कर्मचारीको सेटिङमा भू-माफियाले बेचे मसानघाटको डेढ बिगाहा जग्गा – Nepal Press

कर्मचारीको सेटिङमा भू-माफियाले बेचे मसानघाटको डेढ बिगाहा जग्गा

रुपन्देही । कपिलवस्तुमा वाणगंगा नदी हिँड्ने जग्गा व्यक्तिको नाममा पास भएको समाचार सार्वजनिक भएको भोलिपल्टै जग्गा दलालीले कर्मचारीको सेटिङ मिलाएर रुपन्देहीमा दाहसंस्कारको लागि छुट्टाइएको सार्वजनिक जग्गा जग्गा व्यक्तिको नाममा बनाएको विषय बाहिर आएको छ ।

लामो समयदेखि स्थानीयले संरक्षण गरेको यो जग्गा अर्कै व्यक्तिले पास गरेपछि सो क्षेत्रका जनप्रतिनिधिसमेत आश्चर्यमा परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं १० एयरपोर्ट नजिक घागरा खोला छेउमा रहेको साबिक भुजौली ७ क मा पर्ने कित्ता नं ६१ मा रहेको पितृ विसर्जन तथा शव दहन स्थल रहेको एक बिगाहा ११ कट्ठा ५ धुर जग्गा नक्कली कागजपत्र तयार गरेर बिक्री गरेको खुलेको हो ।

सार्वजनिक जग्गा हडपेर व्यक्तिको नाममा बनाएको सूचना पाएपछि यसलाई रोक्न आफूहरूले मिडिया गुहार्नुपरेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भोला यादवले जानकारी दिएका छन् ।

‘यो कसरी भयो, हामीलाई आश्चर्य भएको छ, हामीले यो सूचना पाएपछि यसका प्रमाण खोज्न र मालपोत तथा प्रशासनलाई रोक्नका लागि लागिपरेका छौँ’ वडाध्यक्ष यादवले भने ।

उनले सार्वजनिक जग्गामा लगत नजर लगाउने कुनै पनि माफियालाई उन्मुक्ति दिन नहुने आफ्नो स्पष्ट अडान रहेको बताए ।

‘यो जग्गा ४ नं वडामा रहेको आमा समूहले संरक्षण गरेको हो, संरक्षण पनि आमा समूहले गरेको छ, कागजपत्र पनि आमा समूहकै नाममा छ, यो जग्गा रोक्न सिडिओ कार्यालय, मालपोत कार्यालयमा धर्ना दिनेछौँ, कसरी भयो, ८ वर्षको तिरो ०७९/८० को तिरो वडा नं १० मा एकमुष्ट तिरिएको छ, यो कसरी भयो? यो रोक्न सबैलाई पहल गरेका छौँ’ उनले भने ।

उनले मसानघाट समेत बेच्न खोज्नेलाई त्यसै नछाडिने र यो जग्गा जसरी पनि पितृ बिसर्जनको लागि बनाइएको र त्यही नाममा आउनुपर्ने उनले बताए ।

प्राप्त विवरणअनुसार यो जग्गा अर्घाखाँचीको साबिक मैदान गाविस वडा नं ५ बस्ने नुरपति घिमिरेको नाति, नरपति घिमिरेको छोरा फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । स्रेस्तामा नभएको जग्गा कसरी पूर्जा बन्यो, कसरी पास भयो अनि कसरी नगरपालिकामा तिरो तिर्ने काम भयो भन्दै स्थानीयले यो सेटिङबाटै भएकाले गहिरो छानबिन हुनुपर्ने बताएका छन् ।

 

जग्गा दलाल समेतको संलग्नतामा मालपोत कार्यालय रुपन्देहीबाट २०७० वैशाख २८ गते फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । यस अगाडि उक्त जग्गा पर्ती जग्गा रहेको थियो । सिद्धार्थनगर नगरपालिका वडानं १० र ४ का स्थानीयहरूको शव जलाउने घाटका रूपमा सो स्थान प्रयोग हुँदै आएको थियो ।

सोमवार स्थानीयहरूको टोली जिल्ला मालपोत कार्यालयमा पुगेर दोषीलाई कडा कारबाहीको माग गर्दै जग्गा फिर्ता गर्नका लागि पहल गरिदिन मालपोत प्रमुखसँग आग्रह गरेका छन् ।

स्थानीयका अनुसार सो ठाउँलाई घाटको रूपमा प्रयोगको लागि २०४९ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम सेड घर र दाहसंस्कार गर्न स्थान तैयार गरिएको थियो ।

 

२०४६ सालपछि सिद्धार्थनगर नगरपालिकाका पहिलो मेयर डा. बलराम गौतमले दाहसंस्कार स्थानका रूपमा सञ्चालनमा ल्याएका थिए । त्यसपछि विभिन्न समयमा २०५४ सालमा संस्था, जिल्ला विकास समिति रुपन्देही र सिँचाइ कार्यालय रुपन्देहीको सहयोगमा उत्तरतर्फ नदी कटान रोक्नको लागि तटबन्ध गरिएको थियो ।

यस्तै २०६१ मा रुपन्देही वातावरण संघबाट वृक्षारोपण र तारबार गरी स्मृति वनवाटिका नामकरण गरिएको थियो । २०६२ सालमा पनि लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर ईण्टरनेशनलबाट वृक्षारोपण कार्य गरिएको थियो । २०६८ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट पितृ विसर्जन उपभोक्ता समिति गठन गरी घाटको सुदृढीकरण गरिएको थियो ।

रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले आफू जिल्लामा आउनु अगावै नै यो काम भएको हुनसक्ने र यसको छानबिन थालिएको जानकारी दिए ।

मालपोतको रेकर्ड अनुसार उक्त जग्गाको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिए पनि मालपोतमा भने २०७१ सालमा दर्ता गरिएको छ भने वडा १० को कार्यालयमा एकमुष्ट तिरो पछिल्लो वर्ष तिरिएको छ ।

‘काजगपत्र सबै हेर्दा यो सिधै जालसाजी हो भन्ने ठहर हुन्छ, स्वतह खारेजीमा जान्छ तर यो काम कसरी भयो भन्ने विषय छानबिन हुन जरुरी छ, यसलाई व्यक्तिको नामबाट खारेज गरी सार्वजनिक जग्गा कायम गराउन प्रतिबद्ध छु’ आचार्यले भनेका छन् ।

रुपन्देहीमा सार्वजनिक जग्गामा भूमाफियाहरुले धेरै फटाई गरेको र ती सबै पोल खोल्दै गएको बताउँदै उनले त्यसको लागि सबैको सहयोग चाहिने जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर