फेसबुकमा मुख्यमन्त्रीलाई कालोमोसो दल्छु भन्ने युवक छुटे, जथाभावी नलेख्ने प्रतिवद्धता
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटेका छन् ।
सर्लाहीको मलंगवामा मूर्ति सेलाउने क्रममा भएको झडपको सन्दर्भलाई लिएर झाले फेसबुकमा मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । झालाई बुधवार राति धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
अबदेखि सामाजिक सञ्जालमा जथाभावी नलेख्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।
एसपी खड्काले भने, ‘जथाभावी नलेख्ने प्रतिबद्धता गरेपछि मुख्यमन्त्री ज्यूले पनि छाड्न भनेपछि छाडेका छौं ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झालाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको थियो ।