रुपन्देहीका ठूला होटलहरुले बनाए आफ्नै संगठन – Nepal Press

रुपन्देहीका ठूला होटलहरुले बनाए आफ्नै संगठन

रुपन्देही । रुपन्देहीमा रहेका ठूला होटेल व्यवसायीहरू मात्रै आबद्ध छुट्टै नयाँ संस्था गठन भएको छ ।

जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधा दर्जनभन्दा बढी संस्था क्रियाशील भए पनि पर्यटक स्तर र तारे होटलहरु मात्रै आबद्ध जिल्ला व्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रूपमा काम गर्ने गरी होटल एशोसिएशन अफ रुपन्देही नेपाल गठन भएको हो ।

व्यवसायीहरूको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठक अध्यक्ष रहेको होटल एशोसिएशन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन गरेको हो ।

होटल एशोसिएशन नेपाल (हान) मा आबद्ध हुने गरी गठन भएको एशोसिएशनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर,देव दह, सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पाँचतारे सहित करिब ५० वटा होटेल आबद्ध रहेका छन् ।

आफ्नै प्रोपर्टी (जग्गा) मा बनेका र अधिकांश एकल लगानीका स्तरीय होटेलहरु मात्रै एशोसिएशनमा आबद्ध रहेका छन् ।

एशोसिएशनको उपाध्यक्ष दिलीप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रणदा दीक्षित तथा सदस्यहरूमा प्रवीण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन् । एशोसिएशनमा अन्य होटेलहरु पनि थपिने क्रममा रहेका संस्थाले जनाएको छ ।

एशोसिएशनले व्यावसायिक एकता र सहकार्य गर्दै आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउने अध्यक्ष पाठकले बताए ।
होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन प्राथमिकताका साथ काम गर्ने पाठकले बताए ।

‘उद्योगको मान्यता नपाउँदा करोडौँदेखि अर्बौँ लगानी भएको व्यवसायले सरकारबाट विद्युत् महसुल लगायतका कुरामा सहुलियत र राहत पाउन सकेको छैन’–अध्यक्ष पाठकले भने–‘सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर पर्यटक स्तर र तारे होटेलहरूलाई उद्योगको मान्यता दिन पनि कन्जुस्याइँ गर्नु विडम्बना हो ।’

कोरोना महामारीपछि थला परेको होटेल व्यवसाय आर्थिक मन्दीले थप संकटमा परेको तर सरकारले कुनै राहत दिन नसकेको अध्यक्ष पाठकले गुनासो गरे । व्यावसायिक एकता र सहकार्य गर्दै व्यवसायलाई चलायमान र मर्यादित बनाउन सरकारसँग नीतिगत सुधारका लागि पहल गर्ने उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण र पर्यटन सम्बन्धी नीति निर्माणमा होटेल एशोसिएशनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसँग पहल गर्ने एशोसिएशनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष दिलीप गौचनले बताए ।

भेलामा सहभागी संस्थाका सल्लाहकारहरू एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन,बुटवल–नारायणगढ सडक निर्माण छिटो पुरा गराउन सरकारलाई दबाब दिनुपर्ने खाँचो औँल्याए ।

बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुँदा र विमानस्थल पूर्ण क्षमतामा नचल्दा ५० प्रतिशत व्यापार घटेको व्यवसायीको गुनासो छ ।

रुपन्देहीका ठूला होटलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म) को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।

भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दुःख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारु २५ हजार मात्र साथमा लिएर हिँड्न पाउने प्रावधान अव्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको महासचिव विकास पाण्डेले बताए ।

अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुँदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन एशोसिएशनले पहल गर्ने कोषाध्यक्ष पदम केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर