प्रहरीले चिताबाट नियन्त्रणमा लियो महिलाको शव, पतिसहित तीन जना पक्राउ – Nepal Press

प्रहरीले चिताबाट नियन्त्रणमा लियो महिलाको शव, पतिसहित तीन जना पक्राउ

जनकपुरधाम । सर्लाहीमा दाहसंस्कार गर्न लागिएको महिलाको शव प्रहरीले उठाएर पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।

यो घटना रामनगर गाउँपालिका- १ खैर्वाको हो । बुधवार मृत्यु भएकी स्थानीय २१ वर्षीया मनिषा साहको शव दाहसंस्कार गर्न लगिएको थियो ।

तर, कानूनी प्रक्रिया पूरा नगर्रिएको भन्दै प्रहरीले चिताबाट शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार मनिषाको मृत्यु कसरी भयो भन्ने खुलेको छैन । माइती पक्षले हत्या भएको भन्दै छानबिन गरिदिन भनेपछि प्रहरीले शव नियन्त्रणमा लिएको उनले बताए ।

हत्या भएको आरोप लगाए पनि माइती पक्षले कारणबारे केही नभनेको डीएसपी पञ्जियारले बताए । उनले भने, ‘मृत्यु जसरी भए पनि कानूनी प्रक्रिया पूरा गर्नुपर्छ । तर, लुकेर दाहसंस्कार गर्न खोज्दा शव पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’

मनिषाको मृत्यु शंकास्पद देखिएको छ । उनको शरीरमा निलडाम देखिएको छ । डीएसपी पञ्जियारले मनिषाका श्रीमान सुनिल साह, ससुरा र देवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर