स्वास्थ्य जोखिममा भरतपुर महानगरका सरसफाइकर्मी, ३१ प्रतिशतलाई थाहै छैन जोगिने उपाय – Nepal Press

स्वास्थ्य जोखिममा भरतपुर महानगरका सरसफाइकर्मी, ३१ प्रतिशतलाई थाहै छैन जोगिने उपाय

चितवन । भरतपुर महानगरपालिकामा सरसफाइको क्षेत्रमा काम गर्ने व्यक्तिहरु जोखिममा रहेको पाइएको छ । सरसफाइको क्षेत्रमा काम गर्दा ज्यानैसमेत जाने जोखिम पाइए पनि स्थानीय तहले उनीहरुको सुरक्षामा चासो नदिएको पाइएको हो ।

भरतपुर महानगरपालिकाका २९ वटा वडामा सरसफाइको लागि करिब ६२५ जना सफाइकर्मी कार्यरत रहेको महानगरको वातावरण तथा सरसफाइ शाखाको तथ्यांक छ । तर, उनीहरुमध्ये अधिकांशले सरसफाइको काम गर्दा सावधानीका उपाय नपनाएको पाइएको छ ।

इन्टरग्रेटेट डेभलपमेन्ट सोसाइटी नेपाल र आईडीए नेपालले भरतपुर महानगरका सफाइकर्मीको अवस्थाको बारेमा गरेको सर्भेले उनीहरु जोखिममा रहेको औंल्याएको हो ।

६२५ मध्ये १५३ जनासँग कुराकानी गर्दा अधिकांश कामदार दैनिक ज्यालादारीमा रहेका र उनीहरुमध्ये ६१ प्रतिशतले काम नगरेको दिनको ज्याला नपाउने पाइएको नेपालमा सरसरफाइ कर्मचारीको सशक्तीकरणका लागि एक्सन रिसर्च कार्यक्रमका परामर्शदाता दीपकराज पाण्डेयले बताए ।

उनका अनुसार व्यवसायजन्य रोगका कारण १६ प्रतिशत सफाइ कर्मचारी काम गर्न नसक्ने अवस्थामा पुगेको अनुसन्धानले देखाएको छ । उनीहरुमध्ये धेरैजसोले १५ देखि २० हजारको हाराहारीमा मासिक तलब पाउने भए पनि ६१ प्रतिशतले काम नगरेको दिनको पारिश्रमिक पाउँदैनन् ।

सरसफाइको काम गर्दा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गर्नुपर्छ । तर, भरतपुर महानगर र हाल महानगर तथा सरसफाई सेवा प्रदायकहरुसँग गरिएका सम्झौताका प्रावधानमा व्यवसायजन्य सुरक्षा तथा सेवा सुविधासँग सम्बन्धित आधारभूत कुरा समेटिएको छैन ।

परामर्शदाता पाण्डेय भन्छन्, ‘महानगरपालिकाले सम्झौता गर्दा श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५, व्यवसाय जन्य स्वास्थ्य तथा सुरक्षा नीति २०७६, सामाजिक सुरक्षा ऐन २०७४ तथा नियमावली २०७५ ले निर्दिष्ट गरेका आधारभूत विषयहरुलाई सम्झौताको अभिन्न अंगका रुपमा राख्नु पर्ने पाएका छौं ।’

सफाइको क्षेत्रमा काम गरेको लामो समय भए पनि फोहोरजन्य वस्तुसँग काम गर्दा कसरी जोगिने भन्नेबारे अझै पनि ३१ प्रतिशतले तालिम पाएका छैनन् । ६७ प्रतिशतले काम गरेपछिको थकान मेटाउन विश्रामस्थल पाउँदैनन् । अझ महत्वपूर्ण पक्ष त नियमित स्वास्थ्य परीक्षण सुविधा पाउनुपर्नेमा उनीहरुमध्ये ६९ प्रतिशत सफाइकर्मीले आधारभूत स्वास्थ्य परीक्षण पनि पाएका छैनन् ।

काम छोड्ने विकल्प नहुँदा जोखिम भए पनि ८२ प्रतिशत सफाइकर्मीले यही क्षेत्रमा काम गर्ने बताएका थिए । सरसफाइका बेला मास्क, हेलमेट, पञ्जा, बुटलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग र सामान्य सुरक्षाबारे १४ प्रतिशत सफाइकर्मीलाई जानकारीसमेत नभएको उनले बताए ।

विशेषगरी सरसफाइको क्षेत्रमा पनि दिसाजन्य फोहोरको व्यवस्थापन गर्ने सफाइकर्मी सबैभन्दा बढी जोखिममा रहेको अध्ययनले देखाएको पाण्डेयले जानकारी दिए ।

सफाइको जोखिमसँगै ‘फोहोरमैलाको व्यवस्थापनमा दलित समुदायले गर्ने काम’ भन्ने गलत सोचका कारण सफाइ क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सामान्य आत्मसम्मानसमेत पाउने गरेका छैनन् ।

नेपाल खानेपानी तथा सरसफाइ विभागका आयोजना निर्देशक रत्न लामिछानेसमेत उनीहरुलाई सरकार या सम्बन्धित निकायले सामान्य आधारभूत आवश्यकतासमेत दिलाउन नसकेको स्वीकार गर्छन् ।

निर्देशक लामिछाने भन्छन्, ‘फोहोर संकलन गर्ने कुनै पनि सफाइकर्मीले सुरक्षाका सामग्री प्रयोग गरेको नै देखिँदैन । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने थियो ।’

भरतपुर महानगरबाट अहिले दैनिक ८० टनभन्दा बढी फोहोर निस्किन्छ । तर, सफाइकर्मीको सुरक्षाका बारेमा सबै दोष राज्यको निकायलाई मात्रै थुपार्न नहुने भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख ओमप्रसाद पाण्डे बताउँछन् ।

‘आफ्नो घर अगाडि फोहोर उठाउन आएका सफाइकर्मीले सुरक्षाका सामग्री प्रयोग गरेका छन् कि छैनन् भनेर चासो दिनु नागरिकको पनि दायित्व हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *