बुटवलमा २८७ प्रहरी जवान दीक्षित – Nepal Press

बुटवलमा २८७ प्रहरी जवान दीक्षित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दीक्षान्त समारोह भएको छ ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितिमा २८७ जना जवानलाई दीक्षित गरिएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए ।

पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतीपूर्ण भएको बताउँदै उनले सोहीअनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जन गरी उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए ।

तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गरे ।

दीक्षान्त समारोहमा तालिमका सर्वोत्कृष्ट प्रहरी जवान प्रकाश बैजाली मगर, दोस्रो बनेका विनोद आचार्य र तेस्रो स्थान हासिल गर्ने सिर्जना थापालाई सम्मान गरिएको थियो । तालिममा प्रशिक्षहरु प्रहरी निरीक्षक निरबहादुर बानियाँ, प्रहरी सहायक निरीक्षक सविना भट्टराई, प्रहरी हवल्दार भीमबहादुर दर्लामी तथा प्रहरी हिमाल पुनलाई पनि सम्मान गरिएको थियो ।

२३४ दिनसम्म सञ्चालन भएको प्रहरीको आधारभूत तालिममा १३१ ले पहिलो, १५३ ले दोस्रो र ३ जनाले तेस्रो श्रेणी हासिल गरेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *