एमाले गण्डकी अधिवेशन : प्रतिनिधिमा ४ केन्द्रीय सदस्यको उम्मेदवारी, अध्यक्ष बन्ने चाहना – Nepal Press

एमाले गण्डकी अधिवेशन : प्रतिनिधिमा ४ केन्द्रीय सदस्यको उम्मेदवारी, अध्यक्ष बन्ने चाहना

पोखरा । असोज १५ र १६ गते हुने नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन प्रतिनिधि बन्न ४ केन्द्रीय सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, रामशरण बस्नेत र राजीव पहारीले अधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

मायानाथ अधिकारीले लमजुङको दोर्दी गाउँपालिका, थापा र पहारीले कास्कीको पोखरा महानगरपालिका, बस्नेतले गोरखा नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । लमजुङका अधिकारी यसअघि गण्डकी प्रदेश सभा सदस्य थिए ।

गत निर्वाचनमा बस्नेत गोरखाबाट प्रतिनिधि सभा र पहारी कास्कीबाट प्रदेश सभा निर्वाचनमा पराजित भएका हुन् । कृष्ण थापा गत पोखरा महानगरपालिकाको प्रमुखमा पराजित भएका थिए ।

उम्मेदवारी दिएका चारै जना केन्द्रीय सदस्य प्रदेश अधिवेशनका लागि सर्वसम्मत भने भएका छैन । सर्वसम्मतका लागि प्रयास भइरहेको एमाले प्रदेश प्रचार प्रसार उपसमितिले जनाएको छ ।

अधिवेशनका लागि प्रदेशभरका सबै स्थानीय तहबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएका छन् । केही स्थानीय तहमा सर्वसम्मत भएको र धेरै स्थानीय तहमा सर्वसम्मतको प्रयास जारी रहेको प्रदेश प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले बताए । प्रदेशभरबाट ८ सय हारहारी प्रतिनिधि चयन हुने आचार्यले उल्लेख गरे ।

पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनमा एमाले उपमहासचिव एवम् गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीबीचको समूहको प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । त्यस कारण पनि यी दुवै पक्ष आफू अनुकूलका प्रतिनिधि छनोट गर्न लागिपरेका छन् ।

अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ४ जना केन्द्रीय सदस्यलाई प्रदेश कमिटी अध्यक्षको आंकाक्षीका रुपमा पनि हेरिएको छ ।

एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुने व्यवस्था छ ।

त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य प्रदेश अध्यक्षको उम्मेदवार बनेको उनीहरू स्वतः पदमुक्त हुनेछन् । विधानको धारा ६७ को ९४० मा यो व्यवस्था छ । ‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ उक्त धारामा लेखिएको छ । सोहीअनुसार यी जोकोही उम्मेदवार बन्छ, उसको केन्द्रीय सदस्यको पद रिक्त हुनेछ ।

एमाले केन्द्रीय सदस्य बस्नेत, थापा र पहारी स्थायी कमिटी सदस्य अधिकारी निकट मानिन्छन् । खगराज अधिकारी ‘समूह’ बाट यीमध्ये एकजनामा उम्मेदवार बन्ने अधिकतम सम्भावना रहेको उनी निकट स्रोत बताउँछ । यी ३ ले जित्ने अवस्थामा नरहेमा मात्रै अधिकारी ‘समूह’ ले मायानाथलाई निकट दिने सम्भावना रहेको एक एमाले नेताले बताए ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने प्रतिनिधि छनोटपछि मात्रै निर्णय लिने मनस्थितिमा देखिन्छन् । उनी हालका अध्यक्ष नवराज शर्मालाई नै दोहोर्‍याउने पक्षमा रहेको पनि उनीनिकट स्रोत बताउँछ । शर्माले केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफू अध्यक्ष बन्न चाहेको बताएका थिए ।

शर्मासँगै हालका सचिव धनज्वय दवाडी पनि पृथ्वीसुब्बा गुरुङ ‘समूह’ बाट उम्मेदवार बन्ने सम्भावना उत्तिकै रहेको स्रोतको दाबी छ । उपसचिव रश्मि आचार्य पनि अध्यक्षका आकांक्षी छन् ।

पोखराको अमरसिंह चौरमा असोज १५ गते हुने उद्घाटन सत्रमा ५० हजारको संख्यामा कार्यकर्ता उतार्ने एमाले प्रदेश कमिटीको लक्ष्य छ । बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ । हाल प्रदेश कमिटी ५ सय ५९ जनाको छ । अब १ सय ६५ जनाको कमिटी बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर