एसियाली खेलकुद : प्रदीपको विजयी सुरुवात – Nepal Press

एसियाली खेलकुद : प्रदीपको विजयी सुरुवात

काठमाडौं । चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गरेका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।

आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा टज्ञटविष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६-० र ६-० को ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसंग ०-६ र १-६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६-२ र ६-३ ले चुके ।

सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

बक्सिङ : संगीता, दीपक र मिनु पराजित

बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् । आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५-० अंक ले पराजित गरेकी हुन् ।

त्यसैगरी, पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५-० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासंग ५-० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबै भन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष ७ र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।

रग्बी : नेपालको चुनौती समाप्त

रग्बी सेभेन्समा नेपालको चुनौती आइतबार समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।

युएईले नेपाललाई ५५-७ ले पराजित गर्यो । नेपालका लागि विक्रम पुरीले १ कन्भर्सनबाट २ तथा पुजन फेवालीले १ ट्राइबाट ५ स्कोर गरे । त्यस्तै आयोजक चीनले नेपाललाई ६५-० तथा अफ्गानिस्तानले नेपाललाई ४१-० ले हरायो । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।

उसु : विजयी सातौं स्थानमा

हाङझाव एसियाडको उसुमा १३ औं सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौं स्थानमा रहे । विजयले ९.७०३ अंक ल्याउदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौं भएका हुन् ।

यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याए । रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९.७६० ल्याए । सबिता राईले ८.७९६ अंक ल्याउँदा उनी १४ औं स्थानमा खुम्चिइन् ।

उसुको सान्सौं (फाइट) मा एलिना चौधरी र रोहित चुनारो पराजित भए । महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसोर्यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गीस्तानका एमानबेकोभसँग अभाजबेकसँग २-० ले पराजित भए ।

सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसंग २-० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसंग क्वाटरफाइनलमा पराजित भएपछि पदक कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुके ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *