कविता : मेरी आमा
– सुरेन्द्र लिम्बू ‘परदेशी’
म
यो धर्तीमा आएको दिन
आमा मेरी आमा बनेकी हुन् ।
त्यही दिन
मेरी आमा
पूर्ण जून मुस्कुराएकी थिईन्
नयाँ जीवन अञ्जुलीमा थामेर
सुन्दर घाम उज्यालिएकी थिईन्
त्यो असीम आनन्दको धङधङीमा
नबोलेरै थुप्रै थुप्रै बोलेकी थिईन् ।
थुन्चेमा बोकेर
जिन्दगीको भारी
काटेर पेटको भोक
साटेर टाउकोको पीर
तोडेर मुटुको धमनी र शीरा
आमाले रोपेकी हुन् मलाई
आफ्नो सपनाको बारीमा ।
हो साँच्चै हो
म आएपछि नै
आमाको जीवनमा
एउटा आशाको आकाश खुलेको हो
एउटा खुसीको फूल फुलेको हो ।
मेरी आमाले त
उभ्याउन चाहेकी हुन् मलाई
भरोसाको पिरामिडमाथि
र बनाउन चाहेकी हुन्
एउटा आदर्शको सगरमाथा ।
जिन्दगी भोगाइको
आधा बाटो हिँडी सक्दा
खै म आमाले चाहे जस्तो मान्छे
बने बनिन
भए भइन
थाहा छैन
तर यति बुझ्ने चाँही भएको छु
बाटो र बटुवाको सम्बन्ध
नदी र किनाराको सम्बन्ध
फल र बोटको सम्बन्ध जस्तै
सन्तान र आमाको सम्बन्ध ।
यो खोलानाला, बन जंगल
यो धर्ती आकाश, जून घाम
यो मिलन विछोड, जीवन मृत्यु
म छु र नै त छन् यी सब
“म सोच्छु त्यसैले म छु”
रेने देकार्तले त्यसै भनेका होइनन् रहेछ
जीवन र जगतको अस्तित्व
आफु भए मात्रै त हुने रहेछन्
यि सबै सत्य हुँदाहुँदै पनि
मेरोलागि यही सत्यको धरातल हो
मेरी आमा ।
@
अध्यक्ष
विश्व नेपाली साहित्य महासंघ