लुम्बिनी प्रादेशिक आयुर्वेदिक अस्पताल: भारतीयको घुइँचो, नेपालीलाई छैन चासो – Nepal Press

लुम्बिनी प्रादेशिक आयुर्वेदिक अस्पताल: भारतीयको घुइँचो, नेपालीलाई छैन चासो

रुपन्देही । भारतको गोरखपुरका २३ वर्षीय विजय यादव गुजरातमा काम गर्न जाँदा दुर्घटनामा परे । उनको कम्मरको हड्डी र नशामा गम्भीर समस्या आयो । त्यहीको अस्पतालमा अपरेशन भयो । तर, उनको कम्मरदेखि तलको भाग चलेन । कुनै चालसमेत थाहा नपाउने अवस्था भयो ।

दिसापिसाबको समेत मेसो नहुने भएपछि आफन्तको सल्लाहमा विजय आयुर्वेदिक उपचार गर्न नेपाल आए । बुटवलस्थित लुम्बिनी प्रादेशिक आयुर्वेदिक अस्पतालमा उनको उपचार सुरु भयो । ४५ दिनको उपचारपछि उनका खुट्टामा चाल आयो । उनी दिसापिसाब पनि आफैं गर्नसक्ने भएका छन् ।

‘गुजरातमा काम गर्दा घटनामा परें, अपरेशनपछि उल्टै सबै नचल्ने भयो, आफन्तको सल्लाहमा उपचार गर्न नेपाल आएँ । अहिले यस्तो सहज भयो, केही दिनमा घरमा गएर फेरि थप उपचारका लागि आउने हो’, अस्पतालकै बेडमा रहेका यादवले भने ।

पहिलो चरणको उपचार पूरा भएकाले केही समय आराम गर्न विजलाई घर पठाउन लागिएको अस्पतालका प्रमुख डा. परवेश श्रीवास्तव बताउँछन् ।

भारतकै देहरादुनका २२ वर्षीय निरजकुमार जैसवाल कम्मरको हड्डीमा रगत प्रवाह रोकिएर छटपटिएका थिए । भारतका धेरै अस्पतालमा उपचार गरेर निराश भएका उनका छिमेकीले नेपालमा आयुर्वेदिक उपचारबाट ठीक हुने सुनाएपछि उनी पनि बुटवलकै आयुर्वेदिक अस्पतालमा आएका थिए ।

पहिलो चरणमा १६ दिनको उपचार कोर्षबाट उनले धेरै सहज महसुस गरेको बताए । उनलाई दुई सातापछि पुनः आउने गरी अस्पतालले डिस्चार्ज गरेको छ ।

भारतकै गोरखपुर अहिलावादकी १२ वर्षीय करिन्दा यादव मस्तिष्क रोगको समस्याबाट पीडित बनेपछि यही अस्पतालमा उपचारका लागि आइन् । पहिलो चरणको कोर्ष पूरा गरेपछि बिरामीलाई धेरै सहज भएको र डाक्टरको सल्लाहमा दोस्रो चरणको उपचारका लागि आउनेगरी केही दिनअघि घर पठाएको अस्पतालले जनाएको छ ।

भारतको दिल्लीमा घर भएका २७ वर्षीय बहिदुर रहमान नशा र ढाडको समस्या परेपछि आफन्त र छिमेकीको सल्लाहमा उपचारका लागि यही आयुवेर्दिक अस्पताल आए । भारतका धेरै ठाउँमा उपचार गर्न पुगे पनि सहज नभएको तर यहाँ पहिलो चरणको कोर्ष पूरा गर्दा नै धेरै सहज भएको उनी बताउँछन् । अब केही समयमा उनी दोस्रो चरणको कोर्षका लागि भर्ना हुनेछन् ।

गोरखपुरका ३७ वर्षीय सुशील यादवले अभिवाथको समस्याबाट धेरै दुःख पाए । धेरै ठाउँ पुगेका उनी यहाँको सेवाबाट सन्तुष्ट भएको र यही नियमित उपचारका लागि आउने बताउँछन् ।

भारतको गोरखपुरकै ३५ वर्षीय विनयकुमार यादव खुट्टामा सिल्का हान्ने, पोल्ने, झमझम गर्ने रोगबाट पीडित भएर यही उपचार गर्दा सुधार भएको बताउँछन् ।

सरकारी चिकित्सालयको बारेमा साथीले भनेको सुनेका उनी सरासर देवीनगर चौपारी नजिकै रहेको आयुर्वेदिक चिकित्सालयमा उपचार गराए  । सात दिनको उपचारपछि निको भएर घर जाँदै गरेका यादवले भने, ‘धेरै खुशी लागेको छ, उपचारले निको भएको छ ।’

लुम्बिनी प्रदेशमै सरकारी तहको दोस्रो ठूलो आयुर्वेदिक अस्पतालमा भारतका विभिन्न क्षेत्रका बिरामीहरुले सेवा लिइरहेका छन् । उनीहरु यहाँको उपचार सेवाबाट सन्तुष्टसमेत छन् ।

भारतबाट उपचारका लागि आएका यी प्रतिनिधि उदाहरणमात्रै हुन्  । पछिल्लो समयमा आयुर्वेद चिकित्सा पद्धतिमार्फत उपचार गराउन आउनेहरूको संख्या बढ्दै गएको छ ।

रूपन्देहीको ओमसतियामा ५९ वर्षीय त्रिलोचन यादव अन्य अस्पतालबाट प्यारालाइसिस निको नभएर आयुर्वेदिक अस्पतालमा आएको बताउँछन्  । त्यस्तै बुटवल- १३ माझगाउँकी हरिकला खाम्चा आयुर्वेदिक पद्धतिको उपचारबाट ले हड्डी खिइएको समस्या निको भएको बताउँछिन्  ।

लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको अस्पतालको तथ्यांकले पनि देखाउँछ । कन्सल्टेन्ट चिकित्सक पुष्पराज पौडेलले पछिल्लो समय आयुर्वेदिक उपचारमा सर्वसाधारणलाई विश्वास बढ्दै गएको बताए ।

‘अहिले यहाँ विशिष्टीकृत सेवा सुरु भएका छन्’, उनले भने, ‘अब थप सेवा विस्तारको योजना बनाउँदैछौं । दरबन्दी र केही संरचना थपिए दैनिक २०० को बहिरंग र २५ जनाको पञ्चकर्म सेवा दिन सकिन्छ ।’

भारतमा लखनउदेखि यता व्यवस्थित अस्पताल नभएको र आफन्तको विश्वास तथा यहाँबाट उपचार भएर ठीक भएर गएकाको भरोसामा धेरै भारतीय यहाँ उपचार गर्न आउन थालेको पनि उनले बताए ।

सेवा सुविधा बढेसँगै उपचार गराउन आउनेको संख्या पनि बढेको अस्पतालका प्रमुख डा. श्रीवास्तव बताउँछन् । अस्पतालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २६ हजार बिरामीले उपचार सेवा लिएका थिए  ।

आव २०७९/८० मा ४१ हजार बिरामीले उपचार सेवा लिएको सूचना अधिकारी नरहरि अर्यालले जानकारी दिए  । जसमा महिला १८ हजार ७९५ र पुरुष १३ हजार ३९५ जना रहेका छन् ।

आयुर्वेदिक अस्पतालमा हाल ओपीडी र पञ्चकर्म सेवा विस्तार गरिएको छ । नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाटसेवा दिने व्यवस्था गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी भने कम छ । स्थायी दरबन्दीका ६ र करारबाट १२ गरी १८ जनाले सेवा दिँदै आएका छन् । बहिरंग र पञ्चकर्म सेवा विस्तार भएपछि कर्मचारी अभाव भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा यसै वर्षबाट १५ बेडको अस्पताल सञ्चालन भएको छ । साथै शालक्या सेवा नाक, कान, घाँटी सेवा विस्तार र अन्तरंग सेवा सुरु भएकाले बिरामीको चाप बढेको हो । अस्पतालमा जीर्ण रोग, गडिया, बाथ, ग्याष्ट्रिक, ढाड कम्मर दुख्ने, छालाका रोगी, बच्चाको रुघाखोकी, दम, प्यारालाइसिस, पार्किसन्सलगायतका बिरामीहरू बढी आउने गरेका छन् ।

अस्पतालको प्रयोगशालामा सरकारी नियमअनुसारको न्यून शुल्क रहेको छ । पञ्चकर्ममा सामान्य शुल्क रहेको छ । ओपीडीमा १० प्रतिशत छुटको व्यवस्था छ । ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको छ ।

बिरामीको चाप बढ्दै गएपछि दरबन्दी थप्न प्रदेश सरकारमा माग गरिएको प्रमुख डा. श्रीवास्तवले बताए । ‘क्षारसुत्र, पञ्चकर्म सेवा र भर्ना भएका बिरामी हेर्न विशेषज्ञ चिकित्सकको अभाव छ’, उनले भने । उनका अनुसार २०३५ सालमा बनेको दरबन्दी हालसम्म थपिएको छैन ।

प्रमुख डा. श्रीवास्तवका अनुसार अस्पताललाई एम्बुलेन्स, ५०० एमएको एक्सरे, पञ्चकर्मको ठूलो सेट, ओनएमअनुसार ३९ जनाको दरबन्दी तत्काल आवश्यक छ । यसका लागि करिब साढे २ करोड रकम आवश्यक देखिएको उनले बताए ।

‘ढाडको नशा च्यापिएको, प्यारालाइसिस भएको, पुरानो दम भएका बिरामीका लागि एम्बुलेन्स जरुरी छ । एक्सरे गराउन मेशिन छैन, पञ्चकर्मको ठूलो सेट छैन । तर पनि बिरामीको चाप बढेको छ’, डा. श्रीवास्तवले भने ।

केही दिनअघि प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्पतालको निरीक्षण गरेका थिए । त्यसवेला अस्पतालले मन्त्री खनालसामु विभिन्न समस्या राखेको थियो ।

मन्त्रीसमक्ष लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले कर्मचारी व्यवस्थापनका लागि फाइल मन्त्रालय पठाइसकिएको भन्दै कर्मचारीको समस्याबारे कुरा राखेका थिए ।

मन्त्री खनालले आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दै गएकाले सरकारले आवश्यक सहयोग गर्न योजना बनाएर अघि बढ्ने बताए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले लुम्बिनी प्रादेशिक आयुर्वेदिक अस्पतालको लागि अर्थ मन्त्रालयसँग आवश्यक बजेट माग गरिएको बताए ।

स्थानीयको सहकार्यमा कार्यक्रम अगाडि बढाउँदा प्रभावकारी हुने भन्दै उनले सेवा विस्तारका लागि स्थानीयमा चासो बढाउनुपर्ने बताए ।भन्दै आवश्यक सहयोगका लागि आफू लागिपर्ने बताए ।

स्वास्थ्य मन्त्रालय लुम्बिनीका महाशाखा प्रमुख डा.पुष्पराज पौडेलले प्रदेश सरकार अस्पतालको सेवा विस्तारमा सकारात्मक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर