नेपालमा विदेशी लगानी २६४ अर्ब, नाफा १४ प्रतिशत (प्रतिवेदनसहित) – Nepal Press

नेपालमा विदेशी लगानी २६४ अर्ब, नाफा १४ प्रतिशत (प्रतिवेदनसहित)

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष १६ प्रतिशतले विदेशी लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ मा नेपालमा विदेशी लगानी बढेको देखाइएको हो ।

बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले यस्तो सर्वेक्षण गर्दै आएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ तयार पारिएको छ ।

सर्वेक्षणअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले बढेर २६४ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५३.७ प्रतिशत, सञ्चिती ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतको सबैभन्दा बढी ८८ अर्ब ५९ करोड, चीनको ३३ अर्ब ४५ करोड, आयरल्याण्डको २० अर्ब ९० करोड, सिङ्गापुरको १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसको १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअर्न्तगत जलविद्युतमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।

कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर