सरकारले आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरुको चेतावनी – Nepal Press

सरकारले आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरुको चेतावनी

काठमाडौं । १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरुले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग अछाम स्थायी घर भएका पूर्वलडाकु एवं घाइते धीरेन्द्र भण्डारीले उपप्रधान एवम गृहमन्त्री श्रेष्ठसमक्ष राखे ।

उनले घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने मागसमेत पेश गरे ।

पूर्वलडाकु एवं घाइते वीरबहादुर बुढाले चार महिनादेखि आफ्ना समस्या समाधानका लागि सिंहदरबारको ढोका चिहाइरहेको बताए । उनले आफ्नो शरीरमा देखिने घाउ नभए पनि सञ्चो भने नभएको बताए ।

चितवन घर भएका पूर्वलडाकु तथा घाइते शंकर पौडेलले आफू जनयुद्धको घाइते भएर पनि राज्यले उपचार नगर्दा घरजग्गा बेचिसक्दा पनि उपचार पूरा हुन नसकेको कारण अहिले डिप्रेसनको औषधि सेवन गरिरहेको सुनाए ।

जिल्ला प्रशासन कार्यालयमार्फत दुई वर्षअघि आफ्नो नाम जनयुद्धको घाइतेको रुपमा गए पनि गृह मन्त्रालयमा पुग्दा आफ्नो नाम गायब भएको उनले गुनासो गरे ।

बर्दिया घर भएका पूर्वलडाकु एवं घाइते नरवीर दमाईले नक्कली घाइते र अपांगता भएका व्यक्तिले जीवन निर्वाहभत्ता तथा उपचार सुविधा पाइरहेको देख्दा जीवनदेखि नै आजित भइ सिंहदरबार दक्षिणी गेट अगाडि दुई पटक आत्मदाहको प्रयास गरेको सुनाए ।

उनले पार्टी, नेता र सरकारको सिफारिसमा घाइते केही पनि नभएका व्यक्ति घाइते तथा अपांगता भएको सूचीमा परेकाले नेपाल प्रहरीमार्फत घाइते तथा अपांगता भएकाको पुनरावलोकन तथा अनुसन्धान गर्न गृहमन्त्री श्रेष्ठसँग माग गरे ।

रामेछापको दोरम्बा हत्याकाण्डमा घाइते भएर आँखा कम देख्ने र कान पनि कम सुन्ने पूर्वलडाकु तथा घाइते चेतन सिग्देलले आफ्नो तिलगंगा आँखा अस्पतालले उपचार सम्भव नभएको भनिसकेकाले राज्यले जिम्मा लिएर उपचार गर्नुपर्ने माग गरे ।

तनहुँ स्थायी घर भएका पूर्वलडाकू रेशम घिमिरेले आफ्नो शरीरमा अहिले पनि गोलीका तीन वटा छर्रा रहेका कारण नियमित औषधि खाइरहेको तर, जिल्लाबाट ३५ प्रतिशत अस्वस्थ देखिएकोमा गृह मन्त्रालयमा पुगेर १५ प्रतिशत अस्वस्थ झारेर अन्याय भएको बताए ।

एउटा आँखा नदेख्ने अर्का पूर्वलडाकु तथा घाइते रमेश कालिकोटेले एक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुरा राखेकै कारण आफ्नो प्रधानमन्त्री कार्यालय प्रवेश अस्थायी पास नै सचिवालयमा रहेका कर्मचारीले खोसेको गुनासो गरे ।

आफ्नो उपचार नेपालमा सम्भव नभएकले मेडिकल बोर्डले सिफारिस गरिसकेकाले राज्यले उपचार गर्नुपर्ने माग गर्दै उनले यदि आफूसहित पूर्वलडाकू एवं घाइतेका माग सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतवानी दिए ।

उनले माओवादी पार्टी कार्यालय र त्यहाँको जग्गा बेचेर भए पनि आफूहरुको उपचार गर्नुपर्ने माग गरे ।

पूर्वलडाकु तथा घाइतेहरुको कुरा सुनिसकेपछि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न दलसँगको समीकरणको सरकार बनाएका कारण पूर्वलडाकु तथा घाइतेका समस्या समाधान गर्न नसकिएको स्वीकार गरे ।

आफ्नो पार्टी नेतृत्वको सरकारमा भएका बेला पूर्वलडाकु तथा घाइते र अपांगता भएका व्यक्तिको पक्षमा निर्णय गर्दा अदालतले रोक लगाएका कारण सम्बोधनमा समस्या भइरहेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड विदेश भ्रमणमा रहेको र फर्किनेबित्तिकै गम्भीर रुपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर