स्वास्थ्यकर्मीको आन्दोलनमा एमालेको समर्थन, दोषीलाई सरकारले संरक्षण गरेको टिप्पणी – Nepal Press

स्वास्थ्यकर्मीको आन्दोलनमा एमालेको समर्थन, दोषीलाई सरकारले संरक्षण गरेको टिप्पणी

काठमाडौं । नेकपा एमालेले विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको घटनाप्रति आपत्ति जनाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार भएको टिप्पणी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वत: बढ्ने नै भयो । स्वास्थ्यकर्मीहरूमाथि यस्तो प्रकृतिका सांघातिक हमला यो पहिलो होइन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, कंचनपुर, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत देशका बिभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांघातिक हमला भइरहेको र गृहप्रशासनले दोषीहरूलाई कानुनी कारबाही गर्नुभन्दा दोषीलाई संरक्षण दिने काम गरेको छ ।’

विगतमा भएका चिकित्सकलगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयन नभएको भन्दै उल्टै अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानूनी राज्यको उपहास गरिएको उल्लेख छ ।

हालसम्म स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा सांघातिक आक्रमण, अभद्र व्यवहार, स्वास्थ्य संस्थाहरूको तोडफोड गर्ने दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन २०७९ बमोजिम तत्काल कानूनी कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न माग गरेको छ ।

अपराधीलाई कानूनी कारबाही नगर्ने जिम्मेवार पदाधिकारीलाई समेत कारबाही गर्न गृहप्रशासनको ध्यानाकर्षण गराउँदै कारबाही नभएमा यसबाट स्वास्थ्य क्षेत्रमा आउनसक्ने गम्भीर असरको जिम्मेवार सरकार स्वयं हुने कुरामा सचेत गराएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर