बेतबाँसका फर्निचर उत्पादनमा जम्दै दाङका नारायण, भन्छन्- कमाइ मनग्ये हुन्छ – Nepal Press

बेतबाँसका फर्निचर उत्पादनमा जम्दै दाङका नारायण, भन्छन्- कमाइ मनग्ये हुन्छ

रुपन्देही । पूर्वी नेपालमा चलनचल्तीमा रहेको बेतबाँसका फर्निचर सामग्रीहरू पश्चिमतिर पनि उत्पादन हुन थालेको छ । यसतर्फ उपभोक्ता पनि आकर्षित हुन थालेका छन्  ।

अहिले बेतबाँसबाट बनेका मुढा, कुर्ची र सजावटका सामानहरू धेरै प्रयोग आएका छन् । पछिल्लो समय बेतबाँसकै सोफा, टेबललगायतका आधुनिक उत्पादनहरु बजारमा आएका छन् । सजावटका दृष्टिले बेतबाँसका उत्पादन आर्कषक छन् । लगानीमा पनि अन्य आयातित फर्निचरभन्दा सस्तो, बलियो र हलुका हुने भएकाले अहिले उपभोक्ताहरुको रोजाइमा पर्न थालेका छन् ।

सात वर्षअघि दाङका नारायण वलीको पूर्वी नेपाल घुम्न जाँदा यस्तै वस्तुमा नजर पर्‍यो । त्यसबाट लोभिएका उनले दाङमै बेतबाँसका सामग्रीहरुको व्यवसायिक उत्पादन सुरु गरे । करिब ५ वर्ष वली एक्लैले यो व्यवसाय अघि बढाए । अहिले उनलाई बुटवलका उद्यमी भुपेन्द्रबहादुर क्षेत्री (हरि)ले साथ दिएका छन् । वलीले २०७३ चैतमा स्थापना गरेको अम्बिकेश्वरी बेतबाँस फर्निचर उद्योगका उत्पादन अहिले धेरैको रोजाइ बन्न थालेको छ  । जसअनुसार उनले लगानी पनि क्रमशः बढाउँदै लगेका छन् ।

उनले जनताको रोजाइमा परेका स्वदेशी उत्पादन सरकारी कार्यालयले प्रयोगमा नल्याएर विदेशी कम्पनीका फर्निचर प्रयोगमा ल्याउँदा भने आफ्नो मन खिन्न हुने बताउँछन् ।

‘स्थानीय सरकार, यहाँका संघसंस्था तथा नियामक निकायले ध्यान दिए यस्ता उद्यमका कच्चापदार्थको उत्पादन र तयारी सामग्रीको बजारीकरणको योजना बन्नसक्छ’, उद्यमी वली भन्छन्, ‘तर, सरोकारवालाहरुको यसमा ध्यान छैन, नारामा मात्रै स्वदेशी उद्योग भनेर हुँदैन, व्यहारमा पनि हुनुपर्‍यो ।’

वलीले ६ लाख रूपैयाँमा सुरु गरेको उद्यमको उत्पादनले अहिले राम्रै बजार लिएको छ । उनले उद्योगमा अहिले सेमि-अटो मेसिनसमेत जडान गरेका छन् । हातैबाट सामग्री बनाउने गरी सुरु भएको उद्योगले गति लिएर हाल मेसिन प्रयोग हुन थाले पनि आफू सन्तुष्ट हुन नसकेको वली बताउँछन् ।

‘अहिले जनस्तरमा माग बढेको छ, मागअनुसार नै सामान बनाउँदै आएका छौं’, उनले भने, ‘तर, हामीले सरकारी निकाय र अन्य संघसंस्थाबाट हुनुपर्ने साथ र सहयोग पाएका छैनौं ।’

कच्चापदार्थमा समस्या

बेतबाँसका सबै कच्चापदार्थ दाङमा उत्पादन हुँदैन । उद्योगले मुख्य गरेर दुई प्रकारका बेत प्रयोग गर्दै आएको छ  । भारतबाट ल्याउने मोटो (फेयगरा) र नेपालमै पाइने पातलो बेत (पानीबेत) प्रयोग गर्दै आएको उनले बताए ।

‘पातलो बेतलाई दुई प्रकारबाट उपयोग गरिन्छ  । तयारी वस्तुमा डिजाइन निकाल्ने र कच्चापदार्थकै रूपमा चोया उत्पादन गर्न यसको प्रयोग गरेका छौं’, वलीले भने, ‘मोटो बेत ३ देखि ५ इन्च मोटाइको हुन्छ । यो भारतमा निर्भर छौं । साना बेत भने नेपालकै सामुदायिक वनका अधिकांश क्षेत्रमा छन्  । लुम्बिनी प्रदेशको बाँके, बर्दिया, रूपन्देही, नवलपरासीका अधिकांश जंगलमा यो उपयोगविहीन छ  । केही जिल्लामा भने मिलोमतोमा भारत निर्यात भएर पछि महँगो मूल्यमा भारतबाटै नेपाल ल्याउनुपर्ने बाध्यता छ ।’

उनका अनुसार बेतकै सबैभन्दा महँगो गौरी जात हो । यसबाट वस्तु तयार गर्दा फिनिसिङ राम्रो निस्कन्छ । गौरी बेत भारतमा पाइन्छ  ।

कामदार अभाव उस्तै

नेपालमा जुनसुकै उद्योगमा कामदारको अभाव देखिन्छ । तर, अधिकांश युवाहरु नेपालमा रोजगारी नै नभएको भन्दै धमाधम विदेशिइरहेका छन् । बेतबाँसको काममा कला महत्वपूर्ण हुन्छ । कमाइ मनग्ये हुन्छ तर, अधिकांश नेपाली यस्तो काम गर्न झन्झटिलो मान्ने गरेकाे उनी बताउँछन् ।

मोटो बेतलाई तताएर विभिन्न आकारप्रकारका डिजाइन तयार गर्नुपर्छ । तताएको बेतलाई पानीमा भिजाएर बङ्ग्याउने र आवश्यक आकार दिने काम हुन्छ । तयार भएका सामानलाई फिनिसिङ गरिन्छ  । अहिलेसम्म भारतीय कामदारमा भर पर्नुपरेको उद्यमी वलीको भनाइ छ ।

‘भारतीयहरु मासिक ८० हजारदेखि एक लाखसम्म पारिश्रमिक लिन्छन्  । फर्निचरका नयाँ नयाँ डिजाइन बनाउन उनीहरू माहिर छन्’, उनले भने, ‘तर, उनीहरुले कति समय काम गर्छन् भन्ने ढुक्क हुँदैन ।’

नेपालीहरु यो सीपमा पछि रहेकाले राम्रो आम्दानी गर्नबाट वञ्चित हुनुपरेको उनी दुःखेसो पोख्छन् ।

‘धेरै नेपालीहरु बेरोजगार छन् । तर, काम गर्ने सीप जानेका हुँदैनन् । हामीले नेपाली कामदार पाउनै सकेका छैनौं’, वली भन्छन्, ‘कम्तीमा स्थानीय सरकारले कुनै योजना बनाएर युवाहरुलाई यससम्बन्धी सीप सिकाउने हो भने उनीहरु विदेश जाने थिएनन् कि ?’

‘कम मूल्यमै गुणस्तरीय उत्पादन गर्न सकिन्छ’

उद्यमीहरुका अनुसार नेपालमा हाल काठमाडौमा ३५, नारायणगढमा २, पोखरामा २, लहानमा १, विराटनगरमा १, काँकडभिट्टामा ४, बिर्तामोडमा १, बर्दियामा ५, कैलालीमा ३ गरी ५४ वटा उद्योग दर्ता भएका छन् । जनशक्ति र कच्चापदार्थको अभावले धेरै उद्योग बन्द भइसकेको उद्यमीहरु बताउँछन् ।

नेपालमा बेतका उत्पादनमात्रै नभइ कच्चापदार्थसमेत भारत, सिंगापुर र मलेसियाबाट आयात गरिन्छ । बेतको चोया सिगापुर हुँदै मलेसियाबाट ल्याउने गरिन्थ्यो । तर अहिले बेतको चोया नेपालमै बनाइन थालेको छ । बेतबाट चोया बनाउने मेशिन बुटवलमै भित्र्याइएको छ  । करिब २५ लाख रुपैयाँ लागतमा उक्त मेशिन ल्याइएको उद्यमी वली बताउँछन् । उनका अनुसार यो मेशिन सिंगापुरपछि नेपालमै पहिलो हो ।

‘अहिले हामीले अन्तर्राष्ट्रिय गुणस्तरको चोया उत्पादन गरेका छौं । यसले लागत घटाएको छ’, उनले भने, ‘मलेसियाबाट ल्याउँदा प्रतिकिलो १ हजार ७०० रूपैयाँ पर्ने चोया अहिले स्वदेशमै उत्पादन हुँदा ४० प्रतिशत मूल्य घटेको छ । भारतमा समेत चोयाको माग भैरहेको छ ।’

मेशिनको प्रयोगबाट बेतको बाहिरी र भित्री भागको फरक फरक सामग्री उत्पादन गर्न सकिने हुँदा अहिले बेत कममात्रै खेर गएको वलीको भनाइ छ । ‘मेशिनको प्रयोगले बेतबाट चोया निकाल्दा छिटोछरितो काम भएको छ र डिजाइन पनि राम्रो आएको छ’, उनले भने, ‘मेशिनबाट दैनिक एक क्विन्टल चोया निकाल्न सकिन्छ  ।’

‘बेतबाटै युवालाई स्वदेशमै राख्न सकिन्छ’

स्वदेशमै पाइने बेतबाट सजावटका सामान र चोया बनाउने व्यवसायको राम्रो सम्भावना रहेको बताउँछन् उद्यमी भूपेन्द्र क्षेत्री  । स्वदेशमा अवसर खोज्नेभन्दा पनि विदेश जाने मोहमा रहेका युवाहरुलाई यस व्यवसायमा आकर्षित गर्न सकिने उनी बताउँछन् ।

‘हामी दक्ष जनशक्तिबाट उत्पादन गर्नेतर्फ अघि बढेका छौं, धेरै पटक निःशुल्क तालिम सञ्चालन गरेका छौं’, उद्यमी क्षेत्रीले भने, ‘तर, युवाहरूमा चासो कम देखियो । स्थानीय सरकारसँग मिलेर दक्ष जनशक्ति उत्पादन गर्ने योजनामा छौं ।’

मेहनत गर्नेहरुको लागि राम्रो आम्दानी हुने यसको सीप सिकाउने अभियानमा आफूहरू भएको उनको भनाइ छ । उनका अनुसार बजारमा अहिले सजावटका सामग्री बढी खपत हुन थालेको छ । त्यहीअनुसार पछिल्लो समय बेतका पनि सजावटका सामान बढी उत्पादन थालेको उनले बताए ।

बेतबाँसबाट बनाइएका सजावटका सामानहरू उपभोक्ताले महँगो बताए पनि यथार्थ त्यसो नभएको उद्यमीको दाबी छ । ‘अहिले बजारमा अन्य फर्निचर तथा डाइनिङ सेटको मूल्य ३५ हजार रूपैयाँ छ भने बेतबासको पनि उहीं नै छ’, वलीले भने ।

मूल्य बराबरजसो भए पनि टिकाउ र डिजाइनका हिसाबले बेत धेरै फाइदाजनक भएको उनको जिकिर छ  ।

बेत बहु-उपयोगी हुने हुँदा यसको प्रयोग राम्रो मानिन्छ । बेतका सामग्री प्रयोगबाट मानिसलाई हुने विभिन्न शारीरिक समस्या ठीक हुने चिकित्सकहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर