पत्रकार धामीमाथि कुटपिटमा संलग्न आरोपमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ
काठमाडौं । पत्रकार कृष्णसिंह धामीलाई हातपात गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता प्रेम सिजापतीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिजापतीले आफूलाई विप्लवनिकटको विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य बताएका छन् ।
उनलाई कीर्तिपुरबाट मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले नेपाल प्रेसलाई जानकारी दिए । प्रेममाथि अनुसन्धान जारी रहेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको शाहले बताए ।
सोमबार अपरान्ह आक्रमणबाट घाइते भएका धामीबाट किटानी जाहेरी लिने कार्य पनि अघि बढिसकेको र किटानी जाहेरीमा माग भएअनुसार नै कारबाही प्रक्रिया अघि बढाइने एसएसपी शाहले बताए । सोमबार अपरान्ह साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीलाई एक समूहले उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका थिए । टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका कृष्ण पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।
गत भदौ २६ गते विप्लव समूहको विद्यार्थी संगठनका अध्यक्ष बताउने प्रकाश शाहीले एक विज्ञप्ति जारी गरेर रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएका थिए । त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको विषयमा शाहीले भौतिक कारबाहीको चेतावनी दिएका थिए ।
यस्तै समाचारको विषयलाई लिएर विप्लवका विद्यार्थीले निरन्तर आफूलाई धम्की दिएको धामीले बताउँदै आएका थिए ।