भोगाइको दुश्चक्र – Nepal Press

भोगाइको दुश्चक्र

मत अभिमतको द्वन्द्व पनि मत्थर हुँदै गएको छ । लाग्दो छ, आशाको वेग घट्दै गएको छ । शून्यभित्र नवीन घुलन भएर आकार ग्रहणको चरणमा छ । पलको हिसाबकिताबमा ग्राफ ओरोलो लागेको अनुभूति भइरहेको छ । आत्मानुभूतिको यो चरणमा घाउ बल्झिँदाको पीडाले जीवन थप निरर्थक बनेको छ ।

निख्खरमा दाख खोज्ने प्रयत्नमा जीवन खोज्ने अभिलाषा जागृत भएको छ । लाग्दो हो, यही अनुभूति सायद समयको त्यो तेजिलो पलमा अनुभूति भए जति जीवनमा यति धेरै यही समयमा निराशाको सामना गर्नुपर्ने थिएन । आभास हुनु, भोग्नु र कल्पना गर्नुको बीचमा धेरै असमानता रहेछ । बुझ्ने प्रयत्नको ढक्कन खोलिदिँदा त्यहाँभित्र अन्य थप वातावरणीय प्रभाव पर्ने कुरामा नजरअन्दाज गर्दा जीवन बोझिलो लाग्नु स्वाभाविकै रहेछ । जसको अनुभूति उमेर र भोगाइसँगै सामिप्य हुँदोरहेछ ।

असीमित चाहनाको उत्प्रेरक को ? समाज, महत्वाकांक्षा वा व्यक्तिको सोच ? यहीभित्र रुमल्लिएको जीवन दर्शनको पर्याय रहेछ । जहाँ असीमित आत्माहरु भड्किइरहेका छन् । त्यही असीमितताभित्र आफ्नो उपस्थिति जनाउन तँछाडमछाड गरिरहेका बग्रेल्ती आत्मा लालायित बनेको सन्दर्भमा थप कुनै आत्मा त्यसको पर्याय बन्न खोज्नु असामान्य हैन । पर्यायभित्रको पृथक जीवन ढाल्ने प्रयासस्वरुप बनेको यो आत्मामा थप निराशा पैदा हुनु जीवन दोषको एउटा भागमात्र हो । जुन भाग विभिन्न कालखण्डमा विभिन्न तवरबाट मञ्चन भइसकेका छन् । यो अविरल रहनेछ ।

असीमित चाहनाको उत्प्रेरक को ? समाज, महत्वाकांक्षा वा व्यक्तिको सोच ? यहीभित्र रुमल्लिएको जीवन दर्शनको पर्याय रहेछ । जहाँ असीमित आत्माहरु भड्किइरहेका छन् । त्यही असीमितताभित्र आफ्नो उपस्थिति जनाउन तँछाडमछाड गरिरहेका बग्रेल्ती आत्मा लालायित बनेको सन्दर्भमा थप कुनै आत्मा त्यसको पर्याय बन्न खोज्नु असामान्य हैन ।

जीवन दर्शनमा देखिने अर्को खतरनाक पक्ष भनेको अल्पबुझाइ पनि रहेछ । जहाँ हरेक यसको शिकार बनिरहेका छन् । अल्पज्ञान भयंकरम् । यो आफैंमा सामान्य लागे भने यसको क्षेत्राधिकारले समग्र जीवन नै घुमिरहन्छ । पलको निरर्थकताले गिज्याउँदै गर्दा तादात्म्य मिलाउने प्रयत्न सधैं प्रयत्नमा नै रहिदियो । अन्धकारको पनि मात्रा असन्तुलित हुन्छ क्यारे ! हिजोको अन्धकार र आजको अन्धकारमा मात्रात्मक फरकपनको अनुभूति भइरहेको छ । फुलेको दारी र केशले पनि जीवनको परिवर्तनको आभासमा सहज थपेको छ । विचार र आफैंमा स्वावलम्बी विश्वासले मूर्त रुप नलिँदासम्म जीवन सधैं कर्कलोको पानी जस्तै अस्थिर हुने रहेछ । सधैं ढलपल ढलपलमा गुज्रिएको जीवनको अर्थमा पनि ढलपलिएको आभास हुनेरहेछ ।

गतिको मापनमा सदैव समान हुने रहेछ । फरक भनेको यसको विविधतामात्र रहेछ । यसको आयाम बुझ्न नसक्ने मस्तिष्क चेतनाको मात्राले निर्धारण गर्ने रहेछ । लोलाएको नयनमा पनि चम्किलो आशा, त्यो आशा फगत जीवनपयोगी भन्दा पनि क्रूरतर्फ अग्रसर बनिदिँदा जीवनका उत्तरार्द्धमा असन्तुष्टि र बेचैनीको कारक बन्दोरहेछ । भएको र हुने भनेको सारमा यही रहेछ । आत्माको हुँकार पनि कस्तो कस्तो ? सबैलाई अल्पज्ञानको गहिरो छाप, त्यही छापलाई जीवनभर बोकेर हिँडिरहने दुस्साहस पनि कम्ती गाह्रो नहोला ।

त्यही दुस्साहसको मर्ममा छटपटिनुको विकल्प नहुने रहेछ । ऐनाको समीपमा पुगेर सौन्दर्य खोज्नेहरुको भीडमा ऐनाको प्रतिविम्बमा आत्मा हेर्ने नयनहरु किञ्चित जन्मेनन् । जीवन र समाज पढ्ने, जीवनको आत्मा बुझ्ने प्रयास कसैले गरेनन् । मायाको यो सागरमा निस्वार्थ माया गर्नेहरुले जब स्वार्थमा जीवनको सफलता ठाने, तब मानवता हराउँदै गयो । समीपमा आएर मायाको अनुभूति खोज्नेहरु स्वार्थको जञ्जाललाई नै सर्वोपरि देख्न थाले ।

आवश्यकभन्दा बढी महत्वाकांक्षाको वेलगाम दौडले किचेर थचक्क धर्तीमा रन्थनिएर भाग्यलाई दोष दिएर आत्मरतिमा रमाउनु नै जीवनको महत्वपूर्ण अंश बनेको छ । विगतको घटनाक्रमबाट सच्चिएर अगाडि बढ्ने र बढाउने ल्याकत अब छैन ।

नदीको किनारामा जीवन खोज्नेहरुको नयनमा आशक्ति प्रस्टै झल्कियो । कल्पना पनि कस्ता कस्ता ? आशामा जीवन खोज्नेहरुको दैनिक दिनचर्या नदीमा जीवन बिताउनेहरुको निश्चलतामा झल्कियो । जसको सपना नदीको समीपमा थियो । चाहना र आवश्यकता त्यही नदीबाट पूरा गर्ने गहिरो आत्मविश्वासमा थियो ।

आवश्यकताको पनि मात्रा फरक फरक हुने रहेछ । दुई छाक टार्ने कसैको मुख्य आवश्यकता बनेको सन्दर्भमा निष्पट एकाग्रताले निर्ममताका मतियारहरु यही धर्तीमा विराजमान छन् । हिजोको घडी पलामा पनि यति धेरै असमानता । लाग्छ, स्वार्थ र अनुकूलको म पर्याय हुँ । जब प्रतिकूल हुन्छु तब जीवनको अर्थ खोज्छु । जब अनुकूलमा समय बितिरहन्छ तब मलाई जीवनको अर्थको आत्मानुभूति नै हुँदैन । यही रहेछ स्वार्थको प्रतीक । जुन ममा सवैभन्दा बेसी छ । यसैमा मलाई चर्को गर्व छ ।

आवश्यकभन्दा बढी महत्वाकांक्षाको वेलगाम दौडले किचेर थचक्क धर्तीमा रन्थनिएर भाग्यलाई दोष दिएर आत्मरतिमा रमाउनु नै जीवनको महत्वपूर्ण अंश बनेको छ । विगतको घटनाक्रमबाट सच्चिएर अगाडि बढ्ने र बढाउने ल्याकत अब छैन । आफैंमा अल्पज्ञानको छापले परेको विस्मृति अब बाँकी जीवनका सहयात्री बन्ने कुरामा कुनै शंका छैन । फरक यति हो कि हिजो असीमित महत्वाकांक्षा जीवनका सहयात्री थिए भने आज त्यही पल सहयात्री बनेको छ । आखिर जीवनका पलहरुमा सहयात्रीहरु विभिन्न परिभाषामा परिभाषित भएर समीपमा रहिरहने रहेछन् ।

हिजो शीतल लाग्ने पल आज बिझाइरहेका छन् । हिजोका मिठास पलहरु जीवनभर रुवाउने अवशेष बनेका छन् । जीवन भोगाइ आफैंमा समयका दृश्चक्र हुन् । जसबाट सबै गुज्रनुको विकल्प छैन । म त्यही विकल्पको अनुसरण गर्न अभ्यस्त बनिरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *