फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु – Nepal Press

फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु

काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ ।

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ९औं संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका लागि सुखद विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन विद्यमान कानूनी व्यवस्था संशोधन गर्न सरकार तयारले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा वसेनि अर्बौंको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थाले आफूखुशी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै एकनाशको व्यवहार गर्न उनले आग्रह गरे ।

उनले समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाटै भएको आरोप लगाए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिद गर्न लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक र विभेदकारी भएको भन्दै उक्त नीतिको अन्त्य गर्न माग गरे ।

बैंकको एकाधिकार, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमा भन्दा कच्चापदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)को आयोजनामा ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक सयभन्दा बढी स्टल रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री वितरण गर्नेछन् ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर