बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि कांग्रेसकै दुई समूह आमनेसामने – Nepal Press

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि कांग्रेसकै दुई समूह आमनेसामने

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट व्यवसायीहरु दुई समूहबाट आमनेसामने हुने भएका छन् ।

असोज १९ गते हुने २५औं अधिवेशनका लागि कांग्रेसको संस्थापन समूहबाट हरि अर्याल र इतर समूहबाट दिनेशप्रसाद श्रेष्ठले प्यानल नै बनाएर मैदानमा जाने तयारी गरेका छन् ।

तीन वर्षे कार्यकालको संघमा यस वर्ष एक हजार ७७८ जना व्यवसायीले सदस्यता नवीकरण गरेका छन् । यस क्षेत्रको सबैभन्दा पुरानो व्यवसायिक संस्था रहेको संघमा अहिलेसम्म कांग्रेसबाहेक अन्य पार्टीमा समर्थन गरेका व्यवसायी नेतृत्वमा नआएकाले यहाँ उनीहरुको बहुमत देखिन्छ ।

अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू आन्तरिक प्रचार तथा भेटघाटलाई तीव्र पारेर पार्टीबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा लागेका छन् । अध्यक्षका दावेदार हरि अर्याल यसअघिको निर्वाचनका प्रत्यासी हुन् । उनी नेपाली कांग्रेस रुपन्देहीमा कोषाध्यक्ष छन् । संघको विभिन्न पदमा काम गरिसकेका उनी पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् ।

अध्यक्षका अर्का प्रमुख दावेदार दिनेशप्रसाद श्रेष्ठ बुटवलका युवा व्यवसायी हुन् । संघमा रहेका सबै पदमा काम गरिसकेका उनी अहिले वरिष्ठ उपाध्यक्ष छन् । उनलाई कांग्रेसभित्रको इतर समूहमा रहेका व्यवसायीहरुले साथ दिएका छन् । दुवैले अध्यक्षमा उम्मेदवारी दिने भन्दै आफ्ना एजेण्डा व्यवसायीहरूमाझ प्रस्तुत गरिरहेका छन् ।

अघिल्लो अधिवेशनमा उज्ज्वल कसजूविरुद्ध एकल उम्मेदवारी दिएका अर्याल यसपटक अन्य व्यवसायीलाई पनि समेटेर प्यानल बनाएका छन् । उनले यसपटक अन्य पदमा एमाले निकटका व्यवसायीलाई आफ्नो प्यानलमा समेटेका हुन् ।

अर्यालले बुटवलमा अब पुरानो शैलीले व्यवसायीलाई ऊर्जा दिन नसकिने भएकाले आफू नयाँ योजनाका साथ व्यवसायीसम्म पुगेको बताए ।

उनले बुटवलमा आर्थिक चलायमान बनाउने योजना आफूसँग रहेको भन्दै बुटवलको व्यापार पुरानै लयमा ल्याउने योजनासहित निर्वाचनमा होमिएको जनाएका छन् ।

अध्यक्षका अर्का आकांक्षी दिनेशप्रसाद श्रेष्ठले यस क्षेत्रका व्यवसायीको अल्पकालीन र दीर्घकालीन समस्यालाई उठान गर्ने गरी नेतृत्वमा जान खोजेको बताए ।

यस्तो छ अर्याल र श्रेष्ठ टीम

अधिवेशनमा अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सहकोषाध्यक्षमा धनाप्रसादी खनाललाई अघि सारेका छन् ।

त्यस्तै श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशप्रसाद श्रेष्ठ, सचिवमा प्रतीक पौडेल र सहकोषाध्यक्षमा जाकिर हुसैनलाई अघि सारेका छन् ।

श्रेष्ठको टीममा कांग्रेसका उद्योगी व्यवसायीहरुको बाहुल्य छ । अर्यालको टीममा कांग्रेस र एमालेका मिश्रित उद्योगी व्यवसायीहरु छन् ।

दुइटै टीम पदाधिकारीहरुको टुंगो लगाएर सार्वजनिक गर्ने तयारीमा छन् । आकांक्षी श्रेष्ठले बिहीबार आफ्नो टीम सार्वजनिक गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर