फेन्सिङ र साइक्लिङमा पनि नेपालको खराब प्रदर्शन – Nepal Press

फेन्सिङ र साइक्लिङमा पनि नेपालको खराब प्रदर्शन

काठमाडौं । हाङझाव एसियाडको तेस्रो दिन सोमबार हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियमा भएको फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जीत निकाल्न सकेनन् ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय व्यहोरे । पायस कजाकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५-० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५-१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५-२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५-० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढेन ।

महिला फोइल व्यक्तिगतर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापानकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङसँग समान ५-०, मकाउकी हियो ल्याम कुसँग ५-१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५-३ ले निराश बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५-३, थाइल्यान्डकी चोक छायानितपाट स्पिननेकर, जापानकी युका युनोसँग ५-१, सिंगापुरकी म्याक्सिन वाङसँग ५-४ र चीनकी क्वइयानक्यान हुआङसँग ५-० ले स्तब्ध बन्दा गोमा आचार्यको यात्रा पनि समूह चरणमै रोकियो ।

साइक्लिङ: सुरज र उषाले दूरी पूरा गर्न सकेनन्

एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनाल सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए ।

योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किँदैछ ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोस्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र यूएईका १-१ खेलाडीले पनि दूरी पार गर्न सकेनन् ।

चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले काँस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दैगर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् ।

यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले काँस्य हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *