तेक्वान्दोमा अञ्जली प्रिक्वाटरफाइनलमा रोकिइन्
काठमाडौं । नेपालकी अञ्जली तामाङ १९औं एसियाली खेलकुदको तेक्वान्दोमा प्रिक्वाटरफाइनलबाट बाहिरिएकी छन् ।
प्रिक्वाटरफाइनलमा अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुकिन् । अञ्जली १२-० र १०-० ले पछि परिन् ।
त्यसअघि लिनान स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन् ।
पहिलो राउन्डमा ७-७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउन्डमा १०-४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
पुरुष ५८ केजीमुनिको स्पर्धामा नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसँग ४-१२ र २-० ले हारे ।
तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।