क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग भिड्दै बर्दियाका विनय राजभण्डारी – Nepal Press

क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग भिड्दै बर्दियाका विनय राजभण्डारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

क्यानका वर्तमान अध्यक्ष चन्द फेरि सो पदमा दोहोरिन चाहन्छन् । उनले पहिल्यैदेखि आफू अध्यक्षमा फेरि लड्ने बताउँदै आएका छन् । राजभण्डारीले भने भर्खरै मात्र उम्मेदवारी घोषणा गरेका हुन् । जितको लक्ष्य सहित उम्मेदवारी दिन लागेको उनको दावी छ ।

राजभण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी २० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध छन् । बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।मोन्टी देसाई विगतमा नेपालको ब्याटिङ कन्सल्ट्यान्ट भएर आउँदा उनको म्यानेजरका रुपमा पनि काम गरेको अनुभव पनि राजभण्डारीसँग छ ।

अध्यक्षका रुपमा चन्दले ४ वर्षको कार्यकाल खेर फालेकाले क्यानलाई नयाँ नेतृत्व चाहिएको राजभण्डारीको भनाइ छ ।‘उहाँ अध्यक्षको रुपमा नेपाली क्रिकेटको नेतृत्व गर्न असफल हुनुभयो । अहिले खेलाडी र प्रशिक्षकको मिहिनेतका कारण प्राप्त भएको सफलताको जस लिन खोजिरहनुभएको छ,’ उनले भने ।

सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कारसमेत दिलाउन नसक्ने चन्दबाट थप केही आशा गर्न नसकिने राजभण्डारीको भनाइ छ । चन्दको कार्यकालमा क्रिकेट पूर्वधारमा शून्य प्रगति भएको, खेलाडीको हक–हितमा क्यानले कुनै काम गर्न नसकेको, नेपाल क्रिकेट लिग विवादित बनेको र खेलाडीहरुले पारिश्रमिक समेत नपपाएको जस्ता आरोप उनले लगाए ।

चन्द विरुद्ध आफूभन्दा सिनियर कसैले उम्मेदवारी दिनसक्ने ठानेर अहिलेसम्म मौन बसेको उनी बताउँछन् ।‘क्यानको केन्द्रीय पदाधिकारी भइसकेकाहरुले उहाँविरुद्ध उम्मेदवारी घोषणा गर्लान् भन्ने लागेको थियो । तर, कसैले पनि त्यो हिम्मत जुटाउन सकेनन् । त्यसैले अन्तिम समयमा मैले उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।

आफूसँग कुनै प्यानल नभए पनि धेरै प्रतिनिधिहरुको समर्थन रहेको उनले बताए । ‘मैले उम्मेदवारी दिने घोषणा गरेपछि धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । विभिन्न कारणले बाहिर नखुले पनि मलाई राम्रो मत आउनेमा आशावादी छु,’ राजभण्डारले भने ।

तपाईं जित्नकै लागि उठ्नुभएको हो कि चन्दलाई निर्विरोध हुन नदिने मात्रै उद्देश्य हो भन्ने प्रश्नमा राजभण्डारीले भने, ‘चुनावमा जित्नै भनेर उठिन्छ । यदि मलाई कठिन छ भने उहाँलाई पनि सजिलो चाहीँ छैन ।’


प्रतिक्रिया

One thought on “क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग भिड्दै बर्दियाका विनय राजभण्डारी

  1. बिनय राज भण्डारी भय कृकेट को भबिस्य राम्रो हुने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर