क्यान केन्द्रीय सदस्यमा तीनजना निर्विरोध, बाँकी १० सिटका लागि को-को उम्मेदवार ? (सूची) – Nepal Press

क्यान केन्द्रीय सदस्यमा तीनजना निर्विरोध, बाँकी १० सिटका लागि को-को उम्मेदवार ? (सूची)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । १७ सदस्यीय कार्यसमितिका लागि ३१ जनाले मनोनयन दर्ता गरेका छन् ।

क्यानको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा एक–एक जनाको मात्रै मनोयन परेकाले उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यषमा पदमबहादुर खड्काले मनोनयन दर्ता गरेका हुन् । सचिवमा भने पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी परेकाले उनीहरुबीच चुनावी प्रतिस्पर्धा हुने छ ।

महिला केन्द्रीय सदस्यको एउटा कोटामा एकजनाको मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी दिने जयन्ती देवी भट्ट निर्विरोध केन्द्रीय सदस्य भएकी छन् ।

प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य चयन हुने क्यानको विधानमा व्यवस्था छ । त्यसअनुसार प्रतिनिधिहरुले सात प्रदेशबाट एक–एक जनालाई भोट हाल्नुपर्छ । लुम्बिनी प्रदेशबाट प्रदीप मजगैंया र गण्डकी प्रदेशबाट श्रीधर केसीको मात्र उम्मेदवारी परेको छ । उनीहरु दुवै निर्विरोध भएका छन् ।

बाँकी पाँच प्रदेशका पाँच केन्द्रीय सदस्यका लागि २–२ जनाको उम्मेदवारी परेको छ । कोशी प्रदेशबाट अर्जुन पौडेल र सुनील कुमार पौडेल तथा मधेस प्रदेशबाट माधवकुमार कर्माचार्य र मोहम्मद दाउज अन्सारीले उम्मेदवारी दिएका छन् । बाग्मती प्रदेशबाट सुदीप पिया र दिवाकर घलेको उम्मेदवारी परेको छ । यस्तै, गण्डकी प्रदेशबाट देवेन्द्र प्रजु र सुदीप शर्मा तथा सुदुरपश्चिम प्रदेशबाट विक्रम सिंह र हरी रेग्मीले मनोनयन दर्ता गराएका छन् ।

बाँकी ५ जना खुल्ला केन्द्रीय सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमा दुर्गाराज पाठक, धिरेन्द्र सावद, नरेश राणा, कृष्णप्रसाद श्रेष्ठ, विरेन्द्रबहादुर चन्द, सुनील कार्की, कैलाश विष्ट, सुनील सिंह हमाल, आयुष श्रेष्ठ, प्रकाश गिरी, प्रकाश पण्डित, करन महतरा क्षेत्री र ऋषिराम गौतम रहेका छन् ।

क्यानको निर्वाचन केहीबेरपछि सुरु हुने छ । आजै नतिजा आउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर