निराशामा डुबेका सन्दीप एसियन गेम्स खेल्न निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस – Nepal Press

निराशामा डुबेका सन्दीप एसियन गेम्स खेल्न निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस

सन्दीप र पारसबीच फोन वार्ता, आज भेट्ने सम्भावना

काठमाडौं । अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् ।

जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । यो मुद्दाको फैसला आफ्नो भागमा नपरोस भनेर न्यायाधीशहरू भागाभाग गरिरहेका छन् । उनको पेसीको दिन न्यायाधीशहरू अदालत आउनसमेत डराउन थालेको स्रोतहरू बताउँछन् ।

हरेकपटक नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँदा सन्दीपलाई मुद्दाले दु:ख दिने गर्छ । उनी टीमसँग विदेश उड्न पाइरहेका छैनन् । अदालतले सन्दीपलाई क्रिकेट खेल्न कुनै रोकटोक गरेको छैन । विदेश जान पनि अनुमति छ । तर, विदेश उड्ने बेलामै अदालतको पेसी तोकिने मुद्दाको लेठो आइपर्ने नमिठो संयोग जुरिरहेको छ ।

मुद्दाको तनावले गर्दा सन्दीपको प्रदर्शनमै असर पर्न थालेको देखिन्छ । हालै एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उनले राम्रो बलिङ गर्न सकेनन् । मैदानमा उनको बडि ल्याङ्वेज पनि फरक देखिन्थ्यो । जबकि नेपालको एकदिवसीय मान्यता कायम राख्न, विश्वकप क्वालिफायर्समा पुर्‍याउने र एसिया कपमा छनोट गराउन उनको सबैभन्दा ठूलो हात थियो । सन्दीप टीममा नभएको भए नेपालको एकदिवसीय मान्यता जोगिँदैनथ्यो भन्नेमा नेपाल क्रिकेट संघका अधिकारीहरू पनि सहमत छन् । तर, अदालतमा विचाराधीन मुद्दामा आफूहरूले केही गर्न नसक्ने उनीहरूको भनाइ छ ।

क्यानका एक अधिकारीले भने, ‘हाम्रो तर्फबाट सन्दीपलाई सबै साथ र टेवा दिइरहेका छौं । तर, अदालतले मुद्दाको फैसलामा ढिलाइ गर्दा उसको करिअर नै लथालिङ्ग बनेको छ ।’

क्यान अध्यक्षले भेटेर दिए ढाडस, पारसले आज भेट्ने

नेपाली क्रिकेट टीम एसियन्स गेम्स खेल्न अस्ति चीनतर्फ प्रस्थान गर्‍यो । तर, सन्दीप नेपालमै छन् । नेपाली टीम चीन जाने भोलिपल्ट अर्थात् हिजो उनको पेसी थियो । तर, कुनै पनि न्यायाधीशले उनको मुद्दाको गोला नतानेको भन्दै सुनवाइ स्थगित भएको छ ।

मुद्दा स्थगत भएपछि क्यानले आज उनलाई चीन पठाउने तयारी गरेको थियो । टिकट पनि काटिएको थियो । तर, सन्दीप आज नजाने भएका छन् । हिजो उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग भेटेर आफू खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।

‘अहिलेकै मनस्थितिमा मैले मैदानमा राम्रो प्रदर्शन गर्न सक्दिनँ,’ सन्दीपले भने, ‘मेरो करिअर र निजी जीवन नै अस्तव्यस्त भएको छ ।’

स्रोतका अनुसार चन्दसँगको भेटवार्तामा सन्दीप निकै विक्षिप्त देखिन्थे । उनी पटक-पटक रोएका थिए । अध्यक्ष चन्दले उनलाई हौसला दिने प्रयास गरे । जसरी पनि चीन जान आग्रह गरे ।

‘तिमीसँग क्रिकेट खेल्न धेरै समय बाँकी छ । अहिले नै यसरी हिम्मत नहार,’ चन्दको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

सन्दीपले आज दिनभरि आफूले सोच्ने बताएका छन् ।

‘दिनभरिमा अलिकति फ्रेस फिल गरेमा भोलि जान्छु,’ उनले चन्दसँग भनेका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा चन्दले सन्दीप जानेमा आशावादी रहेको बताए ।

‘उनलाई मैले भेटेर सम्झाएको छु । हामी साथमा छौं भनेको छु । मलाई आशा छ, सन्दीप भोलि जान्छन्,’ उनले भने ।

चन्द भर्खरै भएको नेपाल क्रिकेट संघको अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यस अधिवेशनबाट क्यानमा पूर्वकप्तान पारस खड्काको समेत इन्ट्री भएको छ । उनले सन्दीपको केसलाई थप सुझबुझका साथ ह्यान्डल गर्ने अपेक्षा क्रिकेट समर्थकले राखेका छन् ।

पारसले हिजो आफैं सन्दीपलाई फोन गरेका थिए । उनले पनि एसियन्स गेम्सका सहभागी हुन सन्दीपलाई आग्रह गरे । उनीहरूबीच आज भेटेर विस्तृत कुराकानी गर्ने सल्लाह भएको छ । सन्दीप चीन जाने सवालमा पारससँग उनको छलफल निर्णायक हुन सक्छ ।

पारिश्रमिक नपाउँदा थप पीडा

राष्ट्रिय क्रिकेट टीमबाट प्रतिनिधत्व गर्ने खेलाडीहरूलाई नेपाल क्रिकेट संघले तीन वटा क्याटेगोरीमा राखेर मासिक पारिश्रमिक दिने गर्छ । ए वर्गमा ५ जना, बीमा ३ र सी वर्गमा १० जना खेलाडी छन् । पहिलो वर्गकाले मासिक ६० हजार, दोस्रोले ५० हजार र तेस्रोले ४० हजार रूपैयाँ पाउँछन् ।

तर, सन्दीप भने तीनवटै वर्गमा छैनन् । त्यसैले लामो समयदेखि पारिश्रमिकविहीन छन् । उनी क्यानले खेलाडीहरूसँग गर्ने सेन्ट्रल कन्ट्राक्टमा नपरेकाले पारिश्रमिकबाट वञ्चित रहेका हुन् ।

सन्दीपमाथि फौजदारी मुद्दा परेर पक्राउ पूर्जी जारी भएपछि गत भदौ २३ गते क्यानले उनलाई टीमबाट निलम्बन गरेको थियो । असोज २० गते सन्दीप त्रिभुवन विमानस्थलबाट पक्राउ परे । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । जिल्ला अदालतको आदेश उल्टाउँदै पुनरावेदन अदालत पाटनले सन्दीपलाई रिहा गर्‍यो । सन्दीप पुस २९ गते थुनामुक्त भएका थिए ।

पोखरामा बसेको क्यानको कार्यसमिति वैठकले माघ १७ गते सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गर्‍यो । तर, त्यसकै भोलिपल्ट गरिएको खेलाडीको वर्गीकरणमा भने उनलाई समावेश गरिएन ।

अदालतमा विचाराधीन मुद्दा र त्यसले उत्पन्न परिस्थितिका कारण सन्दीप सेन्ट्रल कन्ट्राक्टमा नसमेटिएका हुन् । थुनामुक्त भए पनि उनलाई क्रिकेट खेल्न दिनु नहुने आवाज केही व्यक्ति र समूहले उठाएका थिए । महिलावादी अभियन्ताले सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सन्दीपलाई टीममा नराख्न तीव्र दबाब दिएका थिए ।

तर, क्यानले बोल्ड डिसिजन लिँदै सन्दीपलाई टीममा कमब्याक गराएको थियो । तर, सन्दीपलाई टीममा राखे पनि उनलाई सेन्ट्रल कन्ट्र्याक्टमा भने समेटिएन । क्यानले गरेको वर्गीकरण जनवरीदेखि जूनसम्मका लागि थियो । ६ महिनामा यसको रिभ्यू हुने भनिएको थियो । जूनमा रिभ्यू गरेर सन्दीपलाई समेट्ने क्यानका अधिकारीले तयारी गरेका थिए । तर, त्यो हुन सकेन । अब सन्दीपले डिसेम्बरसम्मको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा भाग लिएरै राम्रो आयआर्जन गरिरहेका थिए । उनले सबैजसो देशका टी-२० लिग खेलिसकेका छन् । तर, अदालतमा मुद्दा परेपछि उनको अन्तर्राष्ट्रिय करिअर पनि डामाडोल बनेको छ ।

योबीचमा सन्दीपले क्यानाडामा एउटा लिग खेले, त्यो पनि थोरै पैसामा । आईपीएल, बीबीएलदेखि अन्य कुनै पनि लिगमा उनी छनोट हुन सकेनन् । अदालतको मुद्दा किनारा नलागेकाले उनलाई हायर गर्न फ्रेन्चाइज टीमहरू हच्किइरहेका छन् । यसले सन्दीपलाई आर्थिकरूपमा ठूलो क्षति पुगेको छ ।

सन्दीप पहिले निकै बलियो आत्मबल भएका खेलाडी थिए । तर, यो मुद्दाका कारण उनको स्वभाव र व्यक्तित्वमै बदलाव आएको छ । उनी मैदानदेखि सार्वजनिक कार्यक्रममा समेत रोएका छन् । पछिल्लो समय उनी साथीभाइकै फोन पनि उठाउँदैनन् । निकटस्थहरूसँग निराशाजनक कुरा गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *