कोशीको सुरक्षा चुनौतीबारे छलफल, गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा – Nepal Press

कोशीको सुरक्षा चुनौतीबारे छलफल, गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा

विराटनगर । कोशी प्रदेशको सुरक्षासम्बन्धी बैठक विराटनगरमा सुरु भएको छ । बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर आएका छन् ।

बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखसमेत सहभागी छन् । बैठकमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत गएका कारण प्रमुख भने सहभागी छैनन् ।

विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजना बनाइने बताइएको छ ।

कोशी नामकरणपछि पहिचान पक्षधरहरूको आन्दोलनका कारण यहाँ सुरक्षा चुनौती बढेको हो । उनीहरूले युवा दस्ता बनाएको, अत्याधुनिक सञ्चार सेटसमेत फेला परेपछि कोशी प्रदेशमा सुरक्षा चुनौती बढेको र यसबारेमा ब्रिफिङ सुन्न गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू आएको सुरक्षा स्रोतले बतायो ।

पहिचान पक्षधरहरूले विभिन्न जिल्लामा युवा दस्ता सार्वजनिक गर्दै आएका छन् । धरानमा केही दिनअघि सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने गरी भएका गतिविधिले पनि सुरक्षा जोखिम थपिएको सुरक्षा निकायको विश्लेषण छ ।

कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे गृहमन्त्रीसमक्ष ब्रिफिङ गर्नेछन् । छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गर्ने कार्य तालिका रहेको छ ।

जिल्लागत रूपमा सुरक्षा अवस्था प्रस्तुत गरेपछि तीनवटै सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरूले त्यसपछि ब्रिफिङ गर्ने कार्यसूची तोकिएको छ ।

पहिलो सत्रको समापन गरेपछि सोमबार दिउँसो साढे १२ बजेपछि राजनैतिक दल नागरिक समाजहरूसँग समसामयिक विषय र सुरक्षासम्बन्धी विविध विषयमा छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सबै राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहनेछ ।

सोमबार साढे ३ बजे गृहमन्त्री श्रेष्ठले मन्तव्य राखेपछि कार्यक्रम समापन हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर