पठाओको ५ वर्षे यात्राका १३१ जना राइडर सम्मानित, कमिसन पनि घट्ने – Nepal Press

पठाओको ५ वर्षे यात्राका १३१ जना राइडर सम्मानित, कमिसन पनि घट्ने

काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍ (फुड डेलिभरी पर्सन)का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ सुरू गरेको छ ।

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा आइतबार पठाओले उत्कृष्ट चालकहरूलाई सम्मान गरेको हो । पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ जना उत्कृष्ट चालक तथा पठाओ हिरो छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मान गरिएको छ ।

कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमण्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरी सम्मान गरिएको हो ।

राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० देखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको छ ।

सम्मान कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउन एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए ।

उनले भने, ‘अब हामी चाँडै थप ५-६ वटा शहरमा जाँदैछौं ।’

पठाओले मुलुकको कुल जीडीपीमा वार्षिक १८ विलियनको योगदान गरिरहेको उनले सुनाए ।

यस्तै पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुट पाइने जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आवद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौं उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरुप कम्पनीका तर्फबाट उपहार भएको थापाले जानकारी दिए ।

प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि ‘पठाओ दशैं महोत्सव’ सुरू गर्ने घोषणा गरे । दशैं महोत्सवअन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसनसमेत घटाउने छ ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक)को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तीमा १ प्रतिशतसम्म हुन आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर