‘पशुपति प्रसाद २ : भष्मे डन’को तीन हप्ता अगाडि नै खोलियो अग्रिम टिकट बुकिङ – Nepal Press

‘पशुपति प्रसाद २ : भष्मे डन’को तीन हप्ता अगाडि नै खोलियो अग्रिम टिकट बुकिङ

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा सिनेमाप्रति दर्शकको बढ्दो चासोलाई लिएर वितरकले रिलिजभन्दा एक महिना अगाडि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएकाे बताइएको छ । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रिम टिकट बुकिङका लागि शो खोलिएका हुन् ।

सिनेमाको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भइसकेको छ । मेलर्वनको चाइना टाउनमा सिनेमाको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ ।

यस्तै, सिनेमाको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा सिनेमा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।

अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । ओभरसिज वितरकले सिनेमाको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर