ढुंगेललाई बागमतिको अध्यक्षमा सर्वसम्मत बनाउन एमाले नेतृत्वको गृहकार्य, अन्य पदमा चुनाव निश्चित – Nepal Press

ढुंगेललाई बागमतिको अध्यक्षमा सर्वसम्मत बनाउन एमाले नेतृत्वको गृहकार्य, अन्य पदमा चुनाव निश्चित

काठमाडौं । नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि सार्न गृहकार्य थालेको छ ।

लुम्बिनीको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवारले पार्टीका पदाधिकारीको नाममा गुटबन्दी गरेपछि यसपटक संस्थागत रुपमै अघि बढाउन खोजिएको एमाले स्रोतले जनाएको छ ।

अध्यक्षका आकांक्षीहरुबीच छलफल गराएर कम्तिमा मुख्य पदमा सर्वसम्मत गर्न खोजिएका एक नेताले बताए । अध्यक्षमा सर्वसम्मत गरेर अन्य पदमा निर्वाचन खुला गर्ने तयारी छ । यदि अध्यक्षमा उम्मेदवारी नै परे पनि नेताका नाममा प्यानल बन्न नदिन संस्थागत निर्णय गर्न खोजिएको हो ।

बागमतिको अध्यक्षका लागि कैलाश ढुंगेल,कृष्ण प्रसाद दाहाल,सानुकुमार श्रेष्ठ र केशव पाण्डेको दावी छ । यीमध्ये पाण्डेबाहेक सबै केन्द्रीय सदस्य हुन् । पार्टी नेतृत्वको सिग्नल पाए पोलिटव्युरो तहकै नेताहरु अध्यक्षका आकांक्षी थिए,तर अब त्यो चरण सकिएको छ ।

एमाले स्रोतका अनुसार यसैसाता अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग बागमतिको नेतृत्व चयनका विषयमा परामर्श गरेका थिए । प्यानलबन्दी र गुटबन्दी नहोस् भनेर अध्यक्षले मुख्य नेतृत्वमा सहमति गराउन खोजेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

वागमतिमा सर्वसम्मति कायम गर्न जिम्मेवारी पाएका एक नेताले भने–पार्टीका शीर्ष नेताहरुको आशय कैलाश ढुंगेल भन्ने देखियो । लुम्बिनीमा जस्तो कुनै एउटा नेताका उम्मेदवार भन्ने अवस्था यहाँ नहोला । छलफलमा ईश्वर पोखरेल,बिष्णु पौडेल,शंकर पोखरेललगायत सबै नेताहरु अध्यक्षसँगै भएकाले कैलाशकै नाम टुंगिने देखियो । त्यस्तो हुँदा केन्द्रीय सदस्य पद पनि गुमाउन तयार भएर कोही उम्मेदवार नबन्ला । अरु बने पनि अर्थ हुन्न ।

अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव बिष्णु रिमाललगायतका नेताहरुसँग छलफल गरेका छन् । त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डेलगायतकासँग पनि अध्यक्ष ओलीले वागमतिको अध्यक्षमा सर्वसम्मतिको खोजी गरेका छन् ।

कैलाश ढुंगेललाई पोलिटव्युरो सदस्य बनाउन नसकिएकाले यसपटक बागमतिको अध्यक्ष बनाएर न्याय गर्ने चाहना ओलीले राखेको नेताहरुको भनाइ छ । प्रदेश अध्यक्ष पोलिटव्युरो सरहको पद हो । ढुंगेलभन्दा जुनियर र समकक्षी नेताहरु पोलिटव्युरोमा समेट्दा उनी छुटेका थिए ।

बागमति प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेल एमालेको तीन कार्यकाल रामेछाप जिल्ला प्रमुख भइसकेका नेता हुन् । दाबेदारमध्येबाट ढुंगेलको लागि सर्वसम्मति कायम गर्ने प्रयास भइरहेको बागमतिको अधिवेशनलाई व्यवस्थापन गरिरहेका एक नेताले बताए । अन्य पदमा भने चुनावकै सम्भावना बढी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “ढुंगेललाई बागमतिको अध्यक्षमा सर्वसम्मत बनाउन एमाले नेतृत्वको गृहकार्य, अन्य पदमा चुनाव निश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर