एमाले कोशीको अधिवेशन: सुनसरी र मोरङका २३ वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनका लागि सुनसरी र मोरङका २३ वटा पालिकामा सर्व सम्मत प्रतिनिधि छनौट भएको छ ।
मोरङका १७ वटा पालिका मध्ये १५ वटामा सर्वसम्मत प्रतिनिधि छनौ्ट भएको एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले बताए ।मोरङका सुनबर्षी नगरपालिका र रतुवा माई नगरपालिकामा भने सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन हुने भएको छ । ती पालिकामा प्रतिनिधि छनौटका लागि निर्वाचनको तयारी भएको कार्कीले बताए ।
मोरङको विराटनगर महानगरपालिका,रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, सुन्दर हरैचा नगरपालिकामा सर्वसम्मत रूपमा अधिवेशन प्रतिनिधि छनौट भएको छ । यस्तै मोरङका बुढी गङ्गा, ग्रामथान,धनपालथान, जहदा, मिक्लाजुङ्ग गाउँपालिकामा पनि सर्वसम्मत प्रतिनिधि छनौट भएको छ ।
यस्तै सुनसरीमा ८ वटा पालिकामा अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । सुनसरीको बर्जू , भोक्राह, हरिनगर, कोशी , गढी र देवानगञ्ज गाउँपालिकामा सर्वसम्मत प्रतिनिधि छनौट भएको एमाले सुनसरीका अध्यक्ष रेवती रमण भण्डारीले बताए । यस्तै रामधुनी र दुहबी नगरपालिकामा पनि सर्वसम्मत प्रतिनिधि छनौट भएको छ ।
सुनसरीको इटहरी, धरान, इनरुवा र वराहक्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौटको प्रयास भइरहेको छ । तर अहिले सम्म सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेको भण्डारीले बताए । १२ वटा पालिकामा मध्ये ४ वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट हुन नसके निर्वाचन बाट भए पनि प्रतिनिधि छनौट गरिने भण्डारीले जानकारी दिए । सुनसरीबाट ९७ जना प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गर्नु पर्ने छ ।
एमाले कोशी प्रदेशको अधिवेशन यही असोज १२ र १३ गते विराटनगरमा हुँदै छ । अधिवेशनका लागि असोज ५ गते सम्ममा प्रतिनिधि छनौट सम्पन्न गरिसक्नु पर्ने एमाले कोशी प्रदेशले जनाएको छ ।