मंगोलियालाई क्रिकेटको पाठ सिकाउँदै नेपालद्वारा टि–२० मा विश्वकीर्तिमानहरुको पुनर्लेखन – Nepal Press

मंगोलियालाई क्रिकेटको पाठ सिकाउँदै नेपालद्वारा टि–२० मा विश्वकीर्तिमानहरुको पुनर्लेखन

तोडिए युवराज सिंहदेखि डेभिड मिलरसम्मका रेकर्ड

काठमाडौं । एसियन गेम्समा नेपालले पुरुष क्रिकेटतर्फ मंगोलियाविरुद्ध दबदबापूर्ण जित हासिल गरेको छ । कमजोर प्रतिद्वन्द्वीलाई क्रिकेटको पाठ सिकाउने क्रममा नेपालले विश्व कीर्तिमानहरुको बिस्कुन लगायो ।

खेल पूर्व गुगलले नेपालको जित सम्भावना ९९.५ प्रतिशत देखाउनुले नै बुझ्न सकिन्छ कि यो कुनै प्रतिस्पर्धात्मक खेल हुनेवाला थिएन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै उपस्थिति देखाउन नसकेको मंगोलिया र एसोसियट्स राष्ट्रमा अब्बल नेपालबीचको खेल एकपक्षीय हुने त पूर्वनिश्चित थियो । तर, नेपालले यति विशाल जितको चाहिँ अनुमान थिएन ।

पहिलो ओभरबाटै मंगोलियाको स्तर उजागर भइसकेको थियो । उनीहरूको बलिङमा कुनै धार थिएन, कुनै लय थिएन । बललाई दुई लाइनभित्र राख्न नै संघर्ष गरिरहेका थिए । यति फितलो बलिङ कि नेपाली ब्याट्सम्यानका लागि भिडिओ गेम खेलेजस्तो भयो ।

उदेकलाग्दो चाहिँ के भने यस्तो बलिङमा पनि नेपालका ओपनिङ जोडी सस्तैमा आउट भयो त्यो पनि १०० भन्दा कमको रनरेटमा ब्याटिङ गर्दै । भारतजस्तो टिमलाई हराबरा खेलाएका आक्रामक ओपनर कुशल भुर्तेलले २३ बलको सामना गर्दा १७ रन मात्रै जोड्नु आश्चर्यजनक थियो । अर्का ओपनर आसिफ शेखले पनि १७ बलमा १६ रन मात्रै जोड्न सके । कुशल मल्ल क्रिजमा आएपछि बल्ल रनको तुफान सुरु भएको थियो । यदि सुरुबाटै विष्फोटक खेलेको भए सायद नेपालले ३५० रन कटाउन सक्थ्यो ।

मंगोलियाको फिल्डिङ उस्तै झूर थियो । उनीहरूले कयौँ क्याच मिस गरे । कयौँ बाउन्ड्री छोडे । क्रिकेटको आधारभूत सीपकै कमी देखियो । नेपालले अतिरिक्त २९ रन पाएको थियो, जसमा २० वाइड र ७ नोबल थिए ।

जे भए पनि नेपालले कमजोर टिममाथि दादागिरी देखाएकै हो । टी–२० क्रिकेटमा २७३ रनको जित अविश्वसनीय मान्नुपर्छ । नेपालले बनाएको ३१४ रन पनि दुर्लभ हो । यीबाहेक आजको म्याचमा नेपालले अरू पनि विश्व कीर्तिमान राखेको छ ।

सर्वाधिक फराकिलो जित

नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको जित टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनको जित हासिल गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा तीन पटक मात्रै २ सय रनभन्दा ठूलो अन्तरले जित–हार भएको छ ।

नेपालले यसअघि सबैभन्दा ठूलो जितको रेकर्ड नेदरल्यान्ड्सविरुद्ध राखेको थियो । खेलमा नेपालले बलियो एसोसिएट टिम नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो ।

सर्वाधिक ठूलो स्कोर

नेपालले पहिलो इनिङमा २० ओभर ब्याटिङ गर्दै ३ विकेट गुमाएर ३१४ रन जोड्यो । नेपालले १५।७० को रनरेटमा यो स्कोर खडा गरेको हो ।

अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनै पनि टिमले ३०० को स्कोर छुन सकेका थिएनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्ड विरुद्ध बनाएको २७८ रन टी–२० अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो स्कोर थियो ।

नेपालले त्यो स्कोरलाई निकै पछाडि छोडेको छ । नेपालले बनाएको यो कीर्तिमान तोडिन लामो समय लाग्न सक्छ ।

सर्वाधिक छिटो शतक

नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक पुरा गरे ।

यसअघि फास्टेस्ट हन्ड्रेडको कीर्तिमान तीन ब्याट्सम्यानको संयुक्त नाममा थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले बंगलादेशविरुद्ध भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध र चेक रिपब्लिकका एस विक्रमशेखराले टर्कीविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।

नेपालका विष्फोटक ब्याट्सम्यान कुशलले मंगोलियाको कमजोर बलिङमाथि निर्दयी आक्रमण गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० बल खेल्दा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

सर्वाधिक छिटो अर्धशतक

आजको खेलमा सबैभन्दा अविश्वसनीय प्रदर्शन चाहिँ दीपेन्द्रसिंह ऐरीले गरे । उनले ९ बलमै अर्धशतक बनाएका छन् । यो अब भविष्यमा पनि कहिल्यै तोडिन नसक्ने रेकर्ड हो । बढीमा कसैले बराबरीसम्म गर्न सक्छ ।

१८.१ ओभरमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । नेपालले खेल्नका लागि केवल ११ बल बाँकी थियो । दीपेन्द्रले अर्धशतक बनाउलान् भन्ने कुनै कल्पना नै थिएन । अर्को इन्डमा कुशल मल्ल आफ्नो विष्फोटक अवतारमा थिए ।

तर, दीपेन्द्रले अन्तिम दुई ओभरमा यसरी ब्याटिङ गरे कि कुशलको कीर्तिमान शतक समेत छायाँमा पर्‍यो । १८।२ ओभरमा छक्का हान्दै दीपेन्द्रले आफ्नो खाता खोलेका थिए । त्यसपछि उनले छक्कामा मात्रै डिल गरे । आफूले सामना गरेका ६ बलमा उनले छ छक्का हाने ।

टी–२० मा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारत युवराज सिंहको नाममा छ । दीपेन्द्रले भने एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का हानेका हुन् । त्यसपछिको एक बलमा उनले २ रन मात्रै लिएर थकाइ मारे । फेरि दुई बलमा लगातार छक्का हान्दै आफ्नो अर्धशतक पूरा गरे ।

भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको विश्व कीर्तिमान दीपेन्द्रले तोडेका छन् । सिंहले सन् २००७ मा ईङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए, जसमा एकै ओभरमा ६ छक्का हानेका थिए ।

पहिलो ६ बलमा छ छक्का

दीपेन्द्रले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का हाने । यो पनि एउटा अद्भुत विश्व कीर्तिमान हो । कुनै पनि ब्याट्सम्यानले आफूले सामना गरेका ६ बलमा छ छक्का हान्ने सायद कल्पनासम्म गर्न सक्दैनन् ।

मंगोलियाका बलरले ६ वटै बल मिडल र लेगस्टम्पबीचमा फ्याकेका थिए । त्यो दीपेन्द्रका लागि हिटिङ जोन थियो । उनले ५ बल अन साइडमा र १ छक्का अफ साइडमा हिर्काए । उनी छक्काबाहेक अरू केही हान्ने मुडमै थिएनन् ।

तेस्रो नम्बरमा सर्वाधिक रन

कुशल मल्लले तेस्रो नम्बरमा आएर बनाएको १३७ रन पनि विश्वकीर्तिमान हो । टी२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।

न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए । अहिलेसम्म तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो स्कोर यही थियो । कुशलले यादवको कीर्तिमानलाई तोडिदिएका छन् ।

चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी

आज बनेको अर्को कीर्तिमान भनेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो । कुशल मल्ल र रोहित पौडेलबीच १९३ रनको साझेदारी भएको थियो ।

यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२०मा वेस्ट इन्डिजविरुद्धको खेलमा १८४ रनको साझेदारी गरेका थिए ।

एउटै म्याचमा सर्वाधिक छक्का

नेपालले एउटै टी–२० म्याचमा सर्वाधिक छक्काको कीर्तिमान पनि आज राखेको छ । २० ओभर ब्याटिङ गर्दा नेपालका ब्याट्सम्यानहरूले २६ छक्का प्रहार गरे । कुशल मल्लले १२, रोहित पौडेलले ६ र दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गरेका थिए ।

एउटै टी–२० इनिङमा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डविरुद्धको म्याचमा अफगान ब्याट्सम्यानहरूले २२ छक्का प्रहार गरेका थिए । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टिमको संयुक्त कीर्तिमान आज नेपालले तोडिदिएको छ ।

व्यक्तिगत सर्वाधिक शतक बनाउनेको सूचीमा भने कुशल मल्ल सातौँ स्थानमा छन् । एउटै म्याचमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका अज्रातुल्लाह जदाइको नाममा छ । उनले आयरल्यान्डविरुद्धको म्याचमा १६ छक्का हानेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *