क्यान चुनावः सचिवमा पारसलाई प्रशान्तविक्रम मल्लले चुनौती दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा उम्मेदवारी दिने तयारी गरेका नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्कालाई भूतपूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले चुनौति दिने भएका छन् । उनले पारसविरुद्ध सचिवमा लड्ने तयारी गरेको बुझिएको छ ।
मल्ल २०७६ साल असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्य चयन भएका थिए । क्यानको सचिवबाट २०७८ साल असोजमा अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव तोकिएको थियो । क्यान प्रवक्तासमेत रहेका मल्लले पनि गत वर्ष माघमा राजीनामा दिए ।
क्यानले आयोजना गरेको नेपाल टि–२० लिग अत्यधिक विवादित भएपछि मल्लले पदत्याग गरेका हुन् । उनी सो लिगको गभर्निङ काउन्सीलका अध्यक्ष थिए । मल्लको राजीनामापछि दुर्गाराज पाठकलाई कार्यवाहक सचिव र प्रवक्ता बनाइएको छ ।
मल्ल क्यानका कोषाध्यक्ष रोशन सिंहसँग निकट छन् । रोशनले सुरुमा क्यान अध्यक्षमा नै उम्मेदवारी दिने गरी तयारी गरेका थिए । तर, प्रदेश निर्वाचनमा आफ्नो पक्षमा नतिजा नआएपछि उनी पछि हटेका छन् । उनले अब कोषाध्यक्षमै वा उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाएका छन् ।
रोशन र पारस दुवै अध्यक्ष चतुरबहादुर चन्दसँग प्यानल बनाउन प्रयासरत छन् । पारस समूहले चन्दसँग आफूहरुको समझदारी भइसकेको भनेर प्रचारप्रसार गरिरहेको छ । केन्द्रीय अधिवेशनका क्रममा पनि चतुर पारसबीच निकटता देखिएको छ ।
दावी गरिएअनुसार पारसले अध्यक्षमा चन्दलाई र चन्दले सचिवमा पारसलाई समर्थन गर्ने समझदारी छ । यदि चन्दको समर्थन पाएको खण्डमा पारसको दावेदारी मजबुत हुन्छ । यद्यपि, व्यक्तिगत लोकप्रियताकै आधारमा पनि पारस बलिया उम्मेदवार हुन् । उनी हालै बाग्मती प्रदेश अध्यक्षमा विजयी भएका थिए ।
यद्यपि, चतुर र पारसको प्यानल बनेको खण्डमा रोशन–मल्ल समूह अप्ठेरोमा पर्न सक्ने छ । यद्यपि, चतुरले दुवै समूहलाई पदाधिकारीमा समेट्ने रणनीति बनाएका छन् । स्रोतका अनुसार चतुर रोशनलाई उपाध्यक्ष र पारसलाई सचिवमा समर्थन गर्न सकारात्मक छन् । त्यसो भयो भने मल्ल चन्दको प्यानलबाट आउट हुने छन् ।
कोषाध्यक्षमा चतुरकै प्यानलबाट उठ्ने भनेर पदम खड्काले प्रचारप्रसार गरिरहेका छन् । उनी सुर्खेतका जिल्ला अध्यक्ष हुन् । उम्मेदवारीका लागि मनोनयन नहुँदासम्म केही भन्न सक्ने अवस्था भने छैन ।