एमाले बागमतीको अध्यक्षमा पूर्वसांसद कृष्ण दाहालको सशक्त दाबी, प्रतिस्पर्धाबाट पछि नहट्ने
हेटौंडा । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहालले आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिहरुसँग छलफलका क्रममा उनले सर्वसम्मत भए पनि चुनाव भए पनि आफू मैदानमै रहेको बताएका हुन् ।
पूर्वसांसद तथा प्रतिनिधिसभा अर्थ समिितका पूर्वसभापति दाहालले नेतृत्वले आफूलाई उम्मेदवार नबन्नु नभनेको र अध्यक्षको दाबी गर्ने सबै योग्यता तथा योगदान रहेकाले शीर्ष नेतृत्वले आफ्नो पक्षमा निर्णय गर्ने बताएका छन् ।
दाहालले अध्यक्षको तयारी यसअघि नै थालिसकेका थिए । अध्यक्षको उम्मेदवार बन्न नै केन्द्रीय सदस्य दाहाल प्रदेश प्रतिनिधि चयन भएर आएका छन् । दाहाल नेतृत्व र अधिवेशन प्रतिनिधि दुवैको समर्थन लिएर बागमतीको अध्यक्ष बन्ने अभियानमा रहेको मकवानपुरका युवा नेता दीपक न्यौपानेले बताए ।
दाहालले पार्टीका नेताहरुलाई कुनै एकजनाको पक्षमा विभाजित नहुनसमेत आग्रह गरेको निकट स्रोतले जनाएको छ । मकवानपुर १ बाट ३ पटक सांसद निर्वाचित दाहाल २०४८ का कान्छो सांसद थिए । उनले मकवानपुर एमालेको नेतृत्वसमेत गरिसकेका छन् ।
बागमतीको अध्यक्षका लागि कैलाश ढुंगेल, केशव पाण्डे र सानुकुमार श्रेष्ठले पनि दाबी कायमै राखेका छन् ।