शिक्षक आन्दोलन : देशभर पठनपाठन ठप्प, कुन प्रदेशमा कति विद्यालय प्रभावित ? – Nepal Press

शिक्षक आन्दोलन : देशभर पठनपाठन ठप्प, कुन प्रदेशमा कति विद्यालय प्रभावित ?

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि देशभरका विद्यालयहरु प्रभावित बनेका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएका छन् । कुन प्रदेशमा कति विद्यालय प्रभावित भए त ? हामीले यसको जानकारी लिएका छौं ।

कोशीका ५ हजार ३९३ विद्यालय बन्द

सुमन पुरी

शिक्षकहरू आन्दोलनमा गएपछि कोशी प्रदेशका ५ हजार ३ सय ९३ विद्यालय बन्द भएका छन् । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि प्रदेशका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन ।

आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा गए पनि हाजिरी गरेका छैनन् । उनीहरूले सादा कपीमा उपस्थिति गरेका छन् । शिक्षकहरूको आन्दोलन र विद्यालय बन्दको हल्लाले गर्दा विद्यार्थीहरू समेत नआएको विद्यालय व्यवस्थापन समितिहरूले बताएका छन् । इटहरीस्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले विद्यालयमा पठन पाठन नभएको बताए ।

उनले शिक्षकहरूले नपढाएका कारण विद्यालय सञ्चालन हुन नसकेको जानकारी दिए । उनले भने, शिक्षक साथीहरू विद्यालय आउनु भएको छ । आन्दोलन चलिरहेको भन्दै नपढाएपछि कक्षा सुचारु हुन सकेन । सुनसरीको इनरुवा स्थित सरस्वती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले विद्यालयमा पठन पाठन नभएको बताए । शिक्षकहरूले नपढाएका कारण विद्यालय आएका विद्यार्थी समेत फर्किएको यादवले बताए ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश शैक्षिक योजना, तथा अनुसन्धान शाखाका प्रमुख यादवप्रसाद दुलालले प्रदेशमा रहेका सामुदायिक विद्यालयमा पठन पाठन भएको जानकारी नआएको बताए । उनले भने अहिले सम्म कुनै पनि विद्यालयमा पठन पाठन भएको जानकारी मन्त्रालयमा आएको छैन । सूचना नै निकालेर विद्यालय बन्दको आव्हान भएका कारण पठन पाठन प्रभावित भएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा ५ हजार ३९३ वटा सामुदायिक विद्यालय छन् ।

मधेश प्रदेश

सन्ताेष यादव

सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ ।

शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले भने आन्दोलित शिक्षकहरुको माग पुरा गर्नुपर्ने बताउँछन् ।

मन्त्री यादवले नेपाल प्रेससँग भने, ‘संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले समस्या उत्पन्न हुन्छ । शिक्षकका आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएर समस्या सम्बोधन गर्नुपर्छ ।’

विद्यालय बन्द गरी आन्दोलन गर्न नहुने हो तर सबै शिक्षक काठमाडौं गएपछि पठनपाठन प्रभावित बनेकोमा उनले दुःख व्यक्त गरे । उनले शिक्षकहरुसँग अविलम्ब वार्ता गरी आन्दोलनको अन्त्य गरी पठनपाठन सूचारु गर्नुपर्ने बताए ।

उनका अनुसार मधेश प्रदेशमा करिब १ हजार बढी सामुदायिक विद्यालय छन् । ‘शिक्षक नै नभएपछि कसरी पठनपाठन हुन्छ ?’, उनले भने, ‘प्रायः सबै विद्यालय ठप्प छन् ।

बागमतीका ४ हजार ८ सय विद्यालयमा पठनपाठन ठप्प

धर्मेन्द्र दाहाल

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा भएको शिक्षकहरुको काठमाण्डौँ केन्द्रीत आन्दोलनको प्रभाव बागाती प्रदेशमा पनि पूर्ण रुपमा परेको छ । आन्दोलनको कारण बागमतीको १३ जिल्लामा रहेका ४ हजार ८ सय ७५ सामुदायिक विद्यालयमा पठकनपाठन हुन सकेको छैन् । विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका अधिकांश सामुदायिक विद्यालय बन्द छन् । निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालका अनुसार शिक्षक आन्दोलनको ठुलो प्रभाव बागमतीमा परेको छ । काठमाण्डौँ केन्द्रीत आन्दोलन भएको कारण पनि बागमतीमा अधिकांश विद्यालयहरु ठप्प रहेको उनले बताए ।

बागमती प्रदेशको काठमाण्डौँ महानगरपापलिकाले विज्ञप्तीनै निकालेर विद्यालय बन्द गरे प्रधानाध्यापक सहितलाई कारबाहिको चेतावनी दिएपनि महानगरभित्रका सबै प्रधानाध्यापकले महानगरको विज्ञप्तीको अवज्ञा गर्दै पठनपाठनलाई पूर्ण रुपमा बन्द गरिदिएका छन् ।

बागमतीमै रहेको भरतपुर महानगरपालिकाले पनि विज्ञप्ती जारी गर्दै जायज मागमा गर्ने नाउँमा विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न अनुरोध गरेको छ । यि बाहेक बागमतीका अन्य स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकलाई असहयोग हुने गरि विज्ञप्ती प्रकाशन गरेका छैनन् ।

आन्दोलनको विषयमा नेपालप्रेसँग कुरा गर्दै नेपाल राष्ट्रिय शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले यो आन्दोलन अन्तिम हुने दाबी गरे । वर्षौबाट हेपिएर, पेलिएर बसेका शिक्षहरुले अन्तिम आन्दोलनको रुपमा अहिलेको आन्दोलनलाई लिएको बताउँदै उनले सरकारले आफुहरुको मागलाई पुरा नगरे आन्दोलन नरोकिने चेतावनी दिए ।

गण्डकीका अधिकांश विद्यालय बन्द

रिखिराम जिसी

मन्त्रिपरिषद्बाट पारित भएको विद्यालय शिक्षा विधेयक, २०८० विरोधमा देशैभरका शिक्षकहरु आन्दोलनमा छन् । शिक्षा विधेयकको विरोध गर्दै देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरु राजधानी काठमाडौंमा छन् । शिक्षकहरु आन्दोलनमा गएपछि गण्डकी प्रदेशका अधिकांश समुदायिक विद्यालयको पठन पाठन अवरुद्ध हुन पुगेको छ ।

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका अधिकांश सामुदायिक विद्यालय बन्द छन् । ‘शिक्षकको आन्दोलनले स्वभाविक रुपमा विद्यालयमा प्रभाव परेको छ । हामीले बुझ्दा अधिकांश विद्यालय बन्द भएका छन्,’ निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले भने ।

विधेयकमा केही प्रावधानहरु सच्चाउनुपर्ने रहेको आचार्यले बताए । ‘विधेयक पानापाना पल्टाएर हेरेको त छैन । तर, विधेयकका सामान्य केही प्रावधानहरु सच्चाउनुपर्ने छ । जस्तो ग्रेड, निजामती कर्मचारीसरहको व्यवस्था बनाउनुपर्छ,’ उनले भने । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ४ हजार ३ सय १७ विद्यालयहरु छन् ।

पोखरास्थित बाराही माध्यमिक विद्यालयका शिक्षक राम पोखरेलले शिक्षकहरूले आफ्ना कैयौँ मागहरू हालको विधेयकले पनि सम्बोधन नगरेको भन्दै आन्दोलन गर्नुपरेको दाबी गरे । उनले यसअघिका सरकारले गरेको सहमति विधेयकमा नसमेटिएको उनले सुनाए ।

‘मुख्य कुरा यसअघिका सरकारहरु गरेको ५१ वुँदे र ३१ बुँदे सहमति कार्यान्वयन भएको छैन । बाल शिक्षालाई विद्यालयमा संरचना राखेको छैन । धेरै मागहरु सरकारले समेटेको छैन । विद्यालय सिध्याउने लक्ष्यका साथ कदमहरु चालेको छ,’ उनले भने ।

सरकारको कदमविरुद्ध केहि दिनका लागि विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएको शिक्षक पोखरेलले बताए ।

पोखरा महानगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न निर्देशन दिएको छ ।

विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न महानगरको निर्देशन छ ।

शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकास लगायतका सवालमा कतिपय मागहरूप्रति पोखरा महानगरपालिका संवेदनशील रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

कास्कीकै माछापुच्छे्र गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै बालबालिकाहरुको पढ्नपाउने नैसर्गीक अधिकारलाई बन्चित पार्ने गरी आन्दोलनको नाममा विद्यालय बन्द गर्न खोज्नु कानून सम्मत नहुने तथा अशोभनीय बताएको थियो ।

सामुदायिक विद्यालयहरुको पठनपाठनमा बाधा नपर्ने गरी रचनात्मक र सांकेतिक रुपमा माग राखी नियमित विद्यालय संचालन गरी पठनपाठनको व्यवस्था मिलाउनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।

लुम्बिनी प्रदेश

रामप्रसाद आचार्य

सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण लुम्बिनीमा रहेका सबै विद्यालय बन्द रहेका छन् । प्रदेश शिक्षा मन्त्रालयका प्रवक्ता मनोज गैरेका अनुसार प्रदेशमा रहेका ४५ सय विद्यालयका १० लाख विद्यार्थी बन्दले प्रभावित भएका छन् ।

सबै विद्यालयमा शिक्षकहरूले पूर्वसूचना दिएरै बन्द गराएका हुन् । विद्यालय बन्द गरेको विषयमा अभिभावक संघ तथा अन्य सरोकारवालाले विरोध गर्दै आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको अधिकार माथि गम्भीर बन्न आग्रह गरेका छन् ।

अभिभावक संघ प्रदेश अध्यक्ष हेम थापाले शान्ति क्षेत्र रहेको विद्यालय बन्द गरेर सडकमा जान नपाइने बताउदै जायज माग पूरा गराउन आन्दोलनको स्वरूप फेर्न अनुरोध गरेका छन् । विद्यालय शान्ति क्षेत्र हो, कक्षा छोडेर सडकमा जान पाइदैन, जायज माग पूरा गर्न सम्बन्धित निकायले ध्यान दियोस्, विद्यार्थीको अधिकारमाथि खेडवाड गर्न पाइदैन’, उनले भने ।

शान्ति समाजका पूर्वअध्यक्ष गोविन्द खनालले शिक्षकहरूलाई आकर्षणको केन्द्र बनाउनुपर्ने तर विद्यार्थीमाथि अन्याय गर्दै बन्द गर्न नपाइने बताए । आन्दोलन गर्न पाइयो, जायज माग राख्न पाइयो तर सबै विद्यालय बन्द गरेर जाने अधिकार हुँदैन, यसमा गम्भीर हुनुपर्ने छ’, उनले भने ।

कर्णालीका ३ हजार ३४ सामुदायिक विद्यालय बन्द

अप्सरा विष्ट

कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । आन्दोलनका लागि शिक्षकहरु काठमाडौं गएपछि कर्णाली प्रदेशका ३ हजार ३४ सामुदायिक विद्यालय बन्द भएका हुन् ।

कर्णालीबाट आन्दोलनका लागि काठमाडौं गएपछि प्रदेशभरिका सामुदायिक विद्यालयहरुको पठनपाठन रोकिएको छ । कर्णालीबाट भने केही शिक्षकहरु आन्दोलनका लागि गएका छन् भने केही शिक्षकहरु प्रदेशका जिल्लाहरुमा नै बसेका छन् । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पठनपाठनलाई बहिष्कार गरेका छन् ।

कर्णालीका सामुदायिक विद्यालय पूर्णरुपमा बन्द छन् भने विद्यालयका कार्यालय सहयोगीले विद्यालयको गेट खोलेर मात्रै बसेको पाइन्छन् । आन्दोलन अनिश्चित भएको हुँदा केही विद्यार्थी भने विद्यालय पुगेर फर्किने गरेका छन् ।

अम्मर ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन् । महासंघ र सरकारको निर्णय जे हुन्छ त्यसैमा भर पर्ने पनि देखिएको उनको भनाइ छ ।

कर्णाली राजधानी वीरेन्द्रनगरको मुटुमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र जन ममूना माध्यमिक विद्यालयका अधिकांश शिक्षक काठमाडौँ गएका छन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेशमा ३ हजार ३४ वटा सामुदायिक विद्यालय रहेका छन् ।

सुदूरपश्चिमका ४ हजार ३०१ विद्यालयमा पढाइ बन्द

भानुभक्त आचार्य

सुदूरपश्चिमका ४ हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक-शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन् । विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक-शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

आन्दोलनका लागि शिक्षकहरू काठमाडौं पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ ।

शिक्षक आन्दोलनमा सुदूरपश्चिमका ३२ हजार ५१३ शिक्षक/शिक्षिका विद्यालय शिक्षा विधेयकको विपक्षमा सडकमा उत्रिएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *