एमाले मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक – Nepal Press

एमाले मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश कमिटीले प्रथम ’प्रदेश अधिवेशन’को नारा र लोगो सार्वजनिक गरेको छ ।

एमाले प्रदेश कमिटीले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा असोज २४ र २५ गते हुने एमालेको प्रथम प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

अधिवेशनको लोगो एमाले प्रदेश कमिटीले आकर्षक बनाएको छ । लोगोमा जनकपुरधामको जानकी मन्दिर, वीरगञ्जको शंकराचार्य द्वार, मस्जिद, किसान, उद्योग कलकारखाना लगायतका विषय समेटिएको छ ‌।

एमाले मधेश प्रदेश अध्यक्ष रामऔतार यादवले प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि गठित विभिन्न समिति र उपसमितिहरू काममा लागेका छन् ।

अधिवेशनमा १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी गरिएको छ । प्रदेशका आठ वटै जिल्लामा करिब ६० हजार सक्रिय सदस्य छन् । जसमध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ । त्यसका लागि असोज १३ गते १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

अधिवेशनबाट महिला, दलित, आदिवासी जनजाति, युवासहितका क्लस्टर र विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुनेगरी २३५ सदस्यीय प्रदेश कमिटी चयन हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज योगेश भट्टराई, सह–ईन्चार्ज लीलानाथ श्रेष्ठ, नेतृ जुली महतो लगायतका नेताहरु सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर