‘ब्युटी बोन’ को शल्यक्रियापछि फर्कियो ललितको मुस्कान, धुर्मुससँग यसरी गफिए – Nepal Press

‘ब्युटी बोन’ को शल्यक्रियापछि फर्कियो ललितको मुस्कान, धुर्मुससँग यसरी गफिए

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललितनारायण राजवंशीको शल्यक्रिया बीएन्डबी अस्पतालमा हिजो भयो । एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्को बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका थिए ।

राजवंशीको घाँटी र पाखुरा जोड्ने हड्डी (ब्यूटी बोन) भाँच्चिएको थियो । शल्यक्रिया सफल भएपछि राजवंशीको अनुहारमा मुस्कान फर्किएको छ । यद्यपि, उनले एसियन गेम्स खेल्न सक्ने छैनन् । उनी केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा रहनुपर्नेछ ।

राजवंशीलाई भेट्न कलाकार सीताराम कट्टेल धुर्मुस आज बीएन्ड बी अस्पताल पुगेका थिए । उनले शल्यक्रियापछि राजवंशी उत्साहित देखिएको बताए ।

धुर्मुसले भने, ‘मैले शल्यक्रियाअघि पनि भेटेको थिएँ । उहाँ अलिकति स्ट्रेसमा हुनुहुन्थ्यो । आज चाहिँ फ्रेस देखिनुभएको छ ।’

ललित र धुर्मुसबीच क्रिकेट तथा रंगशालाका विषयमा गफगाफ भएको थियो । ललितले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अधुरो रहेकोमा दुःखी भएको बताए ।

‘त्यो रंगशाला चाँडै बनेको भए नेपाली क्रिकेटलाई ठूलो टेवा पुग्ने थियो’, ललितले भने, ‘नेपालमा एउटा स्तरीय रंगशालाको ठूलो खाँचो छ ।’

ललितले आफ्नो एसिया कप खेल्दादेखि जिम्बाबेमा खेल्दासम्मको अनुभव धुर्मुससँग शेयर गरे । अन्तर्राष्ट्रिय स्टार खेलाडीहरु टेलिभिजनमा हेर्दा भन्दा प्रत्यक्ष भेट्दा फरक अनुभव गरेको उनले बताए ।

‘भारत र पाकिस्तानका खेलाडीहरुलाई हामीले सानैदेखि टीभीमा हेरेका हौं । उहाँहरु जस्ता स्टार खेलाडीले हामीसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कौतुहल थियो । तर, सबैजना सरल र मिलनसार हुनुहुँदो रहेछ’, ललितले भने ।

धुर्मुसले वेस्ट इन्डिजका खेलाडी जेसन होल्डरको बारेमा पनि सोधेका थिए । होल्डरले नेपाली खेलाडीहरुलाई टिप्स दिइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । ललितले होल्डरको सरलताबाट आफू एकदमै प्रभावित भएको बताए ।

‘उहाँ एउटा राम्रो खेलाडी हुनुको साथै असल मान्छे पनि हुनुहुँदो रहेछ’, उनले भने ।

धुर्मुसलाई नेपालले क्रिकेट खेलेका अन्तर्राष्ट्रिय रंगशालाहरुको विषयमा पनि चासो थियो । ललितले जिम्बाबेको रंगशाला नेपालको टीयू ग्राउन्ड जत्तिको पनि नरहेको बताए । उनका अनुसार श्रीलंकाको रंगशाला पनि सामान्य नै थियो ।

ललितले धुर्मुसलाई सानैदेखि उनका टेलिसिरियलहरु हेरेर हुर्किएको सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *