आठ महिनापछि सुदूरपश्चिममा संसदीय समिति नेतृत्वको सरगर्मी, यी हुन् सभापतिका आकांक्षी
कैलाली । सुदूरपश्चिम प्रदेशमा संसदीय समितिको निर्वाचन मिति निर्धारण गरिएको छ । यहीं शुक्रबार यहाँका चार वटा विषयगत समितिको निर्वाचन तोकिए पनि अहिलेसम्म दलहरूले उम्मेदवार छनोट गरेका छैनन् ।
सत्ता गठबन्धनभित्रका दलहरूबीच कुन दलले कुन समिति पाउने भन्ने विषयमा सहमति भएको छैन । यहाँ सत्ता गठबन्धनमा कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी छन् । एमाले र राप्रपा सरकारमा छैनन् भने स्वतन्त्र एक सांसद छन् ।
सत्ता गठबन्धनमा चार दल सहभागी भए पनि उनीहरुमध्ये तीन दलले मात्रै समितिको सभापति पाउनेछन् । यसअघि नागरिक उन्मुक्ति पार्टीलाई २ सभापति दिने गरी समितिको संख्या थप गर्ने तयारी गरिएको थियो । तर, त्यसमा सहमति हुन सकेन ।
चार समितिमध्ये विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक विकास सत्ता गठबन्धनमा रहेका चार दलले सहमति गरेर लिनेछन् । सार्वजनिक लेखा समितिका एमाले र राप्रपा दुवैले दाबी गरेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो प्रतिपक्ष दल हो । यहाँ एमालेका १० सांसद छन् भने राप्रपाका एक सांसद छन् ।
‘सार्वजनिक लेखा समिति एमालेले पाउनेमा हामी विश्वस्त छौं’, एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले भनिन्, ‘हामी प्रमुख प्रतिपक्षी दल हौं । सरकारले गरेका गतिविधि, आर्थिक सुशासनको विषय पनि हामीले अध्ययन गर्छौं । त्यसैले एमालेले उक्त समितिको नेतृत्व पाउनुपर्छ ।’
राप्रपाकी सांसद खेमादेवी विष्टले पनि सार्वजनिक लेखा समितिमा आफ्नो पार्टीको दाबी रहेको बताइन् ।
‘सार्वजनिक लेखा समिति प्रतिपक्षी दलले पाउने भन्ने कुरा हो’, उनले भनिन्, ‘हामी जति मत आए पनि निर्वाचनमा होमिन्छौं, सभापतिको उम्मेदवार बन्छौं ।’
कुन दलबाट कसको सम्भावना ?
सार्वजनिक लेखा समितिको सभापति एमालेले पाउने अवस्थामा वीरबहादुर थापाको सम्भावना बढी छ । एमाले वृत्तमा उक्त समितिको सभापति थापालाई बनाउने विषयमा करिब सहमति भइसकेको छ । अहिले सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा र वीरबहादुर थापा सदस्य छन् ।
सन्तोष दलको उपनेतासमेत रहेको हुँदा वीरबहादुरलाई समिति सभापतिको उम्मेदवार बनाउन एमालेभित्र आन्तरिक छलफल भएको स्रोतको दाबी छ ।
राप्रपाकी सांसद खेमादेवी पनि त्यही समितिमा छिन् । संख्यामा सानो भए पनि बजेट पारित गर्दा उनी उपस्थित भएको हुँदा सत्ता गठबन्धनले उनलाई सहयोग गर्न सक्ने सम्भावना पनि रहेको बताइन्छ ।
नेकपा एकीकृत समाजवादीबाट समिति सभापतिका लागि माया पन्त उम्मेदवार बन्न सक्ने सम्भावना बढी छ । ४ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले अहिले प्रदेशमा आर्थिक मामिलामन्त्री पाएको छ । चार दललाई तीन समिति भागबन्डा गर्दा एकीकृत समाजवादीले समिति नपाउने सम्भावना रहेको बताइन्छ ।
नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावल भने आफ्नो पार्टीले एउटा समिति पाउने त्यसपछि उम्मेदवारको नाम टुङ्गो लगाउने बताउँछन् ।
‘हामी एउटा समिति पाउनेमा विश्वस्त छौं । सत्ता गठबन्धनको बैठकपछि कुन समिति पाउने भन्ने निश्चित हुन्छ । त्यसपछि हामी उम्मेदवारको टुङ्गो लगाउँछौं’, उनले भने ।
नागरिक उन्मुक्ति पार्टीभित्र अहिलेसम्म समिति सभापतिको लागि उम्मेदवार टुङ्गो लागिसकेको छैन । केन्द्रमा २ समिति पाउने गरी सहमति गरे पनि यहाँ एउटै समिति भागमा पर्ने भएपछि पार्टीभित्रै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
‘आज १ बजे मुख्यमन्त्री कार्यालयमा समितिको विषयमा छलफल हुँदैछ’, नागरिक उन्मुक्ति दलका नेता घनश्याम चौधरीले भने, ‘केन्द्रमा ६ समिति बनाउने सहमति भएको थियो । यहाँ ४ समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । सत्ता गठबन्धनभित्र यस विषयमा छलफल हुन बाँकी छ ।’
उनले केन्द्रमा भएको सहमति कार्यान्वयन नभएको भन्दै अहिले सभापतिको विषयमा कुनै आधिकारिक छलफल नभएको बताए ।
तर, नागरिक उन्मुक्तिकै अर्का एक सांसदका अनुसार लक्ष्मणकिशोर चौधरीले समिति सभापतिमा दाबी गरे उनी नै सभापति बन्ने सम्भावना बढी छ । चौधरी पार्टीका उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख हुन् । प्रमुख सचेतक रहेका खुशीराम चौधरीले पनि सभापतिको लागि पार्टीभित्र दाबी गरेका छन् । त्यसबाहेक अन्य केही सांसदलाई पनि नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीले आश्वासन दिएको दाबी छ ।
माओवादी केन्द्रबाट भने समिति सभापतिको लागि शिवसिंह ओली, लक्ष्मी विक र जानकीदेवी कुँवरमध्ये एक जनाको सम्भावना बढी छ । तर, पार्टीले अहिलेसम्म यस विषयमा कुनै निर्णय भने गरेको छैन ।
कांग्रेसले पनि अहिलेसम्म उम्मेदवारका विषयमा दलको बैठकमा छलफल सुरु गरेको छैन । पार्टीभित्र भने सभापति बन्नेहरूले दाबी पेश गरिसकेका छन् । कांग्रेसले प्रकाश बम, मधु भारती, ललित सुनार र सरस्वती खड्कामध्ये एक जनालाई सभापति उम्मेदवार बनाउन सक्ने सम्भावना बढी देखिएको छ ।