ज ७ गगनगन्जका २८ वर्षका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा २०७६ फागुन २८ मा उच्च अदालत नेपालगन्जले जन्मकैदको फैसला सुनाइएका बाँकेको नेपालगन्जका रिगल भनिने योगराज ढकाल असोज ३ मा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भए ।

स्व. चेतनको परिवारले यसलाई अदालत र पीडित परिवारमाथिको अपमान भएको जनाएको छ । मानन्धरकी बहिनी सगुन मानन्धर र भाइ चिरन्जीवी मानन्धरले यो घटनाले पीडित परिवारमाथि थप पीडा थपेको जनाएका छन् ।

‘यो अदालतमाथिको अपमान हो, हामी पीडित परिवारलाई यो भन्दा ठूलो सजाय के हुन सक्छ, कम्तीमा कुन मुद्दामा परेकालाई कस्तो सजाय मिनाह गर्ने नभएर पहुँचको भरमा मिनाह गर्ने गर्न थालियो’, चिरन्जीवीले भने ।

याे पनि पढ्नुस् : मान्छे मारेर सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइकेलाई आममाफी, जेलबाटै तरुण दलको स्कर्टिङसहित स्वागत

चेतमान मानन्धर बुवाआमाको जेठो छोरा थिए । बहिनी सगुन र भाइ चिरन्जीवीले यसरी दोषी प्रमाणित भएका व्यक्ति बाहिर आउँदा आफूहरुलाई थप सुरक्षा चुनौती समेत बढ्ने जनाएका छन् ।

चिरन्जीवीले भने- अब हामीले कसरी सुरक्षा महशुस गर्ने ? हामीलाई सहयोग गर्नेहरु पनि असुरक्षित हुनुभयो, उहाँहरुले अन्य यस्तो पीडामा परेकाको आवाज कसरी उठाउन सक्नुहुन्छ ? जब अपराधमा जोडिएको मान्छे खुलेयाम बाहिर हिंडेपछिको अवस्था के हुन्छ ? यो सरकारको नेतृत्वमा बस्ने सबैले बुझ्नुपर्ने होइन र ?’, उनले भने- दाईले त अकालमा ज्यान गुमाउनु भयो, उहाँको ११ वर्षको छोरा हामीले नै राखेका छौं, उनको सुरक्षा अब कसरी हुन्छ ?’

चेतमानको मृत्यु भएपनि मान्धर परिवारले सहमतिमा उनकी तत्कालीन श्रीमतिको अन्यत्रै विवाह गरिदिएका छन् भने एक छोरालाई भने परिवारसँगै राखेर पढाएका छन् । स्व. चेतमानका बुवा, छोरी सगुन एमालेमै भएपनि आमा भने राप्रपामा क्रियाशील थिइन् । अहिले भने उनीहरु त्यति सक्रिय नभएको चिरन्जीवीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद पाएर जेल पुगेका व्यक्तिलार्ई आममाफी दिएको विषय अहिले सामाजिक सन्जालमा थप आलोचित बनेको छ । त्यसमाथि जेलको गेटदेखि नै तरुण दल र उनका समर्थकहरुको भव्य स्वागत, राजमार्गमा गाडीको लावालश्करलाई अपराधमाथि राजनीतिकरण भन्दै आलोचना भएको हो ।

तत्कालीन समयमा तरुण दलको क्षेत्रीय सभापति रहेका ढकाल कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका हुन् । ०७२ मा घटना भएपनि ०७६ फागुन २८ मा उच्च अदालतले जन्मकैद फैसला गरेको थियो । केही समय फरार रहेपनि पछि अदालतमा आत्मसमपर्ण गरेका थिए ।

संविधान दिवसमा माफी पाएर उनी दाङको घोराही कारागारबाट रिहा भएका हुन् । ढकाललाई राजनीतिक पहुँचको आधारमा ३ वर्ष पनि पूरा नहुँदै रिहा गरिएको भन्दै उनका आलोचकले कडा विरोध गरिरहेका छन्। त्यसमाथि उनको रिहाईपछि गरिएको तरुण दल र उनका सहयोगी कार्यकर्ताहरुको घोराही कारागारदेखिको भव्य र्याली र सडक नै जाम हुनेगरी गाडीको लस्करले अदालतलाई नै प्रश्नचिन्ह खडा गरेको छ ।


प्रतिक्रिया

One thought on “गुण्डा नाइकेले आममाफी पाउँदा पीडित परिवारमा त्रास- हामी असुरक्षित भयाैं !

  1. यो देश बिगार्ने र बेच्ने काँग्रेस र माओवादी हुन् ।यिनलाई सखाप नपारेसम्म देशमा परिवर्तन सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर