कपिलवस्तुमा वाणगंगा नदीमुनिकै जग्गा बिक्री, कमाउ धन्दामा भूमाफिया र जनप्रतिनिधि – Nepal Press

कपिलवस्तुमा वाणगंगा नदीमुनिकै जग्गा बिक्री, कमाउ धन्दामा भूमाफिया र जनप्रतिनिधि

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका- ६ मा जग्गा भूमाफिया र जनप्रतिनिधिको मिलेमतोमा बाणगंगा नदीमुनिको जग्गा बिक्री भएको छ ।
हाल वाणगंगा नगरपालिका- ६ साविक कोपवा गाविस- ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल जेठ ४ गते बिक्री गरिएको हो । जुन जग्गामाथि हाल नदी बगिरहेको छ ।

वडाध्यक्ष करुण टण्डनको सिफारिसमा नदी क्षेत्रको जग्गा बिक्री गरिएको सूचना पाएपछि लामो समयदेखि सो जग्गा संरक्षणमा लागेका स्थानीय आश्चर्यमा परेका छन् ।

वाणगंगा नगरपालिका- ६ अमौली निवासी जोखन थारुको नाममा रहेको १० कठ्ठा १३ धुर जग्गा ५० वर्ष पहिलेबाट नहर क्षेत्रमा पर्नेगरी कायम गरिएको थियो । वडाध्यक्ष टन्डनले जेठ ३ गते चलानी नम्बर १५४३ मा उक्त जग्गालाई कृषि क्षेत्र भनी प्रमाणित गरी बिक्रीका लागि मालपोत कार्यालय तौलिहवामा सिफारिस दिएका थिए ।

उक्त जग्गा श्रेस्तामा व्यक्तिको नाम देखिए पनि ५० वर्ष पहिलेदेखि नदी बगिरहेको र नहरको जग्गा कायम भएको स्थानीयको भनाइ छ । भूमाफियाहरुले यसअघि पनि विभिन्न प्रलोभन देखाएर उक्त जग्गा बिक्रीका लागि प्रयास गरे पनि यसअघिका जनप्रतिनिधि र कर्मचारीले नदी क्षेत्र पर्ने भन्दै रोक लगाएका थिए ।

अहिले वडाध्यक्षको योजनामै यो जग्गा बिक्री भएको स्थानीयको आरोप छ । बगिरहेको खोलाको जग्गाको मूल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालय कपिलवस्तुबाट बुटवल उपमहानगरपालिका १० बस्ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा बिक्री भएको राजीनामापत्रमा स्पष्ट देखिन्छ । तर, जग्गा पुर्जाधनी बेचेका थारुले जम्मा २ लाख ५४ हजार बुझेको दाबी गर्छन् ।

प्रमाण विवरणअनुसार वाणगंगा- ६ साविक अमौली क्षेत्रमा रहेको ढिण्डु थारुको छोरा जोख्खन थारुको नदी उकासमा रहेको जग्गालाई कृषि वर्गीकरण भन्दै कृषि क्षेत्र रहेको गलत सिफारिस गरी बिक्री गरिएको हो । तर, यो जग्गा वाणगंगा सिंचाइ आयोजनादेखि करिव ४ सय मिटर तल नदीमा छ ।

यो विषय बिक्रीका लागि सिफारिस दिने वडाध्यक्ष करुण टण्डन पनि स्वीकार गर्छन् । त्यस क्षेत्रमा २०३५ सालमा सिंचाइ नहर बनेदेखि नै केही किसानका नाममा रहेका जग्गा नदी बहाव क्षेत्रमा कायम गरिएको थियो ।

उक्त जग्गा आफूले १० कठ्ठा ३ धुरको जम्मा २ लाख ५० हजारमा बिक्री गरेको जग्गाधनी थारुले बताएका छन् । तर, मालपोतमा भने उक्त जग्गा १६ लाखमा बिक्री गरेको कागजात बनाइएको छ । सो क्षेत्रमा खेतीयोग्य जमिनको मूल्य प्रतिकठ्ठा न्यूनतम ५ देखि १० लाखसम्ममा खरिद बिक्री हुँदै आएको स्थानीय बताउँछन् । यसरी वर्षौंदेखि नदी बग्दै आएको जग्गा जनताले आशाभरोसा गरेकै जनप्रतिनिधिको मिलेमतोमा बिक्री भएपछि उनीहरुको नैतिकतामा समेत प्रश्न उठेको छ ।

त्यहाँ सिंचाइ नहरको मापदण्डअनुसार १ किलोमिटर तल र माथिबाट नदीजन्य पदार्थ निकासी संकलन गर्न नपाउने व्यवस्थासँगै संरक्षित भएपछि नदीजन्य पदार्थ थुपिँदै आएको थियो । सोही नदीजन्य पदार्थमा केही भूमाफियाहरुले आँखा गाडेपछि नदी क्षेत्रमा रहेका किसानहरुले जग्गा बिक्रीका लागि तयार भई बयानसमेत लिएका थिए ।

तर, तत्कालीन गाविस सचिवसमेत रहेका कृष्ण खनालले उक्त जग्गामा नदी रहेको सिफारिस गरेपछि जग्गा बिक्री वितरण रोकिएको बताउँछन् । उनले भूमाफिया र स्थानीयको टीमले पटक पटक दबाब दिँदै कृषि क्षेत्र भनी सिफारिस गरिदिन दबाब दिँदासमेत आफूले इन्कार गरेका कारण रोकिएको बताए ।

स्थानीय तहको पुनःसंरचनापछि यस अगाडिका वडाध्यक्ष सुकदेव थारुले समेत सिफारिस दिनबाट रोक्दै आएका थिए । हाल नदी आसपास रहेको जग्गा बिक्री वितरण गर्न नपाइने प्रावधान रहेको छ । तर, हालका वडाध्यक्ष टण्डन निर्वाचित भई आएको डेढ वर्ष नपुग्दै नदीको जग्गा बिक्री गर्न वडाध्यक्षकै मिलेमतोमा गलत सिफारिस हुनु गम्भीर लापरबाही भएको भन्दै स्थानीय आश्चर्यमा परेका छन् ।

वाणगंगा नगरपालिका- ६ भग्लापुरका स्थानीय अगुवा लक्ष्मण खनालले २०२८ सालमा सिंचाइ संरचना निर्माण भएपछि छुट्टयाइएको नदीको जग्गालाई कृषियोग्य भनेर सिफारिस गरिनु गम्भीर अपराध भएको बताए । सो क्षेत्रमा पहिलेदेखि नै भूमाफियाहरुले नदीजन्य पदार्थमा आँखा लगाउँदै आएको र त्यसलाई बचाउन आफूहरुले खबरदारी गर्दै आएकोसमेत बताए ।

झुक्याएरलाई म फसाए, कसरी रोक्ने भनेर सीडीयो कार्यालय जान्छु: वडाध्यक्ष टण्डन

वडाध्यक्ष टण्डनले पहिले आफूले त्यस प्रकारको कुनै सिफारिस नगरेको भन्दै पत्रकारसँग उम्कन खोजेका थिए । तर, सबै प्रमाण जुटेपछि आफूलाई जग्गाधनीले अन्तैको जग्गा भनेर झुक्याएर सिफारिस लिएर फसाएको दाबी गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले अहिले बिक्री भएको जग्गा ५० वर्ष पहिले नै वाणगंगा नदी हिँडेको र सिंचाइ आयोजनाको क्षेत्रमा भएको प्रस्ट भएको तर सिफारिस लिने बेलामा जग्गाधनीले अन्तैको जग्गा भनेर फसाएको स्वीकार गर्दै आफू कुनै प्रलोभनमा नपरेकाले रोक्न पहल थाल्ने बताए ।

‘जनप्रतिनिधि हुँ, कुनै लोभमा परेर यो काम गरेको छैन, सबै प्रमाणसहित आएकाले स्थानीयको काम नरोकौं भनेर सिफारिस दिएको हुँ, गल्ती भयो । नदी हिंड्ने जग्गा बेच्न सिफारिस दिएर, सबै सेवाग्राहीलाई शंका गर्ने कुरा पनि भएन, काम रोक्न पनि भएन, कागजी प्रमाण लिएर आएकाले सिफारिस दिएको साँचो हो । तर, अब यसलाई रोक्न म मालपोत र सिडियोसँग जान्छु’, वडाध्यक्ष टण्डनले भने, ‘पहिले नदीको आकार ठूलो थियो, उनीहरुको पुर्खादेखि नै पुर्जा उनीहरुको नाममा थियो, कर तिरेका थिए, त्यसैले सिफारिस भएर पास भएको हो, एक व्यक्तिको नाममा भएको पुर्जा अर्को व्यक्तिको नाममा गएकोमात्र हो । जग्गा भोगचलन गर्न पाउने अवस्था छैन ।’

उनले त्यो जग्गा सिंचाइ आयोजनामा परेको, नदीको बहावमै रहेको प्रस्ट छ तर लिने मान्छेले के स्वार्थमा लियो भन्ने आश्चर्यमा परेको बताए ।

‘नराम्ररी फसें, रोक्न लागिपर्छु । सायद नदी छेउको जग्गा बिचौलियाले क्रसर, नदीजन्य पदार्थको बिक्री वितरण, बंैकमा पुर्जा देखाउनकै त लिए होलान् । किन्ने मान्छेलाई मैले देखेको छैन । बेच्ने मान्छे त सेवाग्राही हुन् वडाकै’, टण्डन भने, ‘बिक्री भएको त्यो ठाउँमा खोलो हिँडेको र सिंचाइको त्यति धेरै लगानी भएकाले कसैले केही गर्न नसक्ने तर खोलामा लगेर पैसा हाल्नु किन्नेको पनि नियत खराब हो ।’

उनले धेरै पहिलेदेखि बसेका जग्गाधनीले झुक्याएको आरोप लगाए ।

‘उनीहरुका बाउबाजेले खेतीपाती गरेको जग्गा हो । पछि नहर बनेपछि रोकिएको रहेछ । पहिले जग्गाको महत्व थिएन, धेरै पटक आएका रहेछन् । कानूनी हिसाबले पुर्जा उनीहरुको नाम भए पनि व्यवहारिक रुपमा नदी क्षेत्र हो । तर, पहिले पनि व्यक्तिको नाममा थियो अहिले पनि व्यक्तिको नाममा भएको हो’, टण्डनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर