पौडीमा डुवाना र नासिर हिट चरणबाटै बाहिरिए, मार्सल आर्टसमा अब कराँतेको मात्रै आशा
काठमाडौं । हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।
महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लगाइन् । ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । डुवाना यसअघि महिला २०० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
पुरुष २०० मिटर फ्रिस्टाइल स्पर्धामा दोस्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।
बक्सिङमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ पहिलो चरणमै पराजित भइन् । बुधबार महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्तानकी नाजम काइजाईसँग ५-० ले चुकिन् ।
गत वर्ष यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्मासँग विश्व च्याम्पियनसिप खेलेको अनुभवसमेत छ ।
पुरुष ६३.५ केजीमा १३औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४-० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टीम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो ।
जिओशान लिन्पु जिम्न्यासियममा बुधबार भएको मिक्स टीम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भयो । टीम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासी, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।
यस्तै मिक्स टीमको पराजित टीमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पछि पर्यो ।
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिएको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २-० ले पराजित भएका थिए । अभिषेक साहाकसँग पहिलो चरणमा ११-१ र दोस्रो चरणमा १५-२ ले पछि परे ।
पुरुष ६८ केजीमुनि वीरबहादुर महरा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरे पनि १२-८ ले पछि परे ।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिलीसँग २-० ले निराश भइन् । उनी १४-१ र ९-० ले पराजित भइन् ।
अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
मार्सल आर्ट्सका जुडो, उसु, बक्सिङ, तेक्वान्दोपछि अब नेपालले कराँतेमा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।